इमर्जिङ कपमा बंगलादेशद्वारा नेपालसामु २५८ रनको लक्ष्य प्रस्तुत

इमर्जिङ कपमा बंगलादेशद्वारा नेपालसामु २५८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । बंगलादेशमा चलिरहेको एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध जितका लागि २५८ रनको लक्ष्य पाएको छ ।

शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५७ रन बनाएपछि नेपालले सो लक्ष्य पाएको हो ।

सुरुवाती तीन जना ब्याट्सम्यान सस्तैमा आउट भए पनि बंगाली कप्तान मोमिनुल हक र नसिर हुसेनले मध्यक्रमबाट इनिङ सम्हालेका हुन् ।

छैटौं नम्बरमा ब्याटिङमा आएका हुसेनले अविजित १ सय ९ रनको शतकीय पारी खेले । उनले १ सय १५ बलको सामना गर्दै १२ चौका र २ छक्का प्रहार गरे ।

नवौं विकेटका लागि उनले अब्दुल हसन राजुसँग मिलेर ७६ रनको साझेदारी गरेपछि बंगलादेश उच्च योगफलतर्फ अघि बढेको हो । अब्दुलले २९ रन बनाए ।

२६ औं ओभरमा युवा स्टार सन्दिप लामिछानेको बलमा आउट हुनुअघि कप्तान हकले पनि ६१ रन बनाएका थिए । उनले नसिरसग मिलेर पाचौं विकेटका लागि ७८ रनको साझेदारी गरे ।

यसअघि सुरुवाती पाच ओभरमै अभिनाश कर्णले बंगलादेशको तीन विकेट झारेका थिए । ११ औं ओभरमा मेहवुव आलमले पनि १ विकेट लिए । युवा स्टार सन्दिप लामिछानेले दुई विकेट लिए भने कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीले एक एक विकेट आफ्नो नाममा लेखाए ।