चैत ७ गते पञ्चप्रेतहरूको पार्टीले हिन्दू राज्य बनाउनै पर्छ, राजा हाम्लाई चाहिन्छ चाहिन्छ, धर्मनिरपेक्षता खारेज गर, हाम्रो शासन फिर्ता गर, यो देश हाम्रो विर्ता हो, अरू सबै मनुवा रैती हुन्, आदि इत्यादि भाव बोकेका नारा घन्काउँदै चुनाउ एण्ड कम्पनीको मुख्यालयतिर धक्कमधक्काको जुलुस निकाल्यो । ठेकेदार दलहरूका लाउकेहरूको संविधानलाई नै ठाडो चुनौती दिएर जुलुस निकालेपछि कम्पनीका मुखिया डरले थुरथुर काँपेर धन्नै कट्टुमा तुक्र्याए । उनले केही दिन अगाडि पञ्चप्रेतहरूको पार्टी विधानबाट हिन्दू धर्म र राजतन्त्रको विषय सुट्ट थुतेर मिल्काइदिएका थिए । यो घटनाबाट पञ्चप्रेतहरू रिसले चुरचुर थिए । त्यहि झोँक फेरेर आपूmलाई पनि कुर्चीबाटै थुतेर फाल्छन् कि भन्ने डरले मुखियाले पुलिस मन्त्रालयमा गुहार मागे । पुलिस मन्त्री काला दारिवाललाई के खोज्छस् काना आँखो भनेझैँ भयो । आपूm सेता दारिवाल गुज्जर भैय्यासँग गुमस्ता गर्न देशाटन गएका बेला हेटौँडे थापाकाजीले सुप्रिमोलाई फकाएर आपूmभन्दा माथिल्लो बरियतामा उक्लिएको झोँक फेरिहाले र पञ्चप्रेतका लाउकेहरूका हातखुट्टामा पुलिसलाई सुम्ल्याउन खटन गरे । त्यसपछि के निहुँ पाऊँ कनिका बुकाऊँ भएको पुलिसले नाति जरसावका खुट्टामा लाठीले राम्रैसँग बजायो । जरसाव थचक्क भुइँमा बसे र राज्यले स्वागत गरेको लाठीको स्वाद जीवनमा पहिलो पटक चाखे । रेडियो नेपालसँग डिभोर्स गरी पञ्चप्रेतको पार्टीमा पोइल गएकी बुढीकन्यालाई त झन् गोली ठोकेर थलै पारिदियो पुलिसले ।
सँधै सत्तामा बसी मत्ता हात्ती बनेर अरू दलका नेता कार्यकर्ताका टाउकामा लाठि ठोक्दा अरूलाई कति दुख्दो हो भन्ने अलिकता होस आयो होला नाति जरसावलाई । कठै विचरा नाति जरसाव ! दरबारमा जन्मेहुर्केका जरसाव । आमाको कोखबाट फुत्त भुइँमा खस्ने वित्तिकै सेनाको सलामी खाएका र रैतीका स्वस्ती दर्शनले विभूषित भएकालाई कहिल्यै कसैको तिमीसम्मको शब्द सुन्न परेन । सँधै आइस्यो, गइस्यो, सवारी होस्, ज्युनार होस्, सुकला होइस्यो, उठिस्यो, पाउ कष्ट होस् इत्यादि आदरले पालित पोषित भएर पुलकित भएका नाति जरसावलाई खुट्टै भाँच्चिने जोरसित लाठी बर्साउने कस्तो असत्ती पुलिस होला । जरसावको अङ्गरक्षकले केरा हेरेर बस्या रहेछ कि क्या हो ? आफ्ना मालिकका खुट्टामा पुलिसले लाठी बर्साउँदा छेकथुन गर्नुपर्ने हैन र ? जरसाव होइस्सिन्छ, लाठी होइन सलाम ठोक भनेर पुलिसलाई आदेश गर्नुपर्ने । जे होस् जरसावलाई यो घटनाले आफ्ना जिजु बुबाज्यूहरूको शासनसत्ताको झल्को भने अवस्य दिएको हुनुपर्छ । किनभने पुलिसको लाठी गोडामा बर्सिंदा टाउकामा तोरीका पूmल त अवस्य देखे होलान् । तोरीका पूmलभित्र जिजुको शासन फनफनी घुमेको अबस्य देखेहोलान् ।
रिसानी माफ होस् जरसाव ! लोकतन्त्रमा यस्तै हुन्छ । चर्खे पिङ जस्तो हो सत्ता र सडक । कहिले आपूm माथि कहिले अर्को माथि । धैर्य गरेपछि तिनै पुलिसले तपाइँको आदेश पालना गर्दै महामहिम मिस्टर सुप्रिमो र पुलिस मन्त्री चारतारे दारीवाललाई लाठी बर्साउने दिन पनि आउनेछ । अहिले हजुरको खुट्टामा लागेको चोट पछि उनीहरूले टाउकाबाट तिर्नेछन् । पुलिसै त हुन् जस्को लट्ठी उसैको भैँसी ।
अब कुरा रह्यो हेटौँडे थापा काजीको । लोकतन्त्र पनि गजबको छ । आफै धामी आफै बोक्सी हुन पाइने । पञ्चप्रेतहरू र नाति जरसाबका बराजुका सत्तामा त सत्तामा बस्नेहरू सडकमा हुन्नथे । सडकमा हुनेहरूलाई सत्ताको गोलीले उडाइन्थे । त्यसैले गोलीले उडाइने भएकाले तैँ चुप मै चुप भएर घरमै सिरक भित्रै गुटमुटिएर सत्तालाई धारेहात लाउँथे । अहिले लोकतन्त्रमा त सरकारमा बसेर अघिपछि कारगेटमा सेना पुलिसको सुरक्षा लिएर आफ्नै सरकारका जागिरे चाकरका बिरूद्ध जुलुस निकालेर धर्नामा बस्न पाइने । क्या गजबको काइदा । थापाकाजीले अस्ती ७ गते त्यसै गरे । उपप्रधानमन्त्रीको पगरी गुथेर अघिपछि कार्गेटको सुरक्षा पहरा लिएर चुनाउ कार्यालयमा धर्ना दिन बसे । आफ्नै हातमा डाडुपन्यु समाएर बिचरो चुनाउ कम्पनीका मुखियासँग माग पूरा गराउन धर्ना दिनुपर्ने । कठै कस्तो कन्तविजोग । त्यसैमा पनि आफ्नै आदेशमा चल्ने पुलिसले आफैलाई लाठी बर्साउने कस्तो गजबको लोकतन्त्र । सात समुन्द्र पारिका लोकतन्त्रका मातापितालाई हेर हाम्रो लोकतन्त्र कस्तो छ भनेर देखाउनलाई होला नि ।
अब त उखान पनि बदलेर लोकतान्त्रिक उखान बनाउनु पर्ला जस्तो भयो, ‘कहिँ नभाको जात्रा सिंहदरबारमा’ । सिंहदरबार भनेको यस्तै यस्तै जात्रा देखाउने थलो हो । माक्र्सवादीहरूले कुकुरको मासु बेच्ने थलो भन्थे, लोकतन्त्रवादीहरूले सिंहदरबारलाई जात्रा देखाउने थलो भन्नु पर्ने भयो । बेलाबखत यहाँ यस्तै नाटक मञ्चन भइरहन्छ । पात्र फेरिइरहन्छन् तर जात्रा एउटै देखाइन्छ । यतिखेर थापाकाजीको जात्रा देखाउने पालो परेको छ । जात्राको नाम हो ‘आफै धामी आफै बोक्सी’ । बाह« बर्सपछि त खोलो पनि पुरानै बाटोमा फर्कन्छ भन्थे साँच्चै हो रहेछ । संसदवादी व्यवस्थाका लागि दिब्य बाह« बर्स जनयुद्ध लडेर आएका मिस्टर सुप्रिमोको सत्ता रणनीतिको नारा यतिखेर थापाकाजीले अपहरण गरेर लगेका छन् । सडक, सदन र सरकारबाटै सङ्घर्ष गर्ने रे । यहि सडक, सदन र सरकारबाटै सङ्घर्ष गर्ने भनेर जनयुद्धको साङ्ग्यता गरेर संसद छिरेका मिस्टर सुप्रिमाले सरकारमा मात्र आँखा गाड्दा पार्टी पनि काँक्रा चिरिएझैँ चिरिएर टुक्रा टुक्रा भयो । अहिले त्यहि नारा चोरेर थापाकाजी र जरसावको प्रेत पार्टीले सडक, सदन र सरकारका तीनै मोर्चामा डटेर लड्ने रे । लडेरै राजतन्त्र र हिन्दू राज्य ब्युँताएर आफ्नो एकलौटी विर्ता चलाउने रे । क्या वात लोकतन्त्र ।
११ चैत २०७३