काठमाडौं । दुई दिनसम्म चलेको नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक स्थानीय तहको निर्वाचनको क्रान्तिकारी उपयोग गर्ने नीति लिंदै मंगलबार सकिएको छ । पार्टी अध्यक्ष मोहन वैद्य ‘किरण’को निर्वाचनको क्रान्तिकारी उपयोग गरेर जानुपर्छ भन्ने प्रस्ताव छलफलपछि विस्तारित बैठकले पारित गरेको छ । ६ वटा समूह बनाएर प्रतिवेदनमाथि छलफल चलाए पश्चात समूह नेताहरुले प्रतिवेदनको पक्षमा मत जाहेर गरेपछि प्रतिवेदन पारित गरिएको हो । एकाध सहभागीले प्रतिवेदनको विपक्षमा पनि मत जाहेर गरेको बैठकमा सहभागी एक नेताले बताए ।
तात्कालिक राजनीतिक परिस्थिति, पार्टी कामको सामान्य समीक्षा, स्थानीय निर्वाचनबारे र आगामी पार्टी कामबारे गरी चार उपशिर्षकमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलमा उठेका विषयहरु समूह नेताले प्रस्तुत गरेका थिए । समूहमा उठेका विषयहरु क्रमशः रत्न गुरागाईं, अम्बिका मुडभरी, लक्ष्मी मुड्भरी, कुमार शाह, दीर्घराज माण्डे, चक्रपाणि शर्माले प्रस्तुत गरेका थिए । समूह नेता मार्फत दस्ताबेजमा उठेका विषयहरुको स्पष्टीकरण पार्टी अध्यक्ष किरणले दिएपछि बैठकले प्रतिवेदन तालिको गडगडाहटका साथ पारित गरेको थियो ।
बैठकको अन्तमा १९ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै र नारा घन्काउँदै बैठकको समापन गरियो । चैत्र १६ का लागि देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको केन्द्रीय समितिको बैठक आव्हान गरिएको छ । मोर्चाको यो बैठकले चुनावमा भाग लिने मूर्त खाका तयार पार्ने नेताहरुले बताएका छन् ।
स्थानीय निर्वाचन जनताका अत्यावश्यक तथा दैनिक कामहरुको व्यवस्थापनसित जोडिएको, अहिले उभारको अवस्था नरहेको, क्रान्तिको तयारीका लागि जनाधार तयार पार्न आवश्यक बन्न गएको, जनताको एउटा ठूलो हिस्सामा निर्वाचनप्रति चासो देखिएको र सत्ता तथा व्यवस्थाको विरोध एवम् भण्डाफोर गर्ने एउटा उपयुक्त माध्यम हुने भएकोले स्थानीय तहको निर्वाचन पार्टीको नभई मोर्चाको नेतृत्वमा उपयोग गरेर जानुपर्छ भन्नेमा बैठकको स्पिरिट रहेको बैठकमा सहभागी एक नेताले बताए ।