जनयुद्धका उपलब्धिको संरक्षणका लागि वर्गसंघर्षको अपरिहार्यता

जनयुद्धका उपलब्धिको संरक्षणका लागि वर्गसंघर्षको अपरिहार्यता

“वर्तमान स्थितिलाई फेर्नका लागि मात्र होइन, आफूलाई फेर्न र राजनीतिक सत्ताको भार बहन गर्न सक्ने आफूलाई बनाउनका निम्ति पनि तपाइहरुले पन्ध्र, बीस र पचास वर्षको गृहयुद्ध र अन्तर्राष्ट्रिय द्वन्द्वहरुबाट गुज्रनु पर्नेछ ।” – कार्ल माक्र्स, माक्र्स÷एंगेल्स चुनिएका रचनाहरु भाग ८, पृष्ठ ५०८

बैज्ञानिक साम्यवादका प्रवर्तक कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सले सर्वहारावर्गले आफ्नो हातमा राज्यसत्ता प्राप्त गर्न लामो गृहयुद्ध या अन्तराष्ट्रिय युद्धको आवश्यकतामाथि जोड दिनु भएको छ । महान गुरुहरुका यी भनाइसँग नजिक रहेर नेपाली कम्युनिष्ट आन्दोलन दशकौं लामो दक्षिणपन्थी संशोधनवादको भासमा फसिरहेको थियो । संसदवाद, सुधारवाद, सारसङ्ग्रहवादलगायत सबैखाले अवसरवादबाट कम्युनिस्ट आन्दोलन ‘अजियासको तवेला’को फोहरले पूरै काम नलाग्ने भइसकेको थियो । यस्तो बेला कम्युनिष्ट आन्दोलनमा ‘अजियासको तवेला’ सफा गर्न ‘क्रान्तिकारी हर्कुलस’को आवश्यकता  थियो । नेकपा (माओवादी)ले २०५२ फागुन १ गते महान् जनयुद्धको थालनी गरेको थियो । जसको स्पष्ट लक्ष्य थियो– विद्यमान पुरानो प्रतिक्रियावादी राज्यसत्ताकोे समूल अन्त्य गरेर नयाँ जनवादी राज्यसत्ता स्थापना गर्नु ।’ अझ उसले राज्यसत्ताको चरित्रबारे व्याख्या गर्दै भनेको थियो– ‘राज्यसत्ताबाहेक अरु सबै भ्रम हो’ र ‘राज्यसत्ता बन्दुकको नालबाट जन्मन्छ ।’ यही माओवादी प्रस्थापनालाई दह्रोगरी आत्मसात् गरेर सञ्चालन गरिएको जनयुद्धले सामन्तवादी, साम्राज्यवादी लुटेराहरुको स्वर्गमाथि धावा बोल्यो । कम्युनिष्ट आन्दोलनमा हावी रहेको संशोधनवादी र सुधारवादी चक्रव्युहलाई तोडेर साँच्चिकै संसारलाई चकित तुल्यायो । माओवादीको यस अभियानले संसारका भोका नाङ्गा जनताको अनुहारमा खुसी र उत्साह ल्याइदियो र जनयुद्ध वास्तवमा जनताको न्यायपूर्ण युद्ध बन्न पुग्यो ।

महान् जनयुद्ध नेपाली समाजको आमूल परिवर्तन गर्ने युगान्तकारी अभियान थियो । राज्यसत्ता भन्नाले पुरानो सेना, प्रहरी, अदालत, कर्मचारीतन्त्रलगायत सबै संयन्त्रमा आमूल रुपान्तरण गर्ने अभियान पनि थियो जनयुद्ध । जुन दसवर्षको जनयुद्धले पुरानो सत्ताको स्थानीय संरचनालाई सम्पूर्ण रुपले गाउँबाट निस्तेज पा¥यो । जनयुद्धकै बलमा माओवादीले पुरानो स्थानीय सत्ता आफ्नो हातमा लिँदै केन्द्रीय सत्ता स्थापनाको निम्ति समानान्तर सरकार निर्माण गरेर देखाइदियो । जनयुद्धले साम्राज्यवादी, विस्तारवादी शासकहरुलाई चोटिलो प्रहार मात्र दिएन, त्यसले विश्वभरका भाइचारा र श्रमजीविहरुलाई क्रान्तिकारी उत्साह र आशा प्रदान ग¥यो । छोटो समयमै जनयुद्धले हासिल गरेको गुणात्मक छलाङ्गले नेपाल विश्वक्रान्तिको आधारकिल्ला बन्न पुग्यो र ‘नयाँ विश्व सम्भव छ’ भन्ने विश्वास पैदा गरेको थियो संसारभरि त्यसले । त्यही महान् जनयुद्धमा दसहजार बढी सहिद भए । ती सहिद हाम्रा आदर्श हुन्, हाम्रा धरोहर र मार्गदर्शक हुन्, जसले हामीलाई क्रान्तिको बाटोमा अघि बढ्न प्रेरित गरिरहन्छ । सहिद हाम्रा क्रान्तिका मुिक्तदाता हुन्, जसले यत्रो परिवर्तन ल्याइदियो, अझ ठूलो परिवर्तन आवश्यक छ मुलुकमा ।

आज महान् जनयुद्धले २१ वर्ष पुरा गरेर २२ वर्षमा प्रवेश गरेको छ । आजको परिस्थिति भिन्न हुन पुगेको, महान दशवर्षे जनयुद्ध गरेर आएको नेतृत्वको मुख्य शक्ति वैचारिक विचलनमा मात्र परेन, तत्कालिन अवस्थामा दशवर्षे जनयुद्धको मुख्य नेतृत्व गरेका प्रचण्डको प्रतिक्रियावादी सत्ताको मुख्य नेतृत्व गर्न पुगेको छ भने दोस्रो नेतृत्व गरेका बाबुराम भट्टराईको समुहले त माक्र्सवाद–लेनिनवाद–माओवादलाई समेत परित्याग गरि बुर्जुवा संसदीवादी लाइनमा चुर्लुम्म डुब्न पुगेको छ ।

अर्कोतिर तत्कालिन एकीकृत नेकपा (माओवादी) एक नवसंशोधनवादी हिस्सासित सम्बन्ध विच्छेद गरि २०६९ असार २–५ मा बौद्ध भेलाद्वारा पुनगठित गरिएको नेपाल कम्युनिष्ट पार्टी–माओवादी दुई दुई पटकसम्म फूट र विभाजनको सामना गर्र्दै र अन्य क्रान्तिकारी कम्युनिष्टहरुलाई समेत एकीकृत गर्दै नेकपा (क्रान्तिकारी माओवादी)मा पुनः पुनगठित भएर महान दशवर्षे जनयुद्ध मार्फत् सम्पन्न गरिने भनेर सशस्त्र जनयुद्ध थालिएकोमा माथि उल्लेख गरेको पार्टीको नेतृत्वले धोका दिएर क्रान्तिलाई बीच बाटोमै झण्डा फ्याकेर प्रतिक्रियावादी कित्तामा सामेल हुन पुगेपछि क्रान्तिका बाँकी कार्यमा (पुरा गर्ने महान उद्देश्य तथा कठिन कार्यका साथ सशस्त्र जनविद्रोहको माध्यमबाट नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने प्रतिबद्धता र कठिबद्धताका साथ अगाडि बढिरहेको अवस्था छ । अर्कोतिर यसबाटै फुटेर संगठित हुन पुगेको विप्लवले नेतृत्व गरेको नेकपा (माओवादी)ले पनि ‘एकीकृत जनक्रान्ति’मार्फत् नयाँ जनवादी क्रान्ति सम्पन्न गरिनेछ भन्दै आठौं राष्ट्रिय महाधिवेशनमा होमिएको छ । उक्त महाधिवेशनले के निर्णय गर्दछ, त्यसलाई पर्खनै पर्ने हुन्छ ।

जे होस् मोहन वैद्यले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेकपा (माओवादी)ले भने महान नेपाली नयाँ जनवादी क्रान्ति पुरा गरि छाड्ने प्रतिबद्धताबाट पछि हटेका छैनन् ।

दशवर्षे जनयुद्धको नेतृत्व गरेको मुख्य शक्तिले गद्दारी गरेर क्रान्तिलाई समेत धोका दिएकाले अहिले नेतृत्वप्रति गंभीर प्रकारको आशंका पैदा भइरहेको अवस्था छ । तर पनि वर्तमान माओवादी आन्दोलनको क्रान्तिकारी धाराको नेतृत्व गरिरहेका क्रान्तिकारी नेतृत्वले आम कार्यकर्ता र जनतालाई क्रान्ति सम्पन्न गर्ने विश्वास दिलाउन जीवन मरणको संघर्ष गर्न र व्यवहारमा पुष्टि गर्न गर्ने बाहेक अर्को विकल्प छैन र त्यो प्रयास पनि व्यवहार त भइनैरहेको छ ।

महान दशवर्षे जनयुद्ध थालनी गर्न किन आवश्यक थियो ? त्यस युद्धलाई पुरा गर्ने तत्कालिन नेकपा (माओवादी) ले के कस्ता प्रतिबद्धताहरु गरेको थियो त ? भन्ने बारेमा यो छोटो सबै कुरा उल्लेख गर्न सम्भव छैन । यहाँ छोटकरीमा चर्चा गर्ने प्रयास गरिएको छ ।

किन आवश्यक थियो जनयुद्ध ?

नेपाली कम्युनिष्ट आन्दोलनमा त्यही ‘अजियासको तवेला’ सफा गर्न तत्कालिन नेकपा (माओवादी)ले क्रान्तिकारी हर्कुलसको भूमिका पूरा गर्न महान् जनयुद्धको तयारीमा जाने प्रतिबद्धता व्यक्त ग¥यो, जुन २०५१ फागुनतिर माओवादीको पहिलो राष्ट्रिय सम्मेलनले जनयुद्धमा जाने निर्णय ग¥यो । त्यसपछि ०५२ असारमा बसेको माओवादी केन्द्रीय समितिल बैठकले महान् जनयुद्धका लागि ‘चार आधार र चार तयारी’ जस्ता काममा लाग्न पार्टी पङ्क्तिलाई निर्देशन पनि ग¥यो । यसैक्रममा माओवादी जनयुद्ध सञ्चालन गर्न किन आवश्यक छ ? यसको लक्ष्य के हुने ? माओवादी किन बन्दुक उठाउँदैछ ? किन जनवादी क्रान्ति आवश्यक छ ? यी लगायत तमाम सवालहरुको जबाफ पनि नेकपा माओवादीले ‘जनयुद्धको ऐतिहासिक पहलका लागि सैद्धान्तिक प्रतिबद्धताहरु’ नाम दिएर ७ बुँदे प्रतिबद्धताहरु व्यक्त गरेको थियो । त्यसको ८ महिनापछि माओवादीले महान् जनयुद्धको सुरुआत ग¥यो, जसले सबैखाले संशोधनवादी, प्रतिक्रियावादीहरुको स्वर्गमा ठूलो भुइँचालो  ल्याइदियो । अनि क्रान्तिकारी जनता, विश्वका भाइचाराहरुमा आशा र उत्साहको सञ्चार पैदा ग¥यो । जनयुद्ध शुरु गर्दा के थिए माओवादीका सैद्धान्तिक प्रतिबद्धताहरु ? जनयुद्धलाई आंशिक सुधार र सम्झौतामा फस्न दिइने छैन भन्ने तत्कालिन नेकपा (माओवादी) को नेतृत्वले निम्न प्रतिबद्धताहरु जाहेर गरेको थियो ।

क) हाम्रो योजना क्रान्तिकारी हिंसासम्बन्धी माक्र्सवाद–लेनिनवाद–माओवादका शिक्षामा आधारित हुनेछ । हाम्रो देशको विशिष्टताअनुसार गाउँबाट सहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धका रुपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एकपटक पुनः माओद्वारा विकास गरिएको सर्वहारावर्गको सार्वभौम र अपराजेय माक्र्सवादी सैन्य सिद्धान्तका रुपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ ।
ख) जनयुद्ध थालनीको हाम्रो यो योजना राज्यसत्ताबाहेक अरु सबै भ्रम हो भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निमित्त राजनीतिक सत्ता कब्जा गर्नु नै सशस्त्र सङ्घर्षको प्रमुख उद्देश्य हो भन्ने कुरा दृढ रही यस प्रश्नमा देखापर्ने अर्थवाद, सुधारवाद, अराजकतावादलगायतका सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर सङ्घर्ष गर्न पार्टी आफ्नो प्रतिबद्धता जाहेर गर्दछ ।
ग) हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहाराको अधिनायकत्वअन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा सांस्कृतिक क्रान्तिहरु चलाउँदै मानवजातिकै स्वर्णीम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ । एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताबिना सशस्त्र सङ्घर्षमको थालनी गर्नु सर्वहारावर्ग एवम् आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौँ । यो सङ्घर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दबाब दिई सामान्य सबै प्रकारका सम्झौतामा टुङ्ग्याउने साधन बन्न कदापि दिइनेछैन । यसरी हाम्रो सशस्त्र सङ्घर्ष सबै प्रकारका निम्न पुँजीवादी, सङ्कीर्ण, राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवम् जातिवादी विभ्रमहरुबाट सम्पूर्ण रुपले मुक्त रहनेछ ।
घ) हाम्रो योजना सर्वहारा अन्तर्राष्ट्रवादको महान् भावनामा आधारित रहेनछ । नेपाली क्रान्ति, सर्वहारा विश्वक्रान्तिको अभिन्न अङ्ग हो र यसले विश्वक्रान्तिको सेवा गर्नेछ । हाम्रो पार्टी यस सन्दर्भमा माक्र्सवाद–लेनिनवाद–माओवादको निर्देशनमा विश्वक्रान्ति अघि बढाउन तथा नयाँ अन्तराष्ट्रिय निर्माणको दिशामा अघि बढिरहेको क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन रिम (जसको हाम्रो पार्टी पनि सदस्य छ) को विकासमा अझ बढी सहयोग पु¥याउने कुरालाई गम्भीरतापूर्वक लिन्छ ।
ङ) हाम्रो योजना नयाँ जनवादी क्रान्तिकालमा सर्वहारावर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको सैद्धान्तिक मान्यतामा आधारित रहनेछ । अन्तर्विरोधको नियमको सार्वभौमिकताअनुसार पार्टी भित्री सङ्घर्षलाई द्वन्द्वात्मक ढङ्गले ग्रहण र त्यसलाई सञ्चालन गर्नु पार्टीलाई त्यसरी सजीव राखी हर क्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु पूरा हृदयले जनताको सेवा गर्ने, जनतासँग घनिष्ट सम्बन्ध राख्ने जनदिशाको सिद्धान्त अविचल रहने कुरामा पार्टी कटिबद्ध छ ।
च) हाम्रो यो योजना सर्वहारावर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यताअनुसार बन्नेछ । पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवादविरोधी सबै तह तप्काका जनसमुदायलाई गोलबन्द गर्दै सशस्त्र सङ्घर्ष सञ्चालन गरिनेछ । कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र सङ्घर्ष श्रमजीवि समुदाय मुख्यत गरिब किसानहरुमाथि भर परेर चल्नेछ । कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवम् प्रतिक्रियावादी गुटहरुको दबाब, धम्की र प्रलोभनमा पर्नेछैन ।
छ) युद्धमा आफ्नै नियमअनुसार त्यो सरल रेखामा होइन जटिल बक्र रेखामा अघि बढ्नेछ । लेनिनको ‘क्रान्ति आफूले आफ्नो विकासक्रममा सधैंँ नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ’ भन्ने कुराको महत्वलाई आत्मसात् गरेर जानु जरुरी छ । जीत र हार, उपलब्धि र क्षतिका चक्रहरु पार गरेर नै जनयुद्ध विजयी बन्नेछ । खराब कुरालाई असल कुरामा रुपान्तरण गर्ने अन्तर्विरोधको नियमलाई ठीक ढङ्गले पकडेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्नेछौं ।

जनयुद्धका उपलब्धिहरु किन संरक्षण गर्न सकिएन ?

महान् दश वर्षे जनयुद्धको षक्रिया अन्तरगत अकल्पनीय उपलब्धिहरु हासिल गरिएका थिए । २०५२ साल फाल्गुन १ गतेबाट तत्कालिन नेकपा (माओवादी) को नेतृत्वमा सशस्त्र जनयुद्धको शुरुवात गरियो । छापामार दस्ता, जनमिलिसिया हुँदै जनमुक्ति सेना, नेपालको सातौं डिभिजनसम्मको विकास गरियो ।
भीषण वर्गसंघर्षकै प्रक्रियाअन्तरगत स्थानीय तहमा आधार इलाकाहरु निर्माण गरिए । जनसत्ता, जनअदालत र जनकम्युनहरु संचालनमा ल्याइयो । तत्कालिन प्रतिक्रिया सत्ताको विकल्पमा जनसरकारहरु निर्माण गरेर संचालनमा ल्याइयो ।
१३ हजारभन्दा बढि नेपाली आमाका असल तथा आँटी छोराछोरीहरुले साहदात प्राप्त गरेर अमर शहिदको कोटीमा लामबद्ध हुन् पुगे । हजारौंले महान् दश वर्षे जनयुद्धको प्रक्रियाअन्तर्गत क्रान्तिलाई विजयमा पु¥याउने अठोट र प्रतिबद्धताका अपाङ र घाइते हुन पुगे । हजारौंको संख्यामा प्रतिक्रियावादी सत्ताले ज्यान वेपत्ता पा¥यो, जो आजसम्म सार्वजनिक गरिएको छैन । मुलुकको करीब ८० प्रतिसत भूभाग माओवादी प्रभावमा पर्न पुग्यो । यी सबै महान दशवर्षे जनयुद्धका महान उपलब्धि र क्रान्तिका सम्पत्ति हुन् ।

महान् दशवर्षे जनयुद्धका यी उपलब्धिको संरक्षण र क्रान्तिलाई किन पुुरा गर्न सकिएन ?

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)द्वारा २०५२ साल फाल्गुन १ गते जुन महान् जनयुद्धको ऐतिहासिक पहल गरियो र दश वर्षको अवधिमा सो जनयुद्ध रणनीतिक रक्षा र सन्तुलनको बीचबाट रणनीतिक प्रत्याक्रमणको प्रक्रियामा अगाडि बढ्यो । यसै बीचमा २०५६, २ असोज–कार्तिकमा सम्पन्न चुनवाङ बैठकले सशस्त्र जनयुद्धको कार्यदिशा र कार्यक्रम स्थगित गरी ‘लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा’ पारित गरेर २०६२ मंसिर ७ गते तत्कालिन सात संसदवादी राजनीतिक दलहरुसित दिल्लीमा १२ बुँदे समझदारी गरि शान्ति प्रक्रियामा प्रवेश ग¥यो ।
२०५७ सालमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले संविधानसभाको कार्यदिशा पारित गरेको थियो । त्यसको कार्यान्वयनमा जाने सिलसिलामा माओवादीले २०६४ चैत्र २८ गते सम्पन्न पहिलो ऐतिहासिक संविधान सभाको निर्वाचनमा भाग लियो । उक्त निर्वाचनबाट माओवादी संविधानमा सबैभन्दा ठूलो दलको रुपमा उपस्थित हुन सफल भयो । सरकारको नेतृत्व गर्न पनि पुग्यो । र, २०६५ मंसिरमा सम्पन्न माओवादीको खरिपाटी राष्ट्रिय भेलाले “सामन्तवाद तथा साम्राज्यवादविरोधी सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक संविधान बनाउन संविधानसभाबाट पहल गर्ने, यदि प्रतिक्रियावादी शक्तिबाट षड्यन्त्र भएमा जनविद्रोहमार्फत् महान् नेपाली क्रान्ति सम्पन्न गर्ने भन्ने नीति पारित गरियो । तर मुख्य नेतृत्वले पार्टीका यी महत्वपूर्ण निर्णयहरुलाई उल्ट्याउँदै चुनवाङ बैठकबाट पारित गरिएको लोकतान्त्रिक गणतन्त्रको कार्यदिशालाई नै रणनीतिमा बदलेर अगाडि बढेपछिबाट महान जनयुद्धका उपलब्धिहरु गुमाउने क्रम शुरु भयो ।
महान दशवर्षे जनयुद्धले हारेको होइन, जनयुद्धको मुख्य नेतृत्व गरेका प्रचण्ड–बाबुरामले विचारमा हारेपछि जनयुद्धले सेटब्याक खान बाध्य भएको हो । प्रचण्ड–बाबुरामले साम्राज्यवादी तथा विस्तारवादीहरुका सामु लम्पसार परेर आत्मसमर्पण गर्न पुगेपछि महान् दशवर्षे जनयुद्धका उपलब्धिहरु धरापमा पर्न पुगेका हुन् । उनीहरुले वैचारिक तथा वर्गीय रुपमा समेत आत्मसमर्पण गर्न पुगेपछि उनीहरुकै हातबाट महान् जनयुद्धका प्रक्रियाअन्तरगत प्राप्त गरिएको समग्र युद्धकै उपलब्धिका रुपमा रहेका आधार इलाकाहरु, जनसत्ता, जनअदालत, जनसरकारहरु खारेज गर्ने काम भयो । देशी विदेशी प्रतिक्रियावादीहरु मूलतः भारतीय विस्तारवादको निर्देशन र योजनामा प्रचण्ड बाबुरामकै हातबाट जनमुक्ति सेना नेपालको विघटन गरियो । हतियार प्रतिक्रियावादी सरकारलाई बुझाइयो र पहिलो संविधान सभालाई रातारात विघटन गरेर भारतीय विस्तारवादको ग्राण्ड डिजाइन र निर्देशनमा दोस्रो संविधानसभाको कथित निर्वाचन सम्पन्न गराइएको नाटक गरेर प्रतिगामी संविधान बनाउने र घोषणा गराउने कार्यमा प्रचण्ड बाबुरामले मुख्य भूमिका खेले ।

वर्गसंघर्षको अपरिहार्यता

जनयुद्ध भीषण वर्गसंघर्ष थियो । त्यसैको बलमा उपलब्धिहरु प्राप्त भएका थिए । ती उपलब्धिहरु भौतिक रुपमा गुमाउन पुगे पनि जनयुद्धको त्यो वैचारिक विरासत हामीसितै छ । विचारले नै क्रान्तिलाई अगाडि बढाउने हो । जनयुद्धका उपलब्धिहरुको संरक्षण गर्न र थप उपलब्धिहरु प्राप्त गर्नका निम्ति हामी माओवादी क्रान्तिकारीहरु पुनः भीषण वर्गसंघर्षमा जानुपर्ने हुन्छ । हामीले सशस्त्र जनविद्रोहको वर्तमान नेपाली क्रान्तिको कार्यदिशा ठोस गरेका छौं । यद्यपी यो विद्रोहले दीर्घकालिन जनयुद्धको बाटो अपनाउनु पर्ने पनि हुन सक्छ । किनकि माओले भन्नुभएको छ, “छापामार युद्धलाई कहिल्यै पनि बिर्सनु हुँदैन ।” यो कुरा साँचो हो, मानव समाजमा वर्ग रहेसम्म वर्ग संघर्ष अनिवार्य छ । नेपाली समाजलाई क्रान्तिकारी ढंगले बदल्नका लागि एक पटक भीषण वर्गसंघर्षमा अनिवार्य रुपमा जानु पर्नेछ । यो कुरा पनि साँचो हो कि पुनः गरिने जनयुद्ध पहिले गरिएको जनयुद्ध भन्दा दशौं गुणा भीषण हुने र नयाँ तरिकाको हुने कुरा पनि निश्चित छ ।
अहिलेको क्रान्तिप्रतिको निरासा, अन्यौलता, अकर्मन्यता अस्थायी चीज मात्रै हो । क्रान्तिको दर्बियानमा यस्तो हुन्छ । सन् १९०७ को क्रान्तिको असफलतापछि सोभियत रुसमा पनि यस्तै भएको थियो । पछि सन् १९१२ को प्राग सम्मेलनबाट सोभियत कम्युनिष्ट पार्टी बोल्सेविकले लेनिनको नेतृत्वमा ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै विचार, सिद्धान्त, संगठन र कार्यदिशालाई पुनर्संगठित गरेर अगाडि बढेर मात्र सन् १९१७ मा महान रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न गरेका थिए ।

चीनमा पनि बक्ररेखा पार गरेर मात्र क्रान्ति सम्पन्न गरिएको थियो । अक्टुबर १९३४ देखि अक्टुबर १९३५ सम्म पुरा एक वर्ष चिनियाँ लालसेनाले १२५०० किलोमिटर लामो अभियान (लङमार्च) पार गर्नु परेको थियो । ८० हजार लालसेना लामबद्ध हिडेको लालसेनाको फौज एकवर्षपछि यनान प्रान्तमा पुग्दा जम्मा ३००० लालसेना मात्र बचेका थिए । त्यसबखत निरासा छाउनु स्वाभाविक थियो । तर क. माओले ‘लामो अभियान’ नाम दिएको ‘निकै नै टाढा पुग्नु छ, यी राता सिपाहीहरुले गाह्रो र साह्रो मान्दैनन् यी आँटी छोराछोरीले’ भन्ने कविता लेखेर उत्साहित पार्नु भएको थियो, जो यस लेखको शुरुमा पनि उल्लेख गरिएको छ ।

हामी क्रान्तिकारी माओवादीहरुले पनि अहिलेको परिस्थितिबाट निरास र पलायन भएर होइन, रुस र चीनको क्रान्तिको इतिहासको बक्ररेखाबाट समेत शिक्षा ग्रहण गरेर अगाडि बढ्न जरुरी छ । नेपाली क्रान्ति अवश्यम्भावी छ । अन्तमा, जाँदाजाँदै कमरेड माओको गौरवपूर्ण र क्रान्तिकारीहरुलाई साहस र हौसला भर्ने गरि लेखिएको कविता पस्केर यो लेखको बिट मार्दछु ।

लामो अभियान (कविता)

निकै नै टाढा पुग्नु छ राता सिपाहीहरुले
गाह्रो र साह्रो मान्दैनन् आँटी छोराछोरीले ।

डाँडा र काँडा पर्वत माला पानीका जलौरा
विरका निम्ति हिमाल बन्छन् माटाका फुरौला ।

हजार नही हजार पहाड अगाडि तेर्सियुन
लडाई खेल्न मान्छेका ति केही होइनन् ।

तातुको साङ्लो फलामे पुल जति नै तातो होस्
यि राताराता मान्छेले छुदा त्यसको उठ्छ होस् ।

मिङशानमाथि फैलिएको त्यो हिउमा कुल्चिदै
पौरेखीहरु अगाडि बढ्छन् आनन्द छर्कदै ।

बेरोकटोक अगाडि बढ्छन् यि राता मानिस
लक्ष्यमा आफ्नो पुगेरै छोड्छन् यि राता मानिस ।
– माओ त्सेतुङ
चुनई, यनान, अक्टुबर, १९३५