काठमाडौं । त्रिभूवन विश्वविद्यालयले आगामी फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
त्रिवि कार्यकारी परिषदको शुक्रबार बसेको बैठकले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
त्रिविको नयाँ कार्यतालिका अनुसार फागुन ११ गते बिहान १० बजेभित्र मतदाता सूची प्रकाशित गर्ने, सोही दिन २ बजेसम्म मतदाता सूचीउपर दावी बिरोध गर्ने र फागुन १२ गते १२ बजेसम्म मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने हुनेछ ।
फागुन १२ गते नै १२ देखि ५ बजेसम्म प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयन वितरण गरिनेछ भने फागुन १४ गते उम्मेदवारी दर्ता हुनेछ भने १५ गते मध्यान्ह १२ बजे सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ ।
सोही दिन दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
स्ववियु निर्वाचनको समय भने क्याम्पसहरुले आफ्नो सापेक्षतामा निर्धारण गर्न पाउनेछन् । यसअघि फागुन १४ गते नै निर्वाचन हुने भनिएपनि विद्यार्थी संगठनको सहमतिअनुसार ५ दिन पछि सारिएको हो ।