काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत आइतबारराति भएको खेलमा बार्सिलोना र रियल मड्रिड विजयी भएका छन् ।
बार्सिलोनाले कडा प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडलाई उसकै घरेलु मैदानमा २–१ ले हराउँदै महत्वपूर्ण ३ अंक हात पार्यो ।
बार्सिलोनालाई विजयी गराउन राफिन्हा र लियोनल मेस्सीले १–१ गोल गरे भने एथ्लेटिकोका लागि डिएगो गोडिनले एक गोल फर्काए ।
आइतबारराति नै भएको अर्को खेलमा रियल मड्रिडले भियारियाललाई ३–२ ले हराउँदै शीर्ष स्थानमा पुगेको छ । रियाल मड्रिडको जितमा ग्यारेथ बेल, रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे ।
ला लिगाअन्तर्गतका अरु खेलमा एथ्लेटिक बिल्बाओले ग्रानाडालाई ३–१ ले हराउँदा इस्पानियोलले ओसासुनालाई ३–० ले पराजित गर्यो ।
रातिका खेलहरुपछि ला लिगाको अंक तालिकामा २३ खेलबाट ५५ अंक जोडेको रियल मड्रिड शीर्ष स्थानमा छ भने एक खेल बढी खेलेको बार्सिलोना ५४ अंकसहित दोस्रो स्थानमा छ ।