
काठमाडौं । भारतीय स्थल सेनाका सेनाध्यक्ष विपिन रावत नेपाल आइपुगेका छन् ।
उनी नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्नका लागि नेपाल आएका हुन् ।
नेपाल र भारतका सेना प्रमुखलाई दुबै देशले मानार्थ महारथीको सम्मान प्रदान गर्ने प्रचलन रहेको छ ।
भारतीय सेनाध्यक्ष रावतलाई बुधबार शीतल निवासमा विशेष समारोह आयोजना गरी नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले रावतलाई मानार्थ महारथीको सम्मान प्रदान गर्नेछिन् ।
नेपाल बसाइको क्रममा भारतीय सेनाध्यक्ष रावतले प्रधानमन्त्री, रक्षामन्त्री, प्रधानसेनापतिलगायतसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम रहेको छ ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा नेपाल आएका रावतले पोखरास्थित भारतीय सैनिक पेन्सन क्याम्प, मुस्ताङको मुक्तिनाथ र काठमाडौंको पशुपतिनाथको पनि भ्रमण गर्नेछन् ।
गत वर्षको पुसमा भारतको स्थल सेनाध्यक्ष भएका रावत उत्तराखण्डका स्थायी बासिन्दा हुन् ।