राजसंस्था फर्काउने राप्रपासँग प्रचण्डलाई मिलौं मिलौं लागेपछि ….

राजसंस्था फर्काउने राप्रपासँग प्रचण्डलाई मिलौं मिलौं लागेपछि ….

काठमाडौं । राप्रपाको अधिवेशनलाई शुभकामना दिन पुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रम प्रचण्डले आफूलाई राप्रपासँग मिलौ मिलौं लागेको बताए । उनले भने, ‘विचार फरक भएपनि मलाई मिलौं मिलौं लागेको छ, सहकार्य गरौं, गरौं लागेको छ, धेरै नटाढिनु होला ।’ कमल थापाले पनि भनिहाले, “तपाईंले धेरै चमत्कार गर्नुभएको छ, अब तपाई र हाम्रो विचार मिलाएर नयाँ चमत्कार गरौं ।’
साम, दाम, दण्ड, भेद जे गरेर भएपनि शक्तिमा रहन चाहने प्रचण्ड प्रवृत्तिका अगाडि विचार, सिद्धान्त र परिवर्तनमा मुद्दाहरुले कुनै अर्थ रहँदैनन् । आफ्नो गिर्दो छवि, जनसम्बन्ध र जनविश्वासबाट कट्दै गएका प्रचण्ड र कमल थापा कुनै दिन एउटै पार्टीमा रहन पुगे भने पनि जनताले आश्चर्य मान्ने छैनन् । निहित महत्वकांक्षा पूरा गर्न वर्गीय र राष्ट्रिय रुपमा वैदेशिक प्रतिक्रियावादसँग आत्मसमर्पण गर्न पुगेका प्रचण्डलाई राप्रपाको एजेण्डा बोकेर हिड्न कुनै आइतबार लाग्ने छैन ।

संसदवादीहरुमा राप्रपा त्रास

प्रचण्डसहित एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवाले दिएको शुभकामना मन्तव्यमा राप्रपा त्रास प्रष्टै झल्किन्थ्यो । घोषित रुपमै हिन्दु राज्य र राजसंस्थाको वकालत गर्दै आएको राप्रपासँग असफल संसदवादी नेताहरु त्रस्त बन्दै गएका छन् । प्रचण्डलाई राप्रपासँग मिलौ मिलौं लाग्ने, ओली राप्रपालाई नया शक्ति देख्न चाहने, देउवा हिन्दु धर्मको एजेण्डामा राप्रपाको जनसमर्थन बढेको देख्ने जस्ता भनाइ र बुझाइले उनीहरुमा नेपाली राजनीतिमा रहेको आफ्नो बर्चस्व गुम्ने हो कि भन्ने डरमा रहेको देखिन्छ ।

संसदवादको विकल्प क्रान्तिकारी शक्ति

संसदवादीहरुको विकल्प संसदवादी शक्ति हुन सक्दैन । न त प्रतिगामी शक्ति राजसंस्था । अबको विकल्प भनेको क्रान्तिकारी राजनीतिक शक्ति हो । भौतिक शक्तिका हिसाबले केही कमजोर भएपनि राजनीतिक मुद्दाका हिसाबले क्रान्तिकारी शक्ति मात्र संसदवादी शक्तिहरुको बढ्दो असफलताको विकल्पको रुपमा अगाडि आउन जरुरी छ । अहिलेको सन्दर्भमा आमूल परिवर्तनको मुद्दा बोकेर क्रान्तिकारी राजनीतिक शक्तिको रुपमा अगाडि आएको पार्टी भनेको मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) नै हो । जसले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा सबैभन्दा स्पष्ट, वस्तुनिष्ठ र क्रान्तिकारी विचार राख्दै आएको छ । र, क्रमशः जनसमर्थन, जनविश्वास र जनआकर्षण पनि यस पार्टीप्रति बढ्दै गएको देखिन्छ ।