सन्दर्भ:सहिद सप्ताह, आमूल परिवर्तन र मुुक्तिप्रति सधै निष्ठावान बनौं : कृष्णसेन इच्छुक

सन्दर्भ:सहिद सप्ताह, आमूल परिवर्तन र मुुक्तिप्रति सधै निष्ठावान बनौं : कृष्णसेन इच्छुक

(साहित्यिक त्रैमासिक कलमले ०५७ माघ १ गत्ते कृष्णसेन इच्छुकसँग लिएको अन्तर्वार्तालाई ‘सहिद सप्ताह’को सन्दर्भ पारेर सहित्यिक स्तम्भमा प्रस्तुत गरेका छौं । उहाँलाई जनताको कुशल योद्धा, प्रखर कवि र सम्पादक भएकै कारण ०५९ जेठ ६ गते पुनः गिरफ्तार गरी तत्कालीन शासकले बर्बर यातनाकाबीच ०५९ जेठ १३ गते हिरासतमा नै कुटीकुटी हत्या गरे । इच्छुक नेपाली श्रमजीवि, शोषित–उत्पीडित वर्गका एक अमूल्य निधि हुनुुहुन्छ । उहाँ नेपालका नयाँ जनवादी क्रान्तिका एक प्रेरणादायी अजर अमर महान सहिद हुनुहुन्छ ।– उहाँका ओजपूर्ण र उर्जाशिल विचार यहाँ प्रस्तुत गरेका छौं ।– सं.,)

अनिश्चितकालीन जेल–जीवन कसरी बिताइरहनुभएको छ ?

–मैले जेल जीवनलाई मेरो जीवनको एउटा महत्वपूर्ण घटना र अनुभुतिको रुपमा लिएको छु । पञ्चायती कालमा पनि सामान्य रुपबाट विद्यार्थीका हक–हित र अधिकारको निमित्त सङ्गठित हुँदाहुँदै मैले पाँच–छ वर्षसम्म दाङमा बन्दी जीवन बिताउनु परेको थियो । अहिले कानुनीराज, प्रजातन्त्र र मानवअधिकारको वकालत गर्दै नागरिक सुरक्षाको ग्यारेण्टी गर्ने भनिएको बहुदलीय व्यवस्थामा पनि पुनः झुट्टा मुद्दामा फसाएर विगत दुई वर्षयता बन्दी जीवन बिताउँदै आएको छु, यो बन्दी जीवनको समयलाई सकेसम्म रचनात्मक र सार्थक बनाउनका निम्ति लेखन, अध्ययन र चिन्तनमननतिर लगाइरहेको छु ।

जेल जीवनको क्रममा तपाईले लेख्नुभएको ‘बन्दी र चन्द्रगिरि’ विशेष चर्चाको विषय बन्दा तपाईलाई कस्तो लागेको छ ?

–जेलको समयलाई बढीभन्दा बढी सदुपयोग गर्ने सिलसिलामा नै बन्दी र चन्द्रगिरि काव्यको रचना गरेको थिए । उक्त काव्य प्रकाशित भए पछि साहित्यिक मित्र तथा पाठकहरुले त्यसलाई निकै माया गर्नुभएको पाएँ । बन्दी अवस्थामा सिर्जित काव्य भएकाले अघिल्ला रचनाहरुभन्दा यो बढी चर्चित भएको होला । आफ्नो कृति चर्चा परिचर्चामा आउँदा आफूलाई खुसी लाग्नु स्वभाविक नै हो ।

यस काव्यलाई कतिपय समालोचकहरुले यस देशकै उत्कृष्ट काव्य भनेकोमा नि ?

–एउटा स्रष्टाले आफ्ना रचनाहरु सिर्जना गर्दा सबै लोकप्रिय र महत्वपूर्ण बनून्, तिनले साहित्यिक तथा वैचारिक आन्दोलनमा योगदान पु¥याउन भन्ने चाहना राखेको चन्द्रागिरि साहित्यिक दृष्टिले सुन्दर र सफल बनोस्, कलात्मक बनोस् तथा वैचारिक दृष्टिले समकालीन यथार्थ र समयको प्रतिनिधि रचना बनोस् भन्नेसम्मको मेरो कामना थियो । यो यस किसिमको बन्यो कि बनेन भन्ने कुराको मूल्याङ्कन गर्ने त समालोचक र पाठकहरुको नै हो नि त ।

कसको प्रेरणाले साहित्यतर्फ तपाईलाई उन्मुख गरायो ?

–मलाई सबभन्दा पहिले साहित्यमा प्रेरित गर्ने कुनै व्यक्ति विशेष नभएर म पढ्ने देउखुरीको लालामटिया स्कुलको साहित्यिक वातावरण र मलाई पढाउने शिक्षकहरु नै मेरा प्रेरणाका स्रोत हुनुहुन्छ । जहाँसम्म व्यक्ति विशेषको कुरो छ, मलाई सचेत रुपले साहित्यमा लाग्न, अघि बढ्न मेरा रचनाहरु प्रकाशित गरेर प्रगतिशील साहित्यिक फाँटमा मलाई उभिन लगाउने व्यक्तिको कुरो छ, नाममा लिनु पर्दा म नारायणप्रसाद शर्माको नाम लिन्छु, जसलाई हामी नारायण गुरु पनि भन्ने गर्दछौं । उहाँबाट नै म व्यक्तिगत रुपमा मेरो साहित्यिक यात्रामा प्रभावित र अभिप्रेरित हुन पुगेको छु ।

कहिलेदेखि कविता लेख्न आरम्भ गर्नुभयो ?

–कवितामा सानै देखि रुची थियो । उमेरका दृष्टिले पन्ध्र–सोह्र वर्षको उमेरदेखि नै मैले कविता लेख्न आरम्भ गरेको हुँ । यस क्रममा २०३२ सालतिर काठमाडौंबाट प्रकाशित हुने मातृभूमि साप्ताहिकमा मेरो पहिलो कविता ‘भोलिप्रति’ प्रकाशित भएको हो । खासगरी ०३५ ०३६ सालको आन्दोलनपछि कविता लेखनमा म बढी सचेत र सक्रिय भई लाग्न थालें । त्यसपछि म क्रमिक रुपमा लेखिरहेको छु ।

तपाई गद्य कविताको स्रष्टा हुनुहुन्छ । तर तपाईको कविता पढ्दा पद्य कविताको झैं किन बोध हुन्छ ?

–मेरा कविता गद्य कविता हुन् । म गद्य कवितामा पनि पद्यको लयात्मकता दिन चाहन्छु । लयात्मकता, सङ्गीतात्मकता तथा अनुप्राशयुक्त गीतिमयता दिएर पाठकमा एक किसिमको पद्यात्मक बोध गराई सम्प्रेषणका पक्षमा जोड दिन चाहन्छु । लय कविताको एउटा विशिष्ट तत्व हो । यसको अभावमा कविता कविता बन्न सक्तैन । कवितालाई सामान्य गद्यबाट छुट्याउने र त्यसलाई सपाटपनबाट जोगाउने प्रमुख तत्व नै लयचेतना हो । म लयचेतनाप्रति एकदमै सचेत छु । त्यसैले मेरा कविता गद्यात्मक हुँदाहुँदै पनि पद्यमय बोध हुन्छन् होला ।

 कविता विधाबाहेक अन्य विधामा कलम चलाउनुभएको छ कि छैन ?

–साहित्यका विविध विधाहरुमध्ये मलाई बढी प्रिय लाग्ने विधा कविता नै भएकाले सुरुदेखि म कविता लेखनतर्फ बढी क्रियाशील भएको हुँ । सुरुसुरुमा फुटकर कथा तथा निबन्धहरु पनि लेखें तर मेरा निरन्तरता र साधना बढीभन्दा कविता विधामै रह्यो ।

अहिले यतिखेर के लेख्नमा व्यस्त रहनुभएको छ ?

–यतिखेर म फुटकर कविता लेखनमा बढी लागेको छु । तराईको जेलमा बस्न थालेपछि यहाँको आञ्चलिक जीवन तथा साँस्कृतिक परिवेशसित नजिकिदै प्राप्त अनुभुतिलाई कवितात्मक रुप दिन म क्रियाशील छु । त्यसैले हालसम्म मेरा कविताहरु यसै पक्षसँग सम्बद्ध छन् । साथै जेलभित्रका अनुभवहरुलाई म बाह्य जीवनसँग तादाम्य सामाजीकृत तथा सामान्यीकृत गरिरहेको छु । दिनप्रतिदिन ऊध्र्वगामी बन्दै गएको जनताको मुक्तियुद्धको प्रभावलाई पनि म आफ्ना कवितामार्फत अभिव्यक्त गरिरहेको छु । यस्तै सेरोफेरो र परिवेशमा लेखिएका मेरा फुटकर कविताहरुको सङ्कलन नयाँ वर्षमा प्रकाशित गर्ने मेरो सोचाइ रहेको छ ।

जेल जीवन भोग्दा तराईको र काठमाडौंको जेलबीच के फरक पाउनुभयो ?

–काठमाडौं र तराईका जेलहरुमा बसाइका दृष्टिले त्यस्तो खासै भिन्नता बोध भएको छैन । जेल आखिर जहाँको भए पनि जेल नै हो । जेलका अनुभुति जहाँ पनि उस्तै हुन्छन् । ठाउँअनुसार जेल र जेलका मान्छेहरुको स्थिति फरक–फरक भए पनि अनुभुतिमा भने खासै फरक हुन्न । समष्टिमा भन्दा जेलका अनुभुतिहरु, पीडा र संवेदनाहरु अनि भोगाइहरुमा खास भिन्नता हुन्नन् ।

जेलभित्रैबाट एम.ए. को तयारी गर्दै हुनुहुन्थ्यो नि ?

–जेलबाटै पाँच दिनको लागि फर्म भरेको थिएँ । पञ्चायतकालमा पनि बन्दीहरुले निर्बाध रुपमा जाँच दिन पाउँथे । अनि मैले झन् यो प्रजातान्त्रिक भनिने व्यवस्थामा त पाऊँला नै भन्ने लागेको थियो । तर वर्तमान कांग्रेसी सरकार म प्रति अत्यन्तै पूर्वाग्रही बनेर जाँच दिन पाउने सामान्य अधिकारबाट मलाई बञ्चित गरायो । मैले बन्दीहरुले पाउनुपर्ने नैसर्गिक अधिकारका लागि तीन दिनसम्म मुखमा कालोपट्टी बाँधेर विरोध जनाएँ । यो यस्तो विषय हो, जसका बारेमा सबै पत्रकारजगत्, मानवअधिकारवादी सङ्घसंस्था र नागरिक स्वतन्त्रताका पक्षधरहरुले आवाज उठाउन जरुरी छ ।

तपाईलाई झुटा मुद्दा लगाएर गायब पार्ने शैलीमा काठमाडौंबाट सिराहा ल्याइयो । अहिले तपाईलाई के मुद्दा लगाएको छ र मुद्दाको स्थिति के छ ?
–मलाई नौ महिनासम्म काठमाडांैमा शान्तिसुरक्षाको नाममा राखियो । त्यसपछि रातारात विभिन्न प्रहरी चौकी गर्दै मलाई आतङ्कित पार्दै सिराहामा ल्याइयो र हातहातियार तथा खरखजनाको झुठा मुद्दामा फँसाएर अहिले सिराहाबाट यस राजविराज जेलमा राखिएको छ । झुट्टा मुद्दामा फसाएर यसरी राखिएकोमा सर्वोच्चमा रिट चलिरहेको छ । तीन सदस्यीय फुल बेञ्चले मेरो मुद्दालाई सात सदस्यीय फुल बेञ्चमा पठाएको छ । न्याय मिल्नेछ भन्ने विश्वासका साथ प्रतीक्षारत छु ।

सम्मानित अदालतले बेकसुर भनी फैसला गरे पनि अदालत परिसरबाटै प्रहरीले पुनः पक्राउ गरेका घटनाहरु छन् । तपाईका बारेमा पनि…..?

–अदालतबाट रिहाई गरेकाहरुलाई पुनः गिरफ्तार नगर्ने भन्नेजस्ता भनाईहरु सरकारका प्रमुख व्यक्तिहरुबाट भन्ने गरिएको छ । यो पक्ष व्यवहारमा हेर्नुपर्नेछ म पत्रकारिता तथा साहित्यिक क्षेत्रमा स्वतन्त्र रुपमा काम गरिरहेको कलमजीवि भएको हुनाले मलाई विश्वास छ, सर्वोच्चले मलाई रिहा गरे पछि पुनः गिरफ्तार गरिने छैन । मलाई पुनः गिरफ्तार गरेर सरकारले आफूलाई उपहासको पात्र बनाउने छैन । झुठा मुद्दामा मलाई फँसाएर सर्वत्र आलोचित भएको सरकारले सर्वोच्चको आदेश उल्लङ्घन गरेर पुनः आलोचित हुने स्थितिमा आफूलाई नपु¥याउला भन्ने मलाई लाग्छ ।

आफ्नो रिहाईको सर्वत्र आवाज उठेको प्रसङ्गप्रति तपाईलाई कस्तो अनुभुत हुन्छ ?

–मलाई जेलमा बन्दी बनाएपछि विभिन्न मित्र तथा संस्थाहरुले मेरा रिहाइका निमित्त विभिन्न किसिमले आवाज उठाउँदे आउनु भएको छ । खास गरेर पत्रकार, लेखक, साहित्यकार, वकिल तथा मानवअधिकारवादी मित्रहरुले मेरा पक्षमा गम्भीरताका साथ चासो देखाई रिहाइको निमित्त जुन पहल र प्रयास भइरहेको छ, यसप्रति म अन्यन्तै आभारी छु । यसको लागि म मेरो रिहाईको लागि आवाज उठाउने सम्पूर्ण शुभचिन्तकहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।

तपाई अखिल नेपाल जनसाँस्कृतिक संघको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । आफू जेल परेपछि जनसाँस्कृतिक आन्दोलन कसरी बढिरहेको छ जस्तो लाग्छ ?

–मेरो गिरफ्तार पछि पनि थुप्रै लेखक–कलाकार साथीहरुको हत्या भएको छ । थुप्रैलाई बेपत्ता पारिएको छ । कयौंलाई जेलनेलमा कठोर यातना दिइएको छ र पनि जनमुत्तिको यात्रा सँगसँगै एकाकार हुँदै हाम्रा साथीहरु साँस्कृतिक योद्धाका रुपमा अविचल भएर अघि बढिरहनु भएको छ । त्यसैले हाम्रो जनसाँस्कृतिक संघको साँस्कृतिक अभियानमा मेरो गिरफ्तारीले कुनै अवरोध तथा व्यवधान पु¥याएको छैन । व्यक्तिहरु थुनिन्छन, छुट्छन्, अगाडी बढ्छन्, पछि हट्छन् तर यात्रा भने निरन्तर रुपमा अघि बढिरहन्छ । जनताको संघर्षको अन्य फाँटझैं हाम्रो साँस्कृतिक फाँट पनि दिनप्रतिदिन उर्वर बन्दै अग्रगामी मार्गमा गतिवान् छ । लेखन, सिर्जन, प्रकाशन सबै पक्ष समृद्ध बन्दै गएका छन् । त्याग र समर्पणको महागाथा निर्माण भैरहेको छ ।

आफ्ना समकालीन तथा नवोदित स्रष्टाहरुलाई के सल्लाह दिनुहुन्छ ?

–साहित्यका क्षेत्रमा समर्पित भइरहनुभएका तथा यसै मार्गमा अग्रसर हुन थाल्नुभएका नयाँ–पुराना, मेरा समकालीन तथा नवोदित साथीहरुलाई म हाम्रो युग, समाज, देश र जनताप्रति, आमूल परिवर्तन र मुुक्तिप्रति सधै निष्ठावान बनौं भन्ने सल्लाह दिन्छु । सधै इमान्दार र प्रतिबद्ध बनौं, शब्द र कर्मप्रति आदर्श र व्यवहारप्रति निष्ठावान् बनौ भन्छु । साथै हाम्रो लेखन र सिर्जनाअनुरुप हाम्रो जीवनशैली बनोस् र हामी हाम्रो यात्रामा अविराम, अथक र निरन्तर रुपमा अघि बढिरहौं, भन्दछु ।

जनादेश साप्ताहिक र कलम त्रैमासिक सम्पादन गरिरहेको बेलामा कांग्रेसी सरकारले तपाईलाई झुट्टा मुद्दामा फँसाई तपाईको हातमा हत्कडी लगाएर पनि कलम र जनादेश प्रकाशित भइरहेका छन् । यस्तो अवस्थामा तपाई सहयोद्धा साथीहरुलार्य के सन्देश दिनुहुन्छ ?

–म बन्दी बने पनि जनादेश र कलम परिवारसित सम्बद्ध साथीहरुले कष्टसाध्य रुपमा रहेर पनि प्रकाशनलाई निरन्तरता दिइरहनुभएको छ । तमास किसिमका विघ्नबाधा, अप्ठेरा र चुनौतीहरुको सामना गर्दै पत्रकारिताका क्षेत्रमा साथीहरु जनादेशलाई अगाडी बढाउँदै हुनुहुन्छ । त्यसैगरी साथीहरु कलमका माध्यमबाट आफ्नो दायित्व पूरा गरिरहनुभएको छ । यसले आफू जेलभित्र रहेर पनि मलाई हर्ष र गर्वको अनुभुति गराईरहेको छ । मेरो हातबाट मेरो कलम खोसेर मलाई हतकडी पहिराइए पनि हामीहरु यात्रामा फेरि सँगसँगै कलम उठाउँनेछौं । जनतासँगको मुक्तियात्रामा होस्टे र हैंसे गर्दै साथसाथै अघि बढ्नेछौं भन्ने विश्वास मैले लिएको छु र साथीहरुलाई पनि यहि विश्वासले दृढ, निर्भिक र अविलिचित हुन अनुरोध गर्दछु ।