वर्गीय मुद्दालाई छोडेर जनताको मुक्ति हुन सक्दैन : बैद्य

वर्गीय मुद्दालाई छोडेर जनताको मुक्ति हुन सक्दैन : बैद्य

ललितपुर । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले अहिले वर्गीय मुद्दालाई छाड्ने अभियान नै चलाइएको छ भन्दै वर्गीय मुद्दालाई छोडेर जनताको मुक्ति हुन नसक्ने बताएका छन् । ललितपुरको कुपण्डोलमा आजबाट सुरु नेवाः राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष बैद्यले यस्तो बताएका हुन् । उनले जनताको मुक्तिका निम्ति वर्गीय मुद्दासँगै जातीय, क्षेत्रीय, लैङ्गिक मुद्दाहरुलाई जोडर लैजानुपर्ने आवश्यकता औल्याए ।

मोर्चाका संस्थापक अध्यक्ष समेत रहेका पवनमान श्रेष्ठको अध्यक्षतामा सुरु राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष बैद्यले वर्गीय मुद्दालाई केन्द्रमा राखेर नै नेवाः समुदायका नेताहरु पुष्पलाल श्रेष्ठ लगायतले नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गरेको चर्चा गर्दै नेपालको कम्युनिष्ट आन्दोलन तथा वर्गीय आन्दोलनलगायत समग्र जनताको मुक्ति आन्दोलनमा नेवाः समुदायले विशेष र ऐतिहासिक भूमिका खेलेको स्मरण गरे ।

आफू नेतृत्वको क्रान्तिकारी माओवादीले नेपालमा जातीय मुक्ति आन्दोलनका सम्बन्धमा सबभन्दा स्पष्ट र क्रान्तिकारी नीति लिएको उल्लेख गर्दै अध्यक्ष बैद्यले पछिल्लो समय संघीयताको नामै सुन्न नचाहने सामन्तवादी ब्रम्हाणवादी र संघीयताको नाममा देश टुक्र्याउन खोज्ने अन्धजातिवादीजस्ता दुई अतिका विरुद्ध जुधेर र बाट बँचाएर नेपाली धरातलको वस्तुगत आवश्यकताको आधारमा आत्मनिर्णयको अधिकारसहितको संघीयताको पक्षमा जातीय मुक्ति आन्दोलनलाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे ।

तत्कालीन जनयुद्ध लडेको पार्टीको नेतृत्वमा देखापरेको अवसरवादले वर्गीय र राष्ट्रिय रुपमा आत्मसमर्पण गरेपछि त्यसबाट सम्बन्ध–विच्छेद गरेर ती मुद्दाहरुलाई इमान्दारपूर्वक लिएर अगाडि बढिरहेको चर्चा गर्दै अध्यक्ष बैद्यले सामन्तवादी तथा ब्रम्हाणवादी र विस्तारवादी तथा साम्राज्यवादीहरुले जातीय मुक्ति आन्दोलनमा अतिवादको बिजारोपण गरिरहेकोले त्यसका विरुद्ध जुधेर उत्पीडित जातिहरुको पहिचानमा आधारित संघीयताको मुद्दालाई निर्णायक रुपमा अगाडि बढाउने मोर्चाको राष्ट्रिय भेलाले नीति र नेतृत्व चयन गरोस् भन्दै शुभकामना दिए ।

दुई दिनसम्म चल्ने राष्ट्रिय भेलाको उद्घाटन सत्रमा पार्टीका कार्यालय सदस्य रामसिंह श्रीस, पार्टीका सचिवालय सदस्य तथा नेवा राज्य संयोजक दिनेश शर्मा‘सागर’, विभिन्न जबस–मोर्चाका नेताहरुले मोर्चाको भेला सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन मोर्चाका महासचिव सुरेश श्रेष्ठले गरेका थिए ।