नेपाल लगायत पुँजीवादी विश्वमा ‘लोकतन्त्र’ सत्तालाई सन्तुलित राख्ने राजनैतिक साधन मानिन्छ । वास्तवमा पुँजीवादले लोकतन्त्रको बैशाखी लिएर विश्वलाई सामन्तवाद र साम्राज्यवादको दुई खुट्टाको पाइला मुनि कुल्ची रहेको छ । सामन्तवाद र साम्राज्यवाद एकाधिकार पुँजीवादको पूर्ण नियन्त्रणमा हुन्छन्, पुँजीवादको प्रयोग सामन्तवाद र साम्राज्यवाद कस्ले गर्ने यसको प्रयोगशाला नै लोकतन्त्र बन्न पुगेको छ । सामन्तवाद र साम्राज्यवाद शासकीय स्वरुप, राजनैतिक प्रकृया, सरकार निर्माणको परिपाटी त्यसको आधारमा गरिने भौगोलिक विभाजन तथा त्यस व्यवस्थाको न्यायिक आँखा र अन्तराष्ट्रिय दृष्टिकोणको मुल्यमान्यता मात्रले छुट्याउन सकिन्छ । यो सबै संवैधानिक सर्वोच्चतामा अभिव्यक्त भएको हुन्छ । समग्रमा राज्यव्यवस्था भनेको त्यसदेशको संविधान हो । संविधानको त्यसै चरित्रद्वारा त्यस देशमा सञ्चालित लोकतन्त्र सामन्तवादी हो या साम्राज्यवाद हो स्पष्ट हुन्छ । यो सबै व्यवस्थाको सार्वभौम शक्ति पुँजीमा निहित हुन्छ । त्यो एकाधिकार पुँजीमार्फत या त साम्राज्यवादमा या त सामन्तवादमा केन्द्रित हुन्छ । पुँजीवादी व्यवस्था सार्वभौम शक्तिको स्रोत पुँजी हुने भएकोले, त्यसले त्यो देशको राजनैतिक चरित्रलाई निर्धारण गर्दछ । पुँजीको अर्को रुप उत्पादन र उत्पादनको साधन भएकोले त्यसको कब्जामा कहिले सामन्तवाद र कहिले साम्राज्यवाद त्यसका दलालमार्फत मालिक बन्ने गर्दछ ।
सर्वप्रथम सम्पूर्ण स्रोतसाधन पुँजीको नियन्त्रणमा राख्ने, त्यस पुँजीको निमित्त सत्ता साधनको रुपमा साम्राज्यवाद र सामन्तवादको टकराव र कब्जाको होड चलिरहने गर्दछ, यस अर्थमा वास्तवमै लोकतन्त्रको अनुहारभित्र सामन्तवाद र साम्राज्यवाद अस्तित्वको लडाई समुन्द्री ज्वारभाटाको रुपमा उछाली रहेको हुन्छ । सामन्तवाद र साम्राज्यवादको एउटै धरातल पुँजीवाद हुन्छ, जसमा सबै व्यक्ति र समुदायका नित्यान्तै व्यक्तिगत मामिला के खाने, के पढ्ने, के चढ्ने, कहाँ बस्ने, माननीय मन्त्री को बन्ने कस्ले कस्तो नोकरी खाने आदि सबै पूर्णरुपमा पुँजीले नियन्त्रण र निर्धारण गर्दछ । पुँजीको विकल्पमा संसारभर कतै पनि व्यक्ति र समुदायको आफ्नो भन्नु सिन्को हुँदैन, त्यसैलाई एकाधिकार पुँजीवादी राज्यव्यवस्था भनिन्छ ।
वर्तमान नेपालमा अभ्यास भइरहेको लोकतन्त्र सामन्तवाद र साम्राज्यवाद राष्ट्रिय आत्मसमर्पणवादीहरुको राष्ट्रियताको नामबाट कडा टक्करमा अभिव्यक्त भैरहेको छ । नेकपा एमाले, रा.प्र.पा. नेपाललगायतको एउटा शक्तिले अहिले मण्डले सामन्तवादी राष्ट्रियताको नेतृत्व गर्दैछ, दोस्रो नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी दलहरुले साम्राज्यवादी कित्ताको नेतृत्व गर्दछ, सडक र सदनमा त्यसै दुईवटा धु्र्रव राष्ट्रिय आत्मसमर्पणवादीहरुको भ्रम जनतालाई दिई भ्रमित पारी रहेको छ ।
राष्ट्रियता मुख्य चारवटा तत्वले निर्धारण गर्दछ । पहिलो, भेषभुषा– जसले उसको परिचय झल्काउँछ, दोस्रो, संस्कृति त्यसले उसको पहिचन गराउँछ । तेस्रो, उसको भाषा जो आत्मा हो जसमा उसको अभिव्यक्ति हुन्छ । चौथौ, यी सबै मिल्ने एउटा समुदायको सघन वस्तीले ओगटेको भूगोल राष्ट्रियतासहितको राष्ट्र हुन्छ । त्यही फरक–फरक राष्ट्रियता र समुदायले ओगेटेको बहुसाँस्कृतिक बहुपहिचान, बहुभाषिक, बहुविविधतायुक्त भुगोलको सामरिक महत्वबाट राष्ट्रिय राष्ट्रियता बन्दछ । विविधता युक्त भुगोल, भाषा, सांस्कृतिक र ऐतिहासिक पहिचान तथा सामथ्र्यको आधारमा संघीय राज्य व्यवस्थाको परिकल्पना गरिएको थियो । निर्वाचनद्वारा सबै समुदायका जाति, लिङ्ग, क्षेत्रको आधारमा समान अनुपातमा समावेश गर्ने प्रतिनिधित्वको सुनिश्चितता ग्यारेन्टी गर्ने र सबै व्यक्ति समुदायको आन्तरिक राष्ट्रियता ग्यारेन्टी गरेर मात्रै राष्ट्रिय राष्ट्रियता मजबुत हुन्छ । त्यहाँ उसको व्यक्तिगत अधिकारको ग्यारेन्टी हुन्छ, त्यस्तो राष्ट्रियताको लागि मान्छे जस्तोसुकै विपतिसँग पनि जुध्न तयार हुन्छ, यी सबै महान दशवर्षे जनयुद्धबाट हासिल गरेका उपलब्धिलाई अस्वीकार गर्दै वन देख्ने रुख नदेख्ने, राष्ट्रियता एमालेको मण्डले खालको राष्ट्रियता हाल नेपाली राजनीतिक बजारमा लोकप्रिय छ । महिला, दलित, जनजाति, किसानहरुलाई जन्मसिद्ध दिएको समानुपातिक अधिकारको विरोध गर्दै एमाले पार्टीले दया र निगाहमा आरक्षित अधिकारको कुरा गर्दछ । संघीयताको अधिकार एमाले दिनै चाहँदैन र कथंकदाचित दिई हाले पनि भाषिक, साँस्कृतिक, भेषभुषासहितको अधिकारहित पुरानै ५ विकास क्षेत्रलाई नाम मात्रको संघीयता बनाउने प्रस्ताव गर्दछ । उसले विविध उत्पीडित र शोषणमा परेको वर्ग, समुदायको अधिकारलाई उल्टै दमन गरेर राजाको जस्तै एउटै साँस्कृतिक सबैको संस्कृति, एउटै भाषा भन्ने जस्तो निष्कृष्ट खालको पहाडी ब्रम्हमाणवादी अहंकारवादी मण्डले सामन्तवादी राष्ट्रियताको कुरा गरेर एमाले पार्टीले तराईमा लागेको बिहानको ढुडी जस्तै राष्ट्रियताको भ्रम छर्दैछ । जनताको ठूलो समूहलाई दिग्भ्रमित गर्दै गलत विचारभित्र कैद गरेको छ । भूगोलको अन्तर्राष्ट्रिय सिमानाको कुरा मात्र गरेर एमाले पार्टीको राजाको जस्तो अन्धराष्ट्रवादले जनताको ठुलो हिस्सालाई भ्रमित पारेको छ ।
एमालेको राष्ट्रवाद भनेको राजा र पञ्चायती शैलीको जस्तै दुरुस्त छ । राजाको ठाउँमा के.पी. ओली र पञ्चायती राजनीतिक प्रणालीको ठाउँमा एमालेको एकाधिकार राजनीतिक परिपाटी स्वीकार गर्नुपर्ने जस्ता घृणित दृष्टान्तका लक्षणहरु एमाले पार्टीको राष्ट्रियताभित्र दुर्गन्धझैं फैलिरहेको छ । यसका विरुद्ध जनताको राष्ट्रियतालाई डिमार्केशन गरेर जबसम्म जनताको ठूलो हिस्सालाई एमाले पार्टीको दिग्भ्रमबाट डाइभर्सन गर्न सकिदैन, तबसम्म देशमा फेरि राजा फर्काउने चाल जान वा अन्जानमा त्यस पार्टीबाट गतिविधि भइरहेको देखिन्छ । राष्ट्रियताको मुखुण्डोभित्र खेलिरहेको कालो कर्तुतबाट आन्तरिक राष्ट्रियताको हत्या गर्दै एमाले पार्टीको राष्ट्रियताले महिला, दलित, जनजाति, किसान, पहाडी मधेसी कसैलाई अधिकार नदिने र यी सबै अधिकार राजको झै आफ्नै पेवा ठान्दछ । त्यो सामन्तवादी अधिकार वर्तमान एमाले पार्टीले आफूमा निहित गराउन चाहन्छ । त्यो नै वर्तमान सामन्तवादको उत्कर्षका रुप हो भन्नेमा कुनै दुविधा छैन ।
अर्को ध्रुव सबैलाई आन्तरिक राष्ट्रियता र संघीयता दिने नाममा बिरालो लखेटेर स्याल भित्र्याउने खेलमा नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी दलहरु लागेका छन् । यिनीहरुले आन्तरिक राष्ट्रियता प्रधान गर्ने नाममा भारतको अनुकूल नजानिदो ढंगले राष्ट्र विखण्डन गर्ने राष्ट्रिय आत्मसमर्पणवादको बाटो समातेका छन् । एअरपोर्टमा भारतीय सेना राख्ने, भारतको अनुकूल नागरिकता विधयेक पास गराउने, भारतकै परामर्शमा संघीय सिमाना फेरबदल गर्ने यस्तो खालको गतिविधि भनेको साम्राज्यवादी भूमण्डलीकृत राष्ट्रियताको पृष्ठपोषक हो । पीडीए गरेर देशका अपार जलसम्पदाहरु सुम्पिने र भारतीय विस्तारवादी नीतिअनुसार नेपाललाई चोक्टा चोक्टा पारेर निल्न सजिलो पार्ने भूमण्डलीयकरणीय साम्राज्यवादी त्यसको मूर्तरुप विस्तारवादी राष्ट्रियताको प्रयोग नेका, माके र मधेसी मोर्चाले गरेको छ । विडम्बना, जुन नेपालमा प्रतिस्पर्धा भइरहेको राष्ट्रियता छ, त्यो कि त साम्राज्यवादी भूमण्डलीकृत राष्ट्रियता हो र कि त त्यो पहाडिया अहंकार ब्रम्हाणवादी मण्डले खालको सामन्तवादी राष्ट्रियता हो । यो दुवै राष्ट्रियताबाट जनताको आन्तरिक राष्ट्रिय र समग्र राष्ट्रिय राष्ट्रियतामा गम्भीर व्यवधानको समस्या पैदा भएको छ । वर्तमान नेपालको राजनीतिक बजारमा सडकदेखि सदनसम्म जुन राष्ट्रियता अभिव्यक्त भइरहेको छ, त्यो रामको भेषमा रावणको कर्तुत हो । यी दुवै पक्ष भारतीय विस्तारवादी दलाल हुन् । एकाधिकार पुँजीवादले नियन्त्रण गरेका साम्राज्यवादी दलाल र सामन्तवादी दलालहरुको मिलनविन्दु अन्ततः एकाधिकार पुँजीवाद नै हुन्छ र त्यसको अन्तर्यमा भारतीय विस्तारवाद नै सक्रिय छ । नेपाली पुँजीको मूल स्रोत भनेको उत्पादनसँग सम्बन्धित दलाल पँुँजी र अर्को अनुदानसँग सम्बन्धित नोकरशाही दलाल पुँजी हो । सबै उपभोग्य वस्तु सियोदेखि टाँकसम्म भारतमा बन्ने भएकोले त्यसको व्यापारबाट आउने अतिरिक्त मुनाफाको दलाल पुँजीबाट जीविका चलाउँदै आएको एउटा निम्न पुँजीपति वर्ग र माननीय मन्त्री भएर अनुदान स्वरुप वैधानिक रुपले देश र जनताको नाममा ऋण लिने, मन्त्री, कर्मचारी, माननीय र दलको नाममा भ्रष्टाचार गर्ने नोकरशाही दलाल । यी दुईवटै दलाल वर्गको सम्बन्ध उही साम्राज्यवादी पुँजीमा आश्रित हुन्छ । साम्राज्यवादीहरुको मूर्त रुप भनेको भारतीय विस्तारवादी पुँजीको कुरा हो, जसले सन् १९४७, सन् १९५०, सन् १९५४, सन् १९९० को सन्धिमा आधारित छ । र त्यसको अस्तित्वसहितको वर्तमान संविधान अर्धऔपनिवेशिक, अर्ध सामन्ती, दलाल नोकरशाही पुँजीवादको उपज हो । त्यसको समूलनष्ट र सम्पूर्णरुपले उपभोक्तावादमा बदलिएको नेपाल छ.. लाई पुँजीको नियन्त्रणबाट जनताको नियन्त्रणमा रहने जनवादी व्यवस्था र पछि समाजको नियन्त्रणमा रहने समाजवादी व्यवस्थाका लागि निर्विकल्प विद्रोहको बाटो बाहेक अरु सबै भ्रम हुन्छ । समाजको प्राकृतिक बनावट अनुरुप प्राकृतिक सिद्धान्तमा आधारित जाति, लिङ्ग, वर्ग र क्षेत्र जसको जति जनसंख्या छ, त्यसको आधारमा गरिने पूर्ण समानुपातिक निर्वाचन जहाँ समाजभित्र उच्च निच देख्ने र जन्मसिद्ध विभेद र भेदभाव गर्ने सामन्तवादी सोच दृष्टिकोण खारेज भएको सबै भूगोलका विशेषतामाथि ध्यान दिंदै पहिचान, सामथ्र्यको इतिहासमा आधारित संघीयताको विभेदरहित जनवादी गणतान्त्रिक राज्य व्यवस्थाले मात्र नेपालमा देखापरेको संकट मोचन गर्न सक्दछ ।