मेस्सीलाई चार खेलको प्रतिबन्ध, अर्जेन्टिना बोलिभियासँग पराजित

मेस्सीलाई चार खेलको प्रतिबन्ध, अर्जेन्टिना बोलिभियासँग पराजित

काठमाडौं । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीमाथि चार अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लागेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मेस्सीलाई चार खेलको प्रतिबन्ध र १० हजार स्वीस फ्र्यांक जरिवानासमेत गरेको हो ।

चिलीविरुद्धको म्याचमा मेसीले अभद्र भाषा प्रयोग गरेको भन्दै अनुशासनको कारवाही गरिएको फिफाले जनाएको छ ।

सो म्याचमा अर्जेन्टिनाविरुद्ध दिएको फलप्रति असन्तुष्ट हुँदै मेसीले सहायक रेफ्रीलाई अभद्र भाषा प्रयोग गरेको बताइएको छ ।

यो प्रतिबन्धसँगै विश्वकप छनोट खेलमा अर्जेन्टिनाले उरुग्वे, भेनेजुएला र पेरुविरुद्धको म्याचमा मेसीविना नै खेल्नुपर्ने भएको छ ।

बुधबार बिहान भएको बोलिभियाविरुद्धको खेलमा पनि मेसीले खेल्न पाएनन् । सो खेलमा अर्जेन्टिना २–० ले पराजित भएको छ ।
बोलिभियासँग पराजित भएसँगै अर्जेन्टिना पुनः विश्वकप छनोटको दक्षिण अमेरिकी तालिकाको पाँचौं स्थानमा झरेको छ । बोलिभियाको जितमा जुआन कार्लोस र मार्सेलो मोरेनोले एक एक गोल गरे ।