काठमाडौं । इंग्लिश फुटबल क्लव लेष्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ ।
मंगलबारराति भएको प्रि–क्वाटरफाईनल दोस्रो लेगको खेलमा लेष्टर सिटीले स्पेनिस क्लब सेभिल्लालाई २–० ले हराउँदै अन्तिम आठमा पुगेको हो । लेष्टरको जितमा वेस मोर्गान र मार्क अल्ब्राईटनले एक–एक गोल गरे ।
दोस्रो लेगमा हात पारेको २–० को जितसँगै लेष्टस सिटी समग्रमा ३–२ ले विजयी हुँदै क्वाटरफाईनलमा प्रवेश गरेको हो । पहिलो लेगको खेलमा सेभिल्ला २–१ ले विजयी भएको थियो ।
पहिलो पटक च्याम्पियन्स लिग खेलिरहेको लेष्टर सिटी पहिलो सहभगितामै अन्तिम क्वाटरफाइनलमा पुगेको हो ।
च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको अर्को खेलमा ईटालीको युभेन्टसले पोर्चुगलको एफसी पोर्टोलाई १–० ले हरायो । खेलमा युभेन्टसलाई विजयी गराउन पाउलो डिबालाले निर्णायक गोल गरे ।
पहिलो लेगमा २–० ले विजयी भएको युभेन्टस दोस्रो लेगको खेलपछि समग्रमा ३–० को जित निकाल्दै क्वाटरफाइनलमा पुगेको हो ।