उर्जामन्त्री जनार्दन शर्माद्वारा घुमन्ते फोटो प्रदर्शनी अवलोकन

उर्जामन्त्री जनार्दन शर्माद्वारा घुमन्ते फोटो प्रदर्शनी अवलोकन

विराटनगर । विराट महोत्सव २०७३ मा फोटोग्राफर युवाहरुको समुह घुमन्तेद्वारा आयोजित विराटनगरकै पहिलो फोटो प्रदर्शनी उर्जामन्त्री जनार्दन शर्माले अवलोकन गरेका छन् । महोत्सव उद्घाटन सिलसिलामा पुगेका मन्त्री शर्मा उद्घाटन कार्यक्रमपछि उक्त प्रदर्शनीमा पुगेका थिए । नेपाल पर्यटन बोर्ड, फोटो नेपालको सहयोगमा आयोजित प्रदर्शनीमा मन्त्री शर्मालाई घुमन्ते समूहले मायाको चिनो स्वरुप एउटा फोटो पनि उपहार प्रदान गरेको थियो ।
 
फागुन ११ गतेदेखि १७ गतेसम्म चल्ने विराट महोत्सव व्यापार विकास र प्रवद्र्धनको प्रमुख उद्देश्यसहित हरेक वर्ष सञ्चालित हुदँै आइरहेको छ । महोत्सवमा पर्यटन प्रवद्र्धनलाई सघाउ पुर्याउने उद्देश्य सहित सञ्चालित यो प्रदर्शनीमा नेपाल पर्यटन बोर्डको फोटोनेपाल र घुमफिर वर्ष २०७३ बारे पनि प्रचार गरिएको छ । यसका साथै नेपालीहरुमै नेपाल भ्रमणमा चासो जगाउने र आवश्यक जानकारि प्रदान गरि आन्तरिक पर्यटन विकास यो प्रदर्शनीको प्रमुख लक्ष्य रहेको छ ।  

बिहिबारको प्रदर्शनीमा विशेषतः युवाहरुले अत्यधिक चासो र रुचि देखाएको तथा प्रदर्शनीमा राखिएका फोटोहरु बारे जिज्ञासा र जानकारि लिएको घुमन्तेका सुजन गौतमले बताए । यसका साथै व्यापारिक संस्थानहरु, विद्यार्थी र सबै वर्गका व्यक्तिहरुले पनि प्रदर्शनीलाई निकै उत्सुकताका साथ नियालेका छन् । प्रदर्शनीमा समुहको १०६ वटा फोटो र विशेष आकर्षणको रुपमा गुफापोखरिको पेन्टिङ राखिएको छ ।
 
हिमाल, पहाड, तराई, जनजीवन, पुर्वदेखि पश्चिम नेपालसम्मका सबै सामग्री समेटिएको यो फोटो प्रदर्शनी विराटनगरपछि क्रमश काठमाण्डौमा चैतको अन्तिम साता र त्यसलगत्तै बैशाख मध्य सातामा पोखरामा पनि राखिनेछ । प्रदर्शनीमा सर्वसाधारणबाट प्राप्त सकारात्मक प्रतिक्रिया र पर्यटन बोर्डसहित बाग्मती प्लाष्टिक, नेप्जी र फारआउट नेपालको सहयोगबाट प्रोत्साहित प्रदर्शनी संयोजक अंगेश राठिले नेपालका अन्य शहरहरुमा पनि चाँडै नै प्रदर्शनीआयोजना गरिने योजना रहेको बताए ।