“चिनियाँ क्रान्ति विश्वक्रान्तिको अङ्ग हो” भन्ने सही स्थापना सन् १९२४–२७ को चीनको पहिलो महान् क्रान्तिको १ अवधिमा नै अघि सारिएको थियो । यो कुरा चिनियाँ कम्युनिस्टहरूले अघि सारेका थिए र त्यसबेला साम्राज्यवाद तथा सामन्तविरोधी सङ्घर्षमा लागेका सबैले यसको समर्थन गरेका थिए । तर त्यसो हुँदाहुँदै पनि त्यस कुराको वास्तविक महत्वबारे त्यसताका पूर्ण व्याख्या नगरिएको हुनाले मानिसहरूले यसलाई बोक्रे रूपमा मात्र बुझेका थिए ।

यो ‘विश्वक्रान्ति’ ले अब पुरानो विश्वक्रान्तिलाई जनाउँदैन, किनभने पुरानो पुँजीवादी विश्वक्रान्तिको निकै अघि मिति पुगिसकेको छ; यसले त नयाँ विश्वक्रान्ति अर्थात् समाजवादी विश्वक्रान्तिलाई जनाउँछ । त्यसैगरी ‘अङ्ग’ हुनुको अर्थ पुरानो पुँजीवादी क्रान्तिको अङ्ग नभई नयाँ समाजवादी क्रान्तिको अङ्ग हुनु हो । यो चीन र विश्वकै इतिहासमा कतै उदाहरण नपाइने एउटा अजङ्गको परिवर्तन हो ।
चिनियाँ कम्युनिस्टहरूले अघि सारेको यो स्थापना स्टालिनको सिद्धान्तमा आधारित छ ।

१९१८ तिर नै अक्टोबर क्रान्तिको पहिलो जन्मजयन्ती मनाउँदा स्टालिनले एउटा लेखमा भन्नुभएको थियो ः अक्टोबर क्रान्तिको महान् विश्वव्यापी महत्व मुख्यतया यी कुराहरूमा रहेको छ ः

१. यसले राष्ट्रिय समस्याको परिधिलाई फराकिलो पारिदिएको छ, युरोपको राष्ट्रिय उत्पीडनको विरोध गर्ने खास मुद्दालाई, थिचोमिचोमा परेका सारा जनता, उपनिवेशहरू र अर्धउपनिवेशहरूलाई साम्राज्यवादबाट मुक्त गर्ने आमप्रश्नमा परिणत गरिदिएको छ ।

२. यसले तिनीहरूको मुक्तिको सम्भावनालाई फराकिलो पारिदिएको छ र त्यसतर्फ लम्कनका निम्ति सही बाटाहरू खोलिदिएको छ । यसबाट पश्चिम र पूर्वका उत्पीडित जनताहरूको मुक्तिको उद्देश्यलाई यसले धेरै नै सुगम तुल्याएको छ र तिनलाई साम्राज्यवादविरोधी विजयी सङ्घर्षको साझा मूलप्रवाहमा मिसाइदिएको छ ।

३. यसरी यो समाजवादी पश्चिम र दास तुल्याइएको पूर्वलाई जोड्ने एउटा साँघु भएको छ । यसले पश्चिमका सर्वहाराहरूदेखि लिएर, रुसी क्रान्ति हुँदै पूर्वका उत्पीडित जनतासम्म फैलिएको साम्राज्यवाद विरोधी क्रान्तिकारीहरूको यसले एउटा नयाँ मोर्चाको निर्माण गरेको छ ।

यो लेख लेख्नुभएदेखि यता स्टालिनले उपनिवेश र अर्धउपनिवेशहरूका क्रान्तिहरू पुरानो किसिमको नाता तोडेर समाजवादी क्रान्तिको अङ्ग भइसकेका छन् भन्ने सिद्धान्तको बारम्बार व्याख्या गर्नुभएको छ । ३० जुन १९२५ मा प्रकाशित एउटा लेखमा२ मा यस कुराको सबैभन्दा प्रस्ट र सबैभन्दा सूक्ष्म व्याख्या प्रस्तुत गरिएको छ । जुन लेखमा स्टालिनले युगोस्लावियाका राष्ट्रवादीहरूसँग वादविवाद चलाउनुभएको छ । ‘जातीय प्रश्नबारे फेरि एकपल्ट’ भन्ने लेख चाङ्चुङ्सद्वारा अनुदित ‘जातीय प्रश्नबारे स्तालिनको विचार’ भन्ने पुस्तकमा समावेश गरिएको छ । यसमा निम्नलिखित कुराहरू परेका छन् ः

सेमिखले स्टालिनले १९१२ को आखिरितिर लेखेको माक्र्सवाद र जातीय प्रश्न भन्ने पुस्तिकाको एक अंशतिर औँल्याएका छन् । त्यस पुस्तकमा “उदीयमान पुँजीवादको स्थितिमा हुने जातीय सङ्घर्ष पुँजीपति वर्गहरूको आपसी सङ्घर्ष हो” भनी लेखिएको छ । यसबाट सेमिखले वर्तमान ऐतिहासिक स्थितिमा जातीय आन्दोलनको सामाजिक महत्वबारे आफ्नो सिद्धान्त ठीक छ भन्ने कुरा देखाउन खोजेको प्रस्टै देखिन्छ । तर स्टालिनको पुस्तिका साम्राज्यवादी लडाइँभन्दा अघि नै लेखिएको थियो, जुन बेलासम्ममा जातीय प्रश्नहरूलाई माक्र्सवादीहरूले विश्वव्यापी महत्वको प्रश्न मानेका थिएनन् र आत्मनिर्णय गर्ने अधिकारका सम्बन्धमा माक्र्सवादीहरूको मूलभूत माग सर्वहारा क्रान्तिको अङ्ग नमानेर पुँजीवादी लोकतान्त्रिक क्रान्तिको अङ्ग हो भनी मानिन्थ्यो । त्यसबेलादेखि अन्तर्राष्ट्रिय स्थितिमा मौलिक परिवर्तन आइसकेको छ । एकातिर त्यो युद्धको कारण र अर्कोतिर रूसको अक्टोबर क्रान्तिले जातीय प्रश्नलाई पुँजीवादी जनवादी क्रान्तिको एक अङ्गबाट सर्वहारा समाजवादी क्रान्तिको एक अङ्गमा परिणत गरेको कुरा बुझ्न नसक्नु चाहिँ साँच्चिकै हाँसउठ्दो कुरा हुनेछ ।सन् १९१६ को अक्टोबरतिर नै ‘आत्मनिर्णयसम्बन्धी छलफलको निचोड’ भन्ने लेखमा लेनिनले के भन्नुभएको थियो भने जातीय प्रश्नको मुख्य विषय अर्थात् आत्मनिर्णयको अधिकार अब आमजनवादी आन्दोलनको एक अङ्ग नरहेर आमसर्वहारा समाजवादी क्रान्तिको एउटा अभिन्न अङ्ग बन्नपुगेको छ ।

जातीय प्रश्नबारे लेनिनका र रूसी साम्यवादका अरू प्रतिनिधिहरूले पछि लेखेका रचनाहरूको विषयवस्तुको यहाँ उल्लेख गरिरहनु म आवश्यक ठान्दिन । यी सारा कुराहरू भइसकेपछि, आज एक नयाँ ऐतिहासिक परिस्थितिको परिणामस्वरूप हामीले एउटा नयाँ युग, सर्वहारा क्रान्तिको युगमा पाइला टेकिसकेको बखतमा, रूसमा पुँजीवादी जनवादी क्रान्तिका बेलामा लेखिएको स्टालिनको पुस्तिकाको कुनै विशेष अंश सेमिखबाट उल्लेख गरिन्छ भने त्यसको के अर्थ हुनसक्ला ? त्यसको एक मात्र अर्थ के हुन्छ भने सेमिखले देशकालको सन्दर्भबाट बाहिर रहेर, त्यसबखतको ज्युँदो ऐतिहासिक स्थितिको उल्लेख नगरी उद्धरण अघि सारेका छन्, र यसो गरेर उनले द्वन्द्ववादका सबैभन्दा प्रारम्भिक नियमहरूको पनि उल्लङ्घन गरेका छन् र एउटा ऐतिहासिक परिस्थितिमा ठीक हुने कुरा अर्को ऐतिहासिक परिस्थितिमा बेठीक पनि हुनसक्छ भन्ने तथ्यलाई उपेक्षा गरेका छन् । 

०००
( यो अंश माओको नयाँ जनवाद दस्ताबेजको ‘चिनियाँ क्रान्ति विश्वक्रान्तिको एउटा अङ्ग हो’ उपशीर्षकबाट लिइएको हो ।)

 

प्रतिक्रिया

सम्बन्धित खवर