काठमाडौं । आज देशैभरका निर्वाचन कार्यालयअघि धर्ना दिइने भएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नयाँ शक्ति पार्टीसहितका ६५ दलले दलको रुपमा निर्वाचन चिन्ह प्रदान गर्न माग गर्दै आज देशभरका जिल्ला निर्वाचन कार्यालयअघि धर्ना दिने भएको हो ।
आइतबार ६५ पार्टीले केन्द्रीय निर्वाचन कार्यालयअघि धर्ना दिएका थिए । सो क्रममा मोर्चाका अध्यक्ष सीपी गजुरेल, नयाँ शक्ति पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईसहित करिब ५० जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका नेताहरुलाई दिनभर महेन्द्र पुलिस क्लबमा राखेर छाडिएको थियो । स्थानीय तह निर्वाचन कानुनमा संसदभित्र रहेका दललाई मात्रै एउटै निर्वाचन चिन्ह दिने र अन्यलाई नदिने गरी राखिएको विभेदकारी नीतिविरुद्ध ६५ दलले आन्दोलन सुरु गरेका हुन् ।
केही समयअघि सार्वजनिक गरेको निर्वाचन कानुनमा संसदबाहिर रहेका दलले निर्वाचनमा भाग लिन पाएपनि एउटै निर्वाचन चिन्ह नपाउने गरी व्यवस्था गरिएको छ ।
यसले दल खोल्न पाउने, प्रतिस्पर्धा गर्न पाउने लोकतान्त्रिक अधिकारको हनन गरेको भन्दै ६५ दल आन्दोलमा उत्रिएका हुन् । सोही अनुसार व्यवस्था भएका संसदभित्र रहेका २७ दलबाहेक अन्य दलले एउटै निर्वाचन चिन्ह पाउने छैनन् ।
निर्वाचन आयोगमा दर्ता भएका दललाई निर्वाचनमा भाग लिन नदिने गरि गरिएको विभेदकारी कानुन तत्काल खारेज गर्न ति दलले माग गरेका छन् ।






























