काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण तराईका जिल्लाको जनजीवन ठप्प बनेको छ ।
सोमबार एमालेको सभाका क्रममा सप्तरीमा प्रहरीको गोली लागेर आफ्ना कार्यकर्ताको मृत्यु भएपछि मोर्चाले त्यसको विरोधमा सरकारलाई दिएको समर्थन फिर्ता लिदै तराई बन्दको घोषणा गरेको थियो ।
बन्दका कारण सिरहा, सप्तरी, रौतहट, धनुषा, महोत्तरी, सर्लाहीलगायत तराईका जिल्ला ठप्प बनेका छन् । बन्दका कारण यातायात, कलकारखाना, व्यापार व्यवसाय ठप्प भएका छन् भने शैक्षिक संस्था पनि खुल्न सकेका छैनन् ।
तराईका जिल्लामा मोर्चाका कार्यकर्ताले विहानैदेखि नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् । उनीहरुले प्रहरीको गोली लागि मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने लगायत माग राखेका छन् ।
मोर्चाका कार्यकर्ताले एमालेको मेची–महाकाली अभियान कुनै पनि हालतमा सञ्चालन गर्न नदिने अडान राखेका छन् । मोर्चाका कार्यकर्ताको प्रदर्शनपछि तराईका जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सप्तरीमा भएको घटनापछि एमालेले आफ्नो मेची–महाकाली अभियान स्थगित गरेको छ ।