सिंहदरवारदेखि विमानस्थलसम्म कार्यवाहक प्रधानमन्त्रीको प्रतिस्पर्धा !

सिंहदरवारदेखि विमानस्थलसम्म कार्यवाहक प्रधानमन्त्रीको प्रतिस्पर्धा !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणका सिलसिलामा बिहीबारराति त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सामान्यतया उपप्रधानमन्त्रीलाई कार्यबहाक प्रधानमन्त्री तोक्ने चलन रहेको छ । उपप्रधानमन्त्री नभएको अवस्थामा प्रधानमन्त्रीभन्दा पछिको वरिष्ठ मन्त्रीलाई कार्यबहाक तोक्ने गरिन्छ ।

तर पछिल्ला केही वर्षदेखि उपप्रधानमन्त्रीको संख्या धेरै भएका कारण कार्यबहाक तोक्न समस्या पर्न थालेको छ । यसपटक विमलेन्द्र निधी, कमल थापा र कृष्णबहादुर महरा गरी तीन जना उपप्रधानमन्त्री छन् ।

उपप्रधानमन्त्री निधि र थापाबीच को वरिष्ठ भन्ने विवादका कारण प्रधानमन्त्री दाहाल कसैलाई कार्यवाहकको जिम्मेवारी नतोकीकनै चीनतर्फ लागेका छन् ।

निधि र थापा दुवैले आफू बरिष्ठ भएको दावी गरेपछि प्रधानमन्त्रीलाई अप्ठेरो परेको हो । दुई उपप्रधानमन्त्रीको विवादकै कारण बुधबार मन्त्रिपरिषद बैठक समेत बस्न नसकेपछि प्रधानमन्त्रीको चीन भ्रमण समेत औपचारिक रुपमा मन्त्रिपरिषदबाट स्वीकृत हुन पाएन ।

थापालाई उपप्रधानमन्त्रीमा नियुक्त गरेपछि बसेको मन्त्रिपरिषद बैठकमा पनि निधिले असन्तुष्टि जनाएका थिए । वरियताक्रममा प्रधानमन्त्रीपछि आफू भएपनि बैठकमा थापालाई दोस्रो मर्यादाक्रममा राखेपछि निधि रुष्ट भएका हुन् ।

उनले सरकार छाड्ने चेतावनी समेत दिएका थिए । थापाले पनि आफू संसदको चौथो ठूलो दलको अध्यक्ष र शीर्ष बैठकमा समेत बस्ने व्यक्ति भएको भन्दै आफू वरिष्ठ भएको दावी गर्दै आएका छन् ।

उनले आफूलाई वरिष्ठ नबनाए पद छाड्ने धम्कीपछि प्रधानमन्त्रीलाई वरिष्ठ छुट्याउन कठिन परेको छ । वरिष्ठको विवाद सिंहदरबारमा मात्रै नभई अन्तर्राष्ट्रिय विमानस्थलसम्मै देखियो ।

बिहीबार राति प्रधानमन्त्री चीन जाने क्रममा विमानस्थलमा बिदाई गर्न जाँदा पनि निधि र थापाबिच प्रतिष्पर्धा भयो । दुवै प्रधानमन्त्रीपछिको दोस्रो वरियतामा रहन अघि सरे ।

सो क्रममा कहिले थापा अघि भए भने कहिले निधि अघि भए । दुवैले प्रधानमन्त्रीपछिको बरियतामा आफू रहेको देखाउन खोजेपनि प्रधानमन्त्रीले कसैलाई पनि कार्यबहाकको जिम्मेवारी नदिई चीनतर्फ लागेका छन् । यसले वरिष्ठताको विवाद अझै केही दिन लम्बिने भएको छ ।