निर्वाचनबारे क्रान्तिकारी माओवादीको धारणा सार्वजनिक

निर्वाचनबारे क्रान्तिकारी माओवादीको धारणा सार्वजनिक

काठमाडौं । सरकारले ३१ बैशाखका लागि घोषणा गरेको स्थानीय निकायको निर्वाचनको विषयलाई लिएर संसदवादी दलहरुबीच नै विवाद चुलिरहेको र कतिपयले चुनाव घोषणा फिर्ता लिनुपर्ने माग राखिरहेको सन्दर्भमा विगतमा दोस्रो संविधानसभाको चुनाव बहिष्कार गरेको सडकको राजनीतिक शक्ति नेकपा (क्रान्तिकारी माओवादी)ले घोषित निर्वाचन र मुलुकको पछिल्लो स्थितिबारे आफ्नो तीन बुँदे धारणा सार्वजनिक गरेको छ ।

पार्टीका अध्यक्ष मोहन वैद्य‘किरण’ले शुक्रबार एक प्रेस वक्तव्य सार्वजनिक गर्दै जारी गरिएको तीन बुँदे धारणामा भनिएको छ, “संंविधान संशोधन र हुने निर्वाचनद्वारा जनताका राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधान हुन सक्तैन र त्यसनिम्ति नयाँ जनवादी राज्यसत्ताको स्थापना अनिवार्य रुपमा आवश्यक छ ।”
यस्तो छ विज्ञप्तीको पूर्णपाठ :

‘हालै नेपाल सरकारद्वारा २०७४ वैसाख ३१ गते स्थानीय निर्वाचन गरिने घोषणा जारी गरिएको र निर्वाचन तथा संविधान संशोधन लगायतका विषयमा वर्तमान सत्ता एवम् व्यवस्था पक्षधर राजनीतिक दलहरु बिचमा विवाद चर्किदै गएको स्थितिमा ती विषयवारे पार्टी धारणा तथा अभिमत निम्न अनुसार सार्वजनिक गरिएको छ :

१) वर्तमान प˘चगामी राज्यसत्ता र संसदीय व्यवस्था अन्र्तगत गरिने संंविधान संशोधन र हुने निर्वाचनद्वारा जनताका राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधान हुन सक्तैन र त्यसनिम्ति नयाँ जनवादी राज्यसत्ताको स्थापना अनिवार्य रुपमा आवश्यक छ भन्नेवारे पार्टीको दृष्टिकोण तथा धारणा स्पष्ट रहिआएको छ ।

२) स्थानीय निर्वाचनको मिति घोषणा गरिएपनि वर्तमान राज्यसत्ता र व्यवस्थाका पक्षधर राजनीतिक दलहरुका बिच पैदा हुँुदै आएका अन्तर्विरोध तथा विवाद र अन्य विविध जतिलताका कारण सो निर्वाचन हुने नहुने अझै स्पष्ट भइनसकेको हाम्रो ठहर छ ।

३) संसदीय निर्वाचन बहिष्कार र उपयोग संबन्धी प्रश्न राजनीतिक कार्यनीतिको विषय भएकोमा पार्टी स्पष्ट नै रहिआएको छ । यसवारे परिस्थितिको ठोस अध्ययन गरी उपयुक्त समयमा पार्टीको आधिकारिक निकायद्वारा ठोस निर्णय लिइने छ ।”