‘तँलाई हेर, मलाई हेर, बेला हेर, कुबेला हेर । गाउँघरमा ‘आफ्नो’ र ‘बिरानो’ छुट्याउनका साथै अनुकूल र प्रतिकूल समयको बोध हुने गरी एकअर्कामा बुझाउन प्रयोग गरिने सरल भाषा हो यो । यसलाई शायद देश, काल, परिस्थिति पनि भनिन्छ । ‘कानाको देशमा गएपछि एउटा आँखा चिम्लिएर हिँड्नु र लङ्गडाको देशमा गएपछि एउटा खुट्टा खोच्याएर हिँड्नु’ भन्ने नेपाली उखान पनि योसँग शायद विरोधाभाष नहोला पनि । आफू कमजोर अवस्थामा रहेका बेला चालिने कार्यनीतिक कदमहरु हुन् यी सबै ।
शाब्दिक अर्थमा ‘तँ’ भन्नाले आफूइतर र ‘म’ भन्नाले स्वयम् आफू भन्ने अर्थ लाग्छ । त्यसै गरी ‘बेला’ भन्नाले अनुकूल समय र ‘कुबेला’ भन्नाले प्रतिकूल समयलाई इङ्गित गरेको कुरा सरलरुपमा बोध हुन आउँछ । माओत्से तुङले ‘आफूलाई चिन र दुश्मनलाई पनि चिन’ भन्नुको तात्पर्य यही थियो होला । लेनिनले ‘ठोेस परिस्थितिको ठोस विश्लेषण’ भन्नुका पछाडि पनि यही आशयले काम गरेको अर्थ लाग्न आउँछ ।
‘म’ अहिले निकै कमजोर अवस्थामा छ । ‘म’ को कमजोर आत्मगत स्थिति छ । म भनेका क्रान्तिकारीहरु हुन् । उनीहरुलाई ओह्रलो लागेको मृगलाई बाछाले खेदे झैं ‘तँ’ हरुले खेदिरहेका छन् । क्रान्तिइतर शक्तिहरु सुदृढहुँदै गइरहेका छन् । उनीहरुको स्वार्थअनुकूलको आफ्नै राज्यव्यवस्था पुनस्र्थापित भएको छ । प्रतिक्रियाकाल सुरु भएको छ । क्रान्तिकारीहरुको आफ्नै भाषामा ‘दक्षिणपन्थी हावाहुरी’ चल्दै रोकिदै र फेरि चल्दै गरिरहेको छ । नरकटहरुको कहिंपनि उपस्थितिको आभाष छैन यो बेला । शतिसालको खोजी भइरहेको अवस्था छ ।
गाउँघरमा भन्ने गरिन्छ– ‘कति मरे बन्दुकैले, कति मरे स्वरले’ । किनकि, यो भनेको ‘कुबेला’ को परिस्थिति हो । जङ् चलिरहेको ऊबेलाको स्थिति पटक्कै होइन । त्यसैले ‘हुलमुलमा जीऊ जोगाउनू, अनिकालमा बीऊ जोगाउनू’ को नेपाली भनाइ क्रान्तिकारीहरुको जीवनमा चरितार्थ हुन पुगेको छ । यो भनेको क्रान्तिकारीहरु आजका दिनहरुमा निकै रक्षात्मक अवस्थामा छन् ।
कमजोर आत्मगत स्थितिको यो बेलामा जङ्गी सङ्घर्षको परिकल्पना गर्नु बीऊ र जीऊ दुबै सिध्याउने वाम दुस्साहस हुन जान्छ भने अब क्रान्ति नै संभव छैन भनेर जनविरोधीका अघिल्तिर लम्पसार पर्नु दक्षिणपन्थी आत्मसमर्पण हुन जान्छ । यो बेलामा बीऊ र जीऊ बिस्तर गर्ने कुरा बुझ्नु पर्छ । बीऊ भनेको क्रान्तिकारी विचार हो । यो मानिसले मानिसमाथि गर्दै आएको शोषणको पूर्णरुपमा अन्त्य नहँदासम्म लडिरहने आदर्शको महासमुद्रमा चलिरहने ज्वार र भाटाको बीच भूमरीमा जोगिइराखेको हुन्छ । जीऊ भनेको त्यो आदर्शको भावभूमिमा त्यसको खेती गर्ने सिपालु, प्रतिवद्ध र जुझारु जनता हुन् । यी कुराको व्यवहारिक तथा द्वन्द्वात्मक तादात्म्यता बुझिएन भने नचाहेरै पनि हामीबाट ठूलो भूल हुन सक्छ । यसले विचारआदर्शको मात्र रटान लगाउ लगाई त्यसको रक्षा र प्रयोगका लागि मात्रात्मक बिस्तारको आवश्यकतालाई बोध नगर्ने, मात्राको गुुणमा हुने रुपान्तरणलाई बिर्सने र नकारको सकारलाई पनि नदेख्ने अतिको अँध्यारोमा धकेल्न सक्छ । यसले जानी वा नजानी माक्र्सवादका आधारभूत मान्यताहरुलाई तिलाञ्जली दिने अवस्थामा पु¥याउँछ । फलस्वरुप हामी माक्र्सवादको नाममा अरु केही अनजानवादलाई ग्वाम्लाङ्ग अङ्गालो मार्न पुग्छौं ।
नेपाली माओवादी आन्दोलन टुटफुट र विभाजनको प्रक्रियामा अघि बढिरहेको छ । यसको ठूलो हिस्साले रङ बदलेर विचारमा नवसंशोधन र व्यवहारमा पुरानै संसदवादको बाटोलाई निर्विकल्पका रुपमा अङ्गालिसकेको छ । यसले आत्मसङ्घर्ष र अन्तर सङ्घर्षका कुरालाई छाडिसकेको छ । फलस्वरुप वर्र्गसङ्घर्र्षका कुरा यसका लागि केवल मिथ्या हुन पुुगेका छन् । यसले अहिले ‘खसीको टाउको झुण्ड्याएर गोरुको मासु बेच्ने’ बधशालाको रखवारी गर्न ठेक्का लिने लाइनमा जुनीजुनी उभिन तयार भएको कसम दोहो¥याइरहेको छ ।
क्रान्तिकारीहरु उतारको अवस्थामा छन् । स्पष्ट विचार, वैचारिक अडान र भरपूर आशावादिता हुँदाहुँदै पनि आत्मगत स्थिति निकै कमजोर छ । यसकारण यो बेलामा लेनिनले भने झैं संसदीय व्यवस्थामा ‘भागलिनु क्रान्तिकारी सर्वहारा वर्गीय पार्टीका लागि केवल लाभदायक मात्र हुँदैन, आवश्यक पनि हुन जान्छ’ भन्ने तत्कालको कार्यनीतिलाई अस्वीकार गर्न सकिदैन । यसले सापेक्ष संसद उपयोगको कुरालाई उजागर गर्छ । क्रान्तिकारीहरुको उभारको बेला सशक्त बहिस्कार र उतारको बेला चुनाव उपयोगको कुरालाई अबलम्बन गर्न सकिने कुरातर्फ इङ्गित गर्छ ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले देशभक्त जनगणतान्त्रिक मोर्चामार्फत् ‘प्रतिक्रान्तिकारी तथा राष्ट्रघाती चरित्रको सशक्त विरोध तथा भण्डाफोर गर्दै’ स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । यसले मोर्चालाई वैकल्पिक शक्ति र मोर्चाका उम्मेदवारहरुलाई वैकल्पिक जनप्रतिनिधिका रुपमा उभ्याउने छ । आमूल परिवर्तनका पक्षधरहरुको वैचारिक मतलाई संरक्षण र गोलबन्द गर्ने छ । विचारको रक्षा, प्रयोग र मात्राको गुणमा हुने रुपान्तरणको प्रक्रियालाई सशक्त गति प्रदान गर्न सघाउ पु¥याउने छ ।
चुनाव उपयोगको कार्यनीतिले स्थानीय तहमा जनताको पार्टीप्रतिको सामान्य मान्यतालाई गहिरो गरी बुझ्न र तदनुरुप जनताको अथाह खानीभित्र पस्न सिकाउने छ । स्थानीय चुनाव उपयोगको कार्यनीतिक कदम सङ्गठन विस्तार, पार्टी नीतिको प्रचारप्रसार तथा जनसम्बन्ध सुदृढ गर्न उतारको यो अवस्थामा वस्तुवादी साबित हुने छ ।
सारमा तत्काल आमूल परिवर्तनको संभावना नरहेको बेलामा रुप पक्षलाई हेर्दा लामो समयपछि स्थानीय तहको नयाँ संरचना निर्माण, त्यहाँ हुने निर्वाचन र जनसहभागिता, समावेशी र समानुपातिकताको सवालका साथै नयाँ जनादेश लिने प्रक्रिया (भलै यी सबै प्रक्रियाहरु संसदवादी र जनविरोधी होउन्) ले क्रान्तिकारीहरुलाई जनसमुदायबाट अलगावमा नपारुन् भन्ने कुराको हेक्का राख्नै पर्छ । क्रान्तिकारी माओवादीको स्थानीय चुनाव उपयोग गर्ने बारेमा लिखित राजनीतिक प्रतिवेदन भन्छ– ‘प्रतिक्रियावादी राज्यसत्ता र व्यवस्थालाई स्वीकार गरी त्यसको संरक्षण र कार्यान्वयन गर्न निर्वाचनमा भाग लिनु र त्यसप्रकारको सत्ता र व्यवस्थाको विरोधमा भण्डाफोर नीति अबलम्बन गरी क्रान्तिकारी उपयोग गर्नुका बीचमा तात्विक तथा गुणात्मक अन्तर छ । स्थानीय निर्वाचनसम्बन्धी हाम्रो नीति वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्था, तीनको कार्यान्वयन एबम् संरक्षणमा संलग्न पश्चगामी तथा दक्षिणपन्थी संशोधनवादी राजनीतिक दलहरुको विरोध तथा भण्डाफोर गर्ने र क्रान्तिको तयारीका लागि जनाधार तयार पार्ने तथा सङ्गठन विस्तार गर्ने उद्देश्यमा आधारित रहेको छ ।’
नेता र कार्यकर्ताका तुलनामा वैचारिक रुपमा जनता निकै लचक र खुल्ला हुन्छन् । नेपालको सन्दर्भमा ‘जसलाई भोट दिइयो, उसैको भइयो’ भन्ने सामान्य धारणा राख्छन् । समाज र छरछिमेकमा पनि भोट दिएकै पार्टीका मानिस वा समर्थक भएको लेबल लगाइन्छ । यो बेलामा जनताले आफ्ना पार्टी प्रतिनिधिको खोजी गर्छन् । उनीहरुको अन्तर मनमा सकभर त्यो प्रतिनिधि आफ्नै गाउँघरको स्थानीय र साँझबिहानको समस्या सुल्झाउन मद्दत गर्ने वा ‘काम लाग्ने मान्छे’ हुनु पर्छ । जनताको त्यो छनौटमा जनमनमा बस्न सक्ने क्रान्तिकारी माओवादीकै प्रतिनिधि बाहेक अरु कमै पर्न सक्छन् ।
कमलको फूल हिलोमा फूल्छ भन्ने कुरालाई मध्यनजर गर्दै क्रान्तिकारीहरु एक त सङ्ख्यात्मक रुपमा निकै थोरै त्यसमा पनि वर्तमान हिलाम्य संसदीय परिवेशमा हाम्रो अघि बढाइलाई गम्भीरतापूर्वक गम खाऔं । हिलोबाट बाहिर निस्कन ढुङ्गा र पानीबाट बाहिर निस्कन डुङ्गाको सहारा लिनु जरुरी छ । स्थानीय निर्वाचनमा क्रान्तिकारी माओवादीले लिएको कार्यनीति यिनै ढुङ्गा र डुङ्गा नै हुन्, जसले वर्तमान दलदलबाट देश र जनताको उद्दार कार्यको सुरुवात गर्नेछ ।