एजेन्सी । भारतको छत्तिसगढमा माओवादीले भिषण हमला गरेका छन् ।
छत्तिसगढको माओवादी प्रभावित सुकमा जिल्लामा शनिबार बिहानै माओवादीसँग भएको भिडन्तका क्रममा सीआरपीएफका ११ जवानको मृत्यु भएको छ भने अन्य ५ जना गम्भीर घाइते भएका छन् ।
बस्तरका प्रहरी प्रमुख आईजी सुन्दरराज पीले सीआरपीएफको २१९ औं बटालियनको टोली सडक खुलाउनका लागि भेज्जी थाना इलाकाबाट निस्किएका बेला माओवादीसँग भिडन्त भएको हो ।
सडकमा घाट बनाएर बसेका माओवादी जनसेनाले कोत्ताचेरु भन्ने स्थानमा हमला गरेका थिए । सडकमा विस्फोट गराएपछि चौतर्फी हमला गरेको जनाइएको छ । माओवादीको आक्रमणबाट सैनिक जवानले सम्हालिन नपाउँदै क्षति बेहोरेको हो ।
आक्रमणपछि माओवादी जनमुक्ति सेना उनीहरुका हतियार समेत लिएर जान सफल भएका छन् । घटनामा गम्भीर घाइते भएका पाँच जना जवानलाई उपचारका लागि रायपुर पठाइएको छ ।
राज्यका गृहमन्त्री रामसेवक पैंकराले यस आक्रमणको निन्दा गरेका छन् । घटनास्थलमा माओवादीविरुद्धको कारबाहीका लागि थप सैनिक समेत पठाइएको छ ।
भारतमा माओवादीविरुद्ध कारबाही तिव्र पार्ने तयारी भइरहँदा माओवादीको आक्रमणबाट सुरक्षाफौजतर्फ ठूलो क्षति भएकोे हो ।





























