चेल्सीले गुमायो मौका, बर्नलीसँग बराबरीमा रोकियो

चेल्सीले गुमायो मौका, बर्नलीसँग बराबरीमा रोकियो

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको चेल्सीलाई बर्नलीले १–१ गोलको बराबरीमा रोकेको छ ।

बर्नलेको मैदानमा भएको खेलमा चेल्सीका पेड्रोले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । तर घरेलु टोलीका ब्राडीले फ्रिकिक मार्फत उत्कृष्ठ गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

उत्कृष्ठ खेल प्रदर्शन गरेको चेल्सीले खेलमा पाएका केही मौकालाई सदुपयोग गर्न नसक्दा शीर्ष स्थानमा अंकदुरी फराकिलो बनाउने मौका गुमाएको छ ।

आइतबारराति नै भएको अर्को खेलमा लेस्टर सिटीलाई स्वान्सीले २–० ले हराएको छ । खेलमा स्वान्सीलाई विजयी गराउन अल्फी मसन र मार्टिन ओल्सनले एक एक गोल गरे ।

आइतबार रातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा २५ खेलबाट ६० अंक जोडेको चेल्सी शीर्ष स्थानमा यथावत छ ।

समान खेलबाट ५०/५० अंक जोडेका टोटनह्याम हट्सपर र आर्सनल क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् भने ४९ अंक जोडेको लिरभपुल चौथो स्थानमा छ ।

एक खेल कम खेलेको म्यानचेस्टर सिटी पनि ४९ अंकको साथ पाँचौ स्थानमा रहेको छ । सिटीले सोमबार राति बर्नमाउथसँगको खेलमा जित हात पारेमा दोस्रो स्थानमा उक्लिनेछ ।