
काठमाडौं । नेपाल पत्रकार महासंघ, झिंगु स्वनिग प्रतिष्ठान शाखाका सदस्य तथा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका सानुकाजी महर्जनको असामियक निधन भएपछि शोकसन्तप्त परिवारजनसँग नेकपा (क्रान्तिकारी माओवादी)का नेताहरु, स्वनिग प्रतिष्ठान शााखाका अध्यक्ष र महासंघका अध्यक्षलगायतका नेताहरुले शुक्रबार भेटघाट गरेका छन् ।
काठमाडौं महानगरपालिका–२९ स्थित गोलगुपाखा, बुद्धटोलमा रहेको दिवंगत पत्रकार महर्जनको घरमा पुगेर नेताहरुले परिवारसँग समवेदना प्रकट गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य तथा नेवा राज्य संयोजक दिनेश शर्मा‘सागर’, पार्टीका सचिवालय सदस्य तथा नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठ, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, नेपाल पत्रकार महासंघ, झिंगु स्वनिगः प्रतिष्ठान शाखाका अध्यक्ष सचिरनन्द महर्जन, झिंगु स्वनिग दैनिकका सम्पादक अमीररत्न ताम्राकार, क्रान्तिकारी माओवादी काठमाडौं इन्चार्ज तथा पार्टी केस सुरेश श्रेष्ठ, केस तथा जिल्ला संयोजक शारदा महत, क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष अमीर महर्जन, पार्टी सल्लाहकार गोर्की श्रेष्ठ, भरत बुर्जामगर लगायत नेताहरु उक्त भेटघाटमा सहभागी भएका थिए । ‘प्रेसर लो’का कारण बेहोस भएका सानुकाजी महर्जनको ३९ वर्षको उमेरमा आइतबार विहान मनमोहन अस्पतालमा उपचारको क्रममा

निधन भएको थियो । उनका एक श्रीमती र एक छोरी (८ वर्षीय) रहेका छन् । तीन दाजुभाइमा कान्छा सानुकाजी संयुक्त परिवारमै रहँदै आएका थिए । उनी नेवाः राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य र क्रान्तिकारी माओवादीका काठमाडौं जिल्ला सदस्यको जिम्मेवारीमा पनि रहेका थिए ।