
गतांकको बाँकी
आफ्नो ज्ञान, शक्ति र सामथ्र्यप्रति माक्र्समा घमण्डको लेसमात्र पनि थिएन । फलले लटरम्म भएको रुख झैं, उहाँ विनम्र हुनुहुन्थ्यो । उहाँ साधारण कार्यकर्ताहरू र तलबाट आएको रायलाई बडो ध्यान दिएर सुन्नुहुन्थ्यो र, त्यसमा रहेको साँचो कुराको बडो सराहना गर्नुहुन्थ्यो । माक्र्सको उक्त गुणको सम्बन्धमा फ्रीडरिक लेस्सनरले आफ्नो संस्मरणमा लेखेका छन् ः “सबै साँच्चिकै महान पुरुषहरू झैं, माक्र्समा घमण्ड बिलकूल थिएन । उहाँ प्रत्येक इमान्दार प्रयत्नलाई र आत्म–निर्भर चिन्तनमा आधारित प्रत्येक रायलाई सराहना गर्नुहुन्थ्यो । मैले पहिलो भने झैं, उहाँ मजदुरवर्गीय आन्दोलनमा काम गर्ने सबभन्दा साधारण कार्यकर्ताहरूको राय सुन्न सधैंभरि उत्सुक हुनुहुन्थ्यो । त्यसैले, उहाँ अक्सर अपरान्ह म कहाँ आउनुहुन्थ्यो, घुम्न जाँदा मलाई आपूmसँग लैजानुहुन्थ्यो र विभिन्न विषयहरूमा मलाई बताउनुहुन्थ्यो । स्वभावतः म उहाँलाई जति पनि कुरा गर्न दिन्थे, किनभने उहाँको कुरा र उहाँले तर्क गरेको सुन्नु साँच्चिकै आनन्द लाग्दथ्यो । म सधैंभरि उहाँको कुराकानीबाट मुग्ध रहन्थे र उहाँलाई छोडेर हिंड्न गाह्रो लाग्दथ्यो । सामान्यतः उहाँ राम्रो साथी हुनुहुन्थ्यो र आफ्नो सम्पर्कमा आएका सबैलाई बलियोसित आकर्षित र मुग्ध समेत पार्नुहुन्थ्यो । उहाँको बुद्धि अजस्र थियो र उहाँको हाँसो भित्र दिलदेखि निस्केको हुन्थ्यो । जब कुनै मुलुकमा हाम्रा पार्टी कामरेडहरूले विजय हासिल गरेका हुन्थे, तब उहाँ अत्याधिक बेरोक तरिकाले आफ्नो आनन्द व्यक्त गर्नुहुन्थ्यो र ठूलो स्वरमा खुशी हुनुहुन्थ्यो, र उहाँको खुशीले उहाँको वरिपरि रहेका सबैलाई प्रभाव पारेको हुन्थ्यो ।”
सर्वहारावर्ग र शोषित–पीडित जनताको पक्षमा लाग्ने क्रान्तिकारी योद्धाको हैसियतले माक्र्समा स्वाभाविक रूपले शोषकवर्ग र शोषण–व्यवस्थाप्रति अपार घृणा रहेको थियो । त्यस्तै, शोषक–शासकवर्गहरूको हितमा संलग्न रहेका विद्वानहरूले देखाउने निष्पक्षताको स्वांगप्रति पनि उहाँमा घृणा थियो । शोषक तथा उत्पीडकहरू, उपनिवेशवादी आक्रामक तथा लुटेराहरू, निरकुंश शासकहरू, सत्ताका भोका सामन्ती तथा पुँजीवादी मालिकहरू, धार्मिक पाखण्डी तथा स्वार्थ–लिप्सा पुरेतहरू, आदिलाई उहाँ गहिरोसित घृणा गर्नुहुन्थ्यो, र सो घृणा उहाँका रचनाहरूमा तिनप्रति गरिएको रोषपूर्ण तथा घृणापूर्ण विशेषण–प्रयोगमा स्पष्टसित अभिव्यक्त भएको थियो । भारतमा शासन र लूट गर्ने ब्रिटिश उपनिवेशवादीहरूलाई “ब्रिटिश पशु”को संज्ञा दिएको कुरा माथि उल्लेख भएको छ । त्यस्तै, पूर्वका मुलुकहरूमा लूटको अभियानमा लागेकाहरूलाई “अभियानी पटमूर्ख”, स्लाव मुलुकको विजयका सङ्गठनकर्ता जर्मन राजकुमार हिनरिक द लोबेलाई “विश्वासघाती तथा जङ्गली फोहरी”, बाल्टिक राष्ट्रहरूका बर्बर विजेताहरूलाई “बदमाश” तथा “नीच योद्धा”, १६औं शताब्दीमा भाडावाल लुटेराहरूलाई “अन्तर्राष्ट्रिय लुटेरा लफँगा”, भन्ने संज्ञा दिनुभयो । त्यस्ता तत्वहरूप्रति गरिएको घृणा र रोषले भरिपूर्ण तीक्ष्ण शब्द–वाण तिनप्रति उहाँको धारणाको अभिव्यक्ति थियो । तर शोषक र शोषण–व्यवस्थाप्रति अपार घृणा र रोष हुँदाहुँदै, उहाँले इतिहासलाई कहिल्यै सरल रूपमा लिनु भएन । उहाँमा ऐतिहासिक विकास–क्रममा देखापरेका विभिन्न व्यवस्था, संस्थान र व्यक्तित्वहरूका विपरित लक्षणहरू र तिनका सकारात्मक तथा नकारात्मक पक्षहरूलाई देख्नसक्ने खुबी थियो । उदाहरणका लागि, ज्यालादारी दासत्वमा आधारित पुँजीवादी व्यवस्था र मजदुरहरूको अमानवीय शोषण गर्ने पुँजीपतिवर्गप्रति घृणा र रोष भए पनि, उहाँले ऐतिहासिक विकासमा उक्त व्यवस्थाको प्रगतिशील भूमिकालाई देख्नुभएको थियो । अनेकौं मामिलाहरूमा उहाँको त्यस्तै दृष्टिकोण रहेको थियो । घृणा र प्रेम एक अर्काको विपरित भए पनि, एक अर्काको पुरक पनि हुन् । जसले प्रेम गर्न सक्दैन उसले घृणा पनि गर्न सक्दैन । कुनै वस्तुका दुइटा छेउ झैं, ती सँगसँगै रहने गर्छन््, किनभने दुई छेउहरूको मिलन स्वाभाविक रहन्छ । जुन व्यक्तिमा शोषित जनताप्रति प्रेम हुन्छ, उसमा स्वाभाविक रूपले शोषकहरूप्रति घृणा पनि हुन्छ । शोषक, अत्याचारी, उपनिवेशवादी लेटेरा, धार्मिक पाखण्डी, कपटी पुरेत, आदिप्रति माक्र्समा भयानक घृणा र रोष हुनाको खास कारणले के भने उहाँमा शोषित–उत्पीडित जनताप्रति, सत्य र न्यायप्रति अपार प्रेम थियो । आफ्नो पिताको उक्त चारित्रिक लक्षणबारे इलेनोर माक्र्स एवेरिङ्गले आफ्नो कार्ल माक्र्स शीर्षकको संस्मरणमा लेखेका थिए ः
“मानवीय स्वभावका विद्यार्थी रहेकाहरूको लागि कुन कुरा अनौठो लाग्नेछैन भने त्यस्तो योद्धा रहेको यो व्यक्ति मानिसहरूमा सबभन्दा दयालु र सबभन्दा सुशील पनि हुनुपर्छ । तिनीहरूले कुन कुरा बुझ्नेछन् भने उहाँले यत्रो भयानक रूपले घृणा गर्न सक्नाको कारण के भने उहाँ अति गहिरोसित प्यार गर्न सक्नुहुन्थ्यो । उहाँको सशक्त कलमले कुनै आत्मालाई स्वयम् दाँतेलाई जतिकै निश्चित रूपले नरकमा कैद गर्न सक्नाको कारण के भने उहाँ अति सच्चा र कमलो हुुनुहुन्थ्यो, र यदि उहाँको हास्यव्यङ्ग्यले विनष्टकारी एसिडले जस्तै टोक्न सक्छ भने उही हास्यव्यङ्ग्य दुःख र पीडामा परेकाहरूको लागि कष्टहारक मलम बन्न सक्छ ।”
के भनिन्छ भने शैली नै मानिस हो, मानिसको शैली नै वास्तविक मानिस हो, र यो बिलकुल साँचो कुरा हो । शैली एउटा यस्तो साधन हो, जसको मद्दतबाट कुनै लेखकको व्यक्तित्व र दिललाई बुझ्न र चिन्न सकिन्छ । सुविख्यात रुसी कवि अलेक्जाण्डरको भनाइ के छ भने कुनै पनि लेखकको शैली उसको आत्माको सारतत्वसित घनिष्ठ रूपले गाँसिएको हुन्छ र देख्नसक्ने आँखाले शैलीमार्फत् आत्मालाई देख्न सक्छ । वास्तवमा, शैली एउटा यस्तो ऐना हो, जसमा लेखकको सम्पूर्ण व्यक्तित्व, उसको विचारधारा र चरित्रका विशेषताहरू र उसको कृतिको आधारको सम्पूर्ण सांस्कृतिक उत्तरदान प्रतिबिम्बित हुन्छन् ।
उपरोक्त भनाइ माक्र्सको सम्बन्धमा झन बढी साँचो रहेको छ — माक्र्सको शैली नै माक्र्स हो । पाखण्डीपन, अस्पष्ट तार्किकता, मिथ्याकरण, बहानाबाजी, शब्दजाल आदिका कट्टर विरोधी हुनाले, उहाँ ठीकसित र स्पष्टसित अभिव्यक्त गर्नुपर्ने कुरामा ठूलो जोड दिनुहुन्थ्यो । उहाँको प्रतिभाको एउटा खास विशेषता के थियो भने उहाँमा आपूmलाई, आफ्नो भावना र विचारलाई स्पष्टसित अभिव्यक्त गर्ने ठूलो सीप थियो । बोल्दा–लेख्दा स्पष्ट अभिव्यक्ति दिन सक्नाको खास कारण के भने उहाँमा वैचारिक स्पष्टता रहेको हुन्थ्यो । जो विचारमा स्पष्ट हुन्छ, उसले नै त्यसलाई स्पष्ट अभिव्यक्ति दिन सक्छ । स्पष्ट अभिव्यक्ति भनेको स्पष्ट चिन्तनको प्रतिफल हो । माक्र्स कुनै पनि विचार तथा धारणालाई स्पष्ट र सही ढङ्गले व्यक्त गर्न जहिले पनि मेहनत गर्नुहुन्थ्यो ।
बहु–आयामिक र बहुपक्षीय व्यक्तित्वको रूपमा माक्र्सको शैली एउटै रूपको नहुनु कुनै अस्वाभाविक कुरा थिएन । तर उहाँको शैलीको विविधतामा एकता रहेको थियो । यस कुरालाई आफ्नो संस्करणमा लिब्नेच्टले यसरी देखाए ः “पाखण्डीपन, झुटो अभिव्यक्ति, बहानाबाजीका लागि असमर्थ रहेको हुनाले माक्र्स, आफ्नो जीवनमा झैं, आफ्ना रचनाहरूमा पनि सधैंभरि आफै हुनुुहुन्थ्यो । स्वभावतः उहाँको जस्तो बहुपक्षीय, बहुविज्ञ, तथा सर्वव्यापी चरित्रको शैलीमा कुनै कम जटिल, कम विस्तृत शैलीको एकरूपता, एकनासपन वा विरक्ति हुन सक्दैनथ्यो । पुँजीको माक्र्स, अठारौं बु्रमेरको माक्र्स र हेर फोग्टको माक्र्स तीन भिन्ना–भिन्नै माक्र्स हुन्, तर तिनको विविधतामा तिनीहरू एउटै माक्र्स हुन् । तिनको त्रिमूर्तिमा एकता छ, उहाँको त्यस्तो महान व्यक्तित्वको एकता छ, जसले आपूmलाई विभिन्न क्षेत्रमा विभिन्न रूपबाट व्यक्त गर्छ, तर पनि जुन सधैंभरि उही नै रहन्छ ।”
अनि उक्त तीन बेग्लाबेग्लै शैलीलाई उनले निम्न रूपमा दर्शाए ः–
“पुँजीको शैली बुझ्न गाह्रो छ भन्ने कुरा मानिएको छ, र त्यसमा चर्चा गर्रिएको विषय के बुझ्न सजिलो् छ त ? शैली भनेको मानिस मात्र होइन, त्यो त सामग्री पनि हो, शैलीलाई सामग्रीको अनुकूल पारिनु पर्छ । विज्ञानमा पुग्ने कुनै सजिलो बाटो छैन । प्रत्येकले आफैले शक्ति लगाउनुपर्छ, चाहे उसमा नेतृत्वको सर्वोत्तम गुण नै किन नहोस् । पुँजीको गाह्रो, गहन वा बोझिलो शैलीबारे गुनासो गर्नु आफ्नै मानसिक अल्छीपन वा सोच्ने असमर्थतालाई सकार्नु मात्र हो ।
“यदि घृणा, तिरस्कार र स्वतन्त्रताको जल्दो प्यारलाई कहिल्यै जल्दो, विनष्टकारी, उच्च शब्दमा व्यक्त गरिएको छ भने त्यो अठारौं बु्रमेरमा गरिएको छ, किनभने त्यसले टेलिटसको क्रोधपूर्ण कठोरतालाई जुवेनलको घातक व्यङ्ग र दाँतेको पवित्र क्रोधसित एकजुट पारेको छ । यहाँ शैली प्राचीन कालमा रोमनहरूको हातमा रहेको अस्त्र (stilus) हो — एउटा यस्तो तीखो अस्त्र, जसलाई लेख्न र रोप्न प्रयोग गरिन्छ । शैली एउटा यस्तो भाला हो जसले भूलै नगरिकन मुटुमा प्रहार गर्छ ।
“र हेर फोग्टमा, एकजना फाल्सटाफ र उसमा व्यङ्गको खजाना भर्नको लागि कहिल्यै नसिद्धिने सुरुङ भेट्टाउनमा कत्रो जाज्वल्यमान बुद्धि, कत्रो शेक्सपियरको जस्तो चहलपहल ।
“माक्र्सको शैली साँच्चिकै माक्र्स आफै हो । न्यूनतम ठाउँमा सकेसम्म बढी वस्तुसार कोचेर राख्न खोज्ने भनेर उहाँलाई गाली गरिन्छ, तर त्यो नै ठीक रूपमा माक्र्स हो ।”
लेखन–कलामा माक्र्स महानतम लेखकहरूको श्रेणीमा पर्नुहुन्छ । लेखनको क्षेत्रमा लेस्सिङ्, गेटे, शेक्सपियर, दाँते, सर्भान्तेस, हीने आदि उहाँका शिक्षकहरू थिए र उनीहरूबाट उहाँले धेरै कुरा सिक्नुभएको थियो । उनीहरूका उत्कृष्ट रचनाहरू उहाँ बारम्बार पढ्ने गर्नुहुन्थ्यो ।
संक्षिप्तमा धेरै कुरा भन्न सक्नु माक्र्समा रहेको एउटा ठूलो खुबी थियो । उहाँ थोरै शब्दमा मानवीय चरित्रहरूको वर्णन गर्नमा र गहन मनोवैज्ञानिक चित्रण गर्नमा निकै पोख्त हुनुहुन्थ्यो । प्रत्येक वाक्यमा, प्रत्येक वाक्यांशमा संक्षिप्तता हुनुका साथै विचार कोचेर राखेको हुन्थ्यो, जसले गर्दा ती उखान जस्तै बन्न पुग्थे । समृद्ध वस्तुसार भएका अर्थपूर्ण, गतिशील, सशक्त र संक्षिप्त वाक्यहरू बनाउने कलामा उहाँ असाध्य पोख्त हुनुहुन्थ्यो । उखान समान बनेका त्यस्ता वाक्यहरू उहाँका कृतिहरूमा निकै संख्यामा पाइन्छ ।
माक्र्सको शैलीको मौलिकता एउटा कुन कुरामा रहेको छ भने उहाँ एउटै वाक्यमा विभिन्न, विरोधी पक्षहरूको टक्कर गराएर तिनको संयोजन पैदा गर्नुहुन्छ । उहाँ वाक्यको रचना कुन ढङ्गबाट गर्न सक्नुहुन्छ भने त्यसमा विपरित धाराहरूको द्वन्द्व गराएर तुरुन्तै तिनको विपरित कुरा पैदा हुन्छ, अर्थात्् एउटै वाक्यमा विचारहरूको मुठभेड गराइन्छ । त्यसका एकाध उदाहरणहरू निम्न प्रकारका छन् ः
“जुन साध्यको लागि न्यायोचितता नभएको साधनको आवश्यकता पर्छ, त्यो कुनै न्यायोचित साध्य होइन ।
“त्रूmरता काथरताद्वारा निर्धारित नियमहरूको एउटा विशिष्ट लक्षण हो, किनभने त्रूmर भएर मात्र काथरता शक्तिशाली हुन सक्छ ।
“धर्म उत्पीडित प्राणीको सुस्केरा हो, हृदयहीन संसारको हृदय हो, जसरी कि त्यो आत्माहीन स्थितिको आत्मा हो ।
“सार्की जेकोब बोमे एक ठूला दार्शनिक हुन् । नाउँ चलेका धेरैजसो दार्शनिकहरू ठूला सार्की मात्र हुन् ।
“……….. आलोचना मस्तिष्कको कुनै आवेग होइन, यो त आवेगको मस्तिष्क हो । यो कुनै चुच्चो परेको चक्कु होइन, यो त एउटा हतियार हो ।”
माक्र्सका रचनाहरूमा उपरोक्त खालका धेरै अभिव्यक्ति पाइन्छन् । वास्तवमा त्यस्ता अभिव्यक्तिहरूमा उहाँको शैलीको खास विशिष्टता, मौलिकता तथा मुग्धकरताको अभिव्यक्ति हुनाको साथै द्वन्द्वात्मक ढङ्गले विकास भइरहेका सामाजिक परिघटनाहरूको सारतत्व, स्वयं जीवनको द्वन्द्ववाद पनि अवधारणाहरूको द्वन्द्वमार्फत अभिव्यक्त भएको हुन्छ ।
शुद्धता, स्पष्टता, समुचितता तथा सशक्तता, संक्षिप्तता, गहनता, व्यङ्गात्मकता, गतिशीलता सहितको अभिव्यक्ति माक्र्सको शैलीको प्रमुख विशेषता हो । माथि लिब्नेच्टद्वारा उल्लेखित कृतिहरू साहित्यिक तथा शैलीगत उत्कृष्टताका नमूना हुन् । उक्त शैलीले एक महानतम प्रतिभासम्पन्न व्यक्तित्वको सिर्जनात्मक प्रयोगशालालाई स्पष्टसित देखाउँछ ।
माक्र्समा पुस्तकहरूप्रति ठूलो प्यार र उत्साह थियो । आफ्नो स्वीकारोक्तिमा आपूmलाई सबभन्दा मनपर्ने कुरा “किताबको किरा बन्नु” भन्ने भनाइले पनि सो कुरा स्पष्ट पारेको छ । तर पुस्तक उहाँको लागि शोखको वस्तु थिएन, अरुमाथि प्रभाव पार्ने वा शान देखाउने साधन थिएन । पुस्तकहरू त उहाँको लागि चिन्तन–मनन गर्ने, जीवन र जगतलाई बुझ्ने साधन मात्र थिए । उहाँ कुन कुरा भन्ने गर्नुहुन्थ्यो भने “किताबहरू मेरा दास हुन् र तिनीहरूले मैले चाहे अनुसार मेरो सेवा गर्नुपर्छ ।” किताबहरूप्रति आफ्नो प्यार र तिनको उपयोगको सम्बन्धमा उहाँले १८६८ अप्रिल ११ तारिखमा लौरा र पौल लाफार्जलाई लेखेको पत्रमा भन्नुभयो ः “मलाई किताबहरू ज्यादै मनपर्छ भन्ने कुरा तिमीहरूले अवश्य पनि अनुमान गर्नेछौं । म एउटा यस्तो यन्त्र हुँ, जसको काम किताबहरूको भक्षण गर्नु र अनि त्यसलाई, परिवर्तित रूपमा, इतिहासको फोहोरको थुप्रोमा फाल्नु रहेको छ । यो एक उच्चाटलाग्दो काम पनि हो, तर पनि ग्लैडस्टोनको कामभन्दा त राम्रै काम हो, किनभने उनी, एक दिनको सूचनामा बौलठ्ठी ‘मनोस्थिति’मा, भनिएको ‘तत्परता’मा काम गर्न बाध्य छन् ।”
माक्र्सको बौद्धिक जीवन ज्यादै विशाल, बहु–आयामिक र समृद्ध थियो, र अध्ययन–मनन गर्ने उहाँको रुचि नमेटिने खालको थियो । पौल लाफार्जले आफ्नो संस्मरणमा उहाँको अध्ययन कोठाको जुन संक्षिप्त विवरण दिएका छन्, त्यसबाट उहाँको बौद्धिक जीवनबारे केही आभास मिल्छ । उनले लेखेका छन् ः “सो अध्ययन कोठा भूइँतल्लामा थियो; र त्यो बाहिर हेर्दा पार्क देखिने फराकिलो झ्यालबाट आएको प्रकाशले उज्यालो रहेको हुन्थ्यो । झ्यालको सामुन्ने र अँगेनाको दुवैपट्टि भित्ताहरूमा किताबहरूले भरिएका र सिलिङ्गसम्म छुने गरी अखबार र पाण्डुलिपिहरू थोपारेका पुस्तकका दराजहरू थिए । झ्यालको एकापट्टी अँगेनाको सामुन्ने कागज, किताब र अखबारहरू थुपारेका दुईटा टेबुल थिए । कोठाको बीचमा, उज्यालो हुने गरी, (३’ × २’ को) एउटा सानो, साधारण डेस्क र एउटा कोठाको आरामकुर्सी थियो । आरामकुर्सी र दराजको बीचमा, झ्यालको सामुन्ने, एउटा छालाको सोफा थियो, जसमा माक्र्स समय–समयमा आराम लिन पल्टने गर्नुहुन्थ्यो । भित्तामा माथिबाट झुन्ड्याइएको कोठाको तख्तामा अरु पुस्तक, सिगार, सलाई, सुर्तीको बट्टा, कागज थिच्ने वस्तु, र माक्र्सका छोरीहरू र स्वास्नी, विल्हेल्म ओल्फ र फ्रेरिडक एन्जेल्सका फोटोहरू राखिएका थिए ।”
माक्र्सको उक्त पुस्तकालयमा एक हजारभन्दा बढी पुस्तकहरू थिए, र विषयवस्तु अनुसार तिनलाई मिलाएर राखिएको थियो । ती पुस्तकहरू उहाँले आफ्नो लामो अनुसन्धानकार्यको सिलसिलामा जम्मा पार्नुभएको थियो र ती बाहेक अन्य पुस्तकहरू अध्ययन गर्नु पर्दा उहाँ नियमित रूपले ब्रिटिश म्यूजियम जानुहुन्थ्यो ।
हेगेलको कस्तो सल्लाह थियो भने आपूmले नजानेको विदेशी भाषामा लेखिएको कविता कण्ठ पढ्ने गरेमा सम्झना–शक्तिलाई बढाउन सकिन्छ । उक्त सल्लाह अनुसार माक्र्सले आपूmमा सम्झना–शक्तिको विकास गर्नुभएको थियो, र उहाँमा असाधारण र भरपर्दो खालको सम्झना–शक्ति थियो । उहाँ आफ्ना पाण्डुलिपि र नोटबुकहरू बराबर पढ्ने गर्नुहुन्थ्यो र त्यस्तै आपूmले पहिले पढेका किताबहरूमा कलमले चिन्ह राखेका कुराहरूलाई पनि समय–समयमा हेर्ने गर्नुहुन्थ्यो, जसले गर्दा उहाँलाई ताजा सम्झना भैरहन्थ्यो ।
साहित्यप्रति उहाँमा ठूलो चाख र प्यार थियो र उहाँ बडो चाख लिएर र निरन्तर रूपमा त्यसको अध्ययन गर्नुहुन्थ्यो । उहाँलाई हीने र गेटेका कविताहरू कण्ठ थियो र उहाँ सबै युरोपियाली भाषाहरूमा कविता पढ्ने गर्नुहुन्थ्यो । हीने र गेटेबाहेक उहाँलाई मनपर्ने कविहरूमा दाँते र रबर्ट बन्र्स थिए । प्राचीनकालका ग्रीक नाटककारहरूमा उहाँ एसिलसलाई वर्षेनी पढ्नुहुन्थ्यो, र जहाँसम्म सेक्सपियरको सवाल छ, एक महानतम, प्रतिभासम्पन्न नाटककारको रूपमा उनीप्रति उहाँमा ठूलो सम्मान थियो र उहाँले उनका सबै कृतिहरूको विस्तृत रूपमा अध्ययन गर्नुभएको थियो । ती महान अङ्ग्रेजी नाटककार त उहाँ र उहाँको सम्पूर्ण परिवारको सबभन्दा प्रिय पात्र थिए, र उनका कतिपय रचनाहरू माक्र्सका तीनजना छोरीहरूलाई कण्ठस्थ थियो । माक्र्सलाई चाखलाग्ने साहित्यिक विधा उपन्यास थियो, र डार्विन झैं उहाँ उपन्यास खुब पढ्नुहुन्थ्यो । अध्ययन गर्दा–गर्दा थकाई लागेमा कोठामा यताउता घुमेर उहाँ दिमागी थकानबाट आराम लिनुहुन्थ्यो । समय–समयमा आफ्नो अध्ययन कोठामा उहाँ सोफामा पल्टेर उपन्यास पढ्नुहुन्थ्यो । कहिलेकाहीं एक साथमा दुई–तीनवटा उपन्यास आलोपालो गरेर पढ्ने गर्नुहुन्थ्यो । उहाँलाई खास रूपले १८औं शताब्दीका उपन्यासहरू मन पथ्र्यो । सभेन्टसका दोन क्वेग्जेट र बाल्जाकको मानवीय सुखान्त नाटक उहाँलाई निकै मन पथ्र्यो, र उक्त दुईजना उपन्यासकारहरूलाई उहाँ सर्वश्रेष्ठ ठान्नुहुन्थ्यो । माक्र्सको दृष्टिमा दोन क्वेग्जेट एउटा महाकाव्य हो, जसमा पुुँजीवादको विकासको क्रममा मध्ययुगीन (सामन्ती) जमानाका मर्नलागेका नाइटहरूको वीरताको हाँसो उडाइएको छ । त्यस्तै, मानवीय सुखान्त नाटकमा बाल्जाक चरित्रहरूको एक सशक्त भविष्यदर्शी सिर्जनकर्ता मात्र नभएर आफ्नो समयको एक महान इतिहासकारको रूपमा पनि देखिएका छन् ।




























