‘क्रान्तिका लागि राजनीतिक र फौजी कार्यदिशामा समृद्धि आवश्यक’ : वैद्य

‘क्रान्तिका लागि राजनीतिक र फौजी कार्यदिशामा समृद्धि आवश्यक’ : वैद्य

ललितपुर । ‘२२ औं जनयुद्ध दिवस र अक्टोबर क्रान्तिको शतबार्षिकी’को अवसरमा आयोजना गरिएको प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले नेपालमा नयाँ जनवादी क्रान्तिको पूर्णताका लागि पार्टीको राजनीतिक तथा फौजी कार्यदिशालाई समृद्ध गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन् । सशस्त्र जनविद्रोहको कार्यदिशाबाट नै नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सकिने भएपनि गाउँ र सहरलाई जोड्ने, राष्ट्र र अन्तर्राष्ट्रलाई जोड्ने, विज्ञान र कलालाई सन्तुलन मिलाउन क्रान्तिकारीहरु कुशल हुनुपर्नेमा पनि अध्यक्ष किरणले जोड दिए । अहिले क्रान्तिका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल भएपनि क्रान्तिकारीहरुको आत्मगत अवस्था कमजोर रहेको उल्लेख गर्दै क्रान्तिकारीहरुको आत्मगत अवस्थालाई सदृढ तुल्याउन क्रान्तिकारीहरुले मुख्य जोड दिनुपर्ने अध्यक्ष किरणले बताए ।

क्रान्तिका लागि नीति र लाइनमाथिको प्रष्टता, रणनीतिमा दृढ र कार्यनीतिमा लचकता प्रदर्शन गर्न सक्ने उत्तराधिकारीहरुको आवश्यकतामाथि जोड दिंदै अध्यक्ष किरणले पार्टी, संयुक्त मोर्चा र सेना क्रान्तिका तीन जादुगरी हतियार निर्माणमा मुख्य जोड दिए । नेपालमा संचालित दशवर्षे जनयुद्ध र अक्टोबर क्रान्तिको विशेष चर्चा गर्दै अध्यक्ष किरणले जनयुद्धको क्रममा ‘प्रचण्डपथ’ भनेर गल्ती गरेको स्वीकारे । र, भने, “हामीले दशवर्षे जनयुद्ध, रुसको १९०५ को फरवरी क्रान्ति र १९१७ को अक्टोबर क्रान्तिबाट महत्वपूर्ण शिक्षा लिएर अगाडि बढ्नु पर्दछ ।”

“सही रणनीति र कार्यनीतिको विन्यास गर्न सकियो भने हामी राम्रोसँग अगाडि बढ्न सक्छौं ।” अध्यक्ष किरणले भने, “विचारलाई नतिखारीकन अगाडि बढ्न सकिन्न ।”

पार्टीका सचिवालय सदस्य तथा नेवा राज्य इन्चार्ज दिनेश शर्मा‘सागर’को अध्यक्षतामा संचालित उक्त प्रवचन कार्यक्रममा बोल्दै पार्टीका कार्यालय सदस्य परि थापाले विद्रोह भनेको कला भएको चर्चा गर्दै क्रान्तिकारीले कलाको प्रयोग गर्न सिपालु बन्नुपर्नेमा जोड दिए । चीन र रुसमा भएका क्रान्तिको चर्चा गर्दै थापाले नेपालका क्रान्तिकारीहरुले ती क्रान्तिबाट महत्वपूर्ण शिक्षा लिनुपर्ने आवश्यकता औल्याए ।
पार्टीका सचिवालय सदस्य पवनमान श्रेष्ठले संचालन गरेको उक्त कार्यक्रममा पार्टीका सल्लाहकार सचिव दीर्घराज पाण्डेलगायतले विचार राखेका थिए ।