एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अदालतले फेरि अर्को झट्का दिएको छ ।
अमरिकी संघीय पुनरावेदन अदालतले राष्ट्रपति ट्रम्पको सात मुस्लिम मुलुकका नागरिकलाई यात्रा अनुमति नदिने निर्णय अनुचित भन्दै सियाटल अदालतको निर्णयलाई सदर गरेको छ ।
गत जनवरी २७ मा सात मुस्लिम बहुल देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने ट्रम्पको कार्यकारी आदेशविरुद्ध परेका रिटमा अदालतले एकपछि अर्को गर्दै फैसला सुनाएको हो ।
सियाटल अदालतले गरेको निर्णयविरुद्ध पुनरावेदन गएको ट्रम्प प्रशासनलाई फेरि अर्को झट्का लागेको हो । ट्रम्पले ती सात देशबाट मुलुकलाई खतरा भएको जिकीर गरेपनि अदालतले भने खतरा भएको प्रमाण देखाउन नसकेको भन्दै पुनरावेदन खारेज गरिदिएको हो ।
ट्रम्पले भने अदालतको फैसलापछि ट्वीट गर्दै आफ्नो देशमा सुरक्षा खतरा रहेको जिकीर गर्दै अदालतमा भेटौंला भनेका छन् । अदालतको फैसला शर्मनाक र राजनीतिबाट प्रेरित रहेको आरोप लगाएका छन् ।






























