काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघका केन्द्रीय उपाध्यक्ष राजु गुरुङमाथि कारबाही सुरु भएको छ ।
उनलाई पार्टीको हित विपरित अराजक गतिबिधि गरेको भन्दै पार्टी रुपन्देही जिल्ला कमिटीको बैठकले स्पष्टिकरण सोधेर कारवाही प्रक्रिया अघि बढाएको हो ।
उनीमाथि बुटवल बहुमुखी क्याम्पसमा स्ववियु चुनाव हुन नदिन नेविसंघ र अखिल (क्रान्तिकारी) सँग मिलेर तालाबन्दी गराएको, अखिलको अलग्गै प्यानल खडा गरेको र अराजक क्रियाकलाप जारी राखेको आरोपमा कारबाही प्रक्रिया अघि बढाएको हो ।
गुरुङकै अगुवाईमा बागी प्यानल खडा गरेर चुनाव समेत हुन नदिएको एमाले स्रोतले जनाएको छ । यसअघि जिल्ला अधिवेशनका क्रममा पनि अनेरास्ववियुका एक नेतालाई गुरुङले कुटपिट गरेका थिए ।
गुरुङसँगै युवा संघका जिल्ला सहसचिव कृष्ण थापासहित बागी प्यानल खडा गर्ने र उम्मेदवार उठ्ने सबैलाई कारबाही गरिएको एमालेले जनाएको छ । स्थानीय चुनाबको मुखैमा भएको गुरुङमाथिको कारबाहीले रुपन्देही पार्टीमा समेत खैलाबैला मच्चिएको छ ।
पार्टीमा अराजक प्रवृति बढ्न नदिन र आगामी चुनावमा पार्टी हित विपरित गतिबिधि रोक्नका लागि कारवाही गरिएको सो पार्टीले जनाएको छ । उनले चित्तबुझ्दो स्पष्टिकरण नदिए पार्टी सदस्यबाट निलम्बन गर्ने तयारी भइरहेको छ ।
गुरुङसँगै साजन भण्डारी, शंकर घर्ती, उमेश अधिकारी, मदन सापकोटा, शेषकान्त पोखरेलसहित युवा र विद्यार्थी संगठनका नेतालाई पार्टीबाट निश्कासन गरिएको एमाले स्रोतले जनाएको छ ।