क्रान्तिमा आएको संकटको सामना गर्नुको विकल्प छैन : प्रवक्ता प्रतिक

क्रान्तिमा आएको संकटको सामना गर्नुको विकल्प छैन : प्रवक्ता प्रतिक

यतिबेला देश नयाँ प्रकारको संकटबाट गुज्रिरहेको छ । नेपालमा मात्र नभई विश्वमै यतिबेला क्रान्तिकारी शक्ति र संसदवादी शक्ति दुवै यतिबेला संकटमा छन् । नेपालमा पनि क्रान्तिकारी शक्तिलाई मजबुत बनाउनका लागि क्रान्तिकारी माओवादीले नयाँ अभियानको सुरुवात गरेको छ । यसैबीचमा सरकार आफूभित्रको संकट टार्नका लागि निर्वाचन अभियानमा जुटेको छ । तर, जनता भने संसदवादी शक्तिसँग पटक्कै सन्तुष्ट नभएको अवस्था छ । यसै सन्दर्भमा क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेल प्रतिकसँग गरिएको कुराकानीको सारसंक्षेप : 

पार्टीको तीन महिने संगठन सदृढीकरण र जनपरिचालन अभियान चलिरहेको छ, यो कसरी चलिरहेको छ, प्रारम्भिक चरणमा यसका सबल र दुर्बल पक्षहरु के के रहे ?

हाम्रो पार्टीले केही समयदेखि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाललाई लिएर आन्दोलन उठाउने भन्दै आइरहेको र आन्तरिक रुपमा आत्मगत अवस्थालाई पनि सुधार गर्न विभिन्न जनवर्गीय संगठन विस्तार गर्दै संगठन चुस्त, दुरुस्त बनाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै यो अभियान सुरुवात गरेका हौैं । यसको बहुआयामिक महत्व छ । जनतालाई परिचालन गर्ने, जनतासँग पार्टीलाई जोड्ने र राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, जनजीविका र जनतन्त्रका कुराहरुलाई लिएर जनजागरण ल्याउने उद्देश्य अनुसार हामी अघि बढ्न खोजको हो ।

अहिले सबैभन्दा मुख्य समस्या भनेकै राष्ट्रियताको समस्या हो । यसअघिका सबै सरकारलाई पनि माथ गर्नेगरी अहिलेको सरकारले दलालीको प्रक्रियालाई तीव्र बनाएको र राष्ट्रिय स्वाधीनतामाथि पनि गद्दारी गर्दै गइराखेकोले त्यसलाई भण्डाफोर गर्ने, जनतालाई जागरुक बनाउने र आन्तरिक संगठनलाई सुदृढ बनाउने अभियानको कार्यभार हो ।

अहिले अभियान तीव्रतापूर्वक नै अघि बढेको छ भने कतिपय जिल्लामा अझै केही अपुग जस्तो देखिन्छ । नेतृत्वको पंक्ति जति क्रियाशील भएर लाग्यो, त्यति नै तलको टिम र नेतृत्वको टिम पनि क्रियाशिल भएर लाग्ने अवस्था छ । अहिले तल एक प्रकारको निराशाजस्तो र माथि केही साथीहरुमा निष्क्रियताजस्तो देखिएको छ । त्यसलाई पनि चिरेर जानुपर्छ भन्ने नै हो । अहिले लिएको ३ महिने अभियान विचार, राजनीति, संगठन र संघर्षका कार्यक्रमका हिसाबले महत्वपूर्ण र बहुआयामिक छ । जनपरिचालन र जनतासँग जोडिने जनसेवाका कार्यक्रम पनि यहाँभित्र समावेश गरिएको छ । तीन महिनापछि यसले नयाँ परिणाम ल्याउने अपेक्षा गरेका छौं ।

देशमा नयाँ संक्रमणकाल देखिएको छ । संविधान बनाउने शक्ति नै विभाजनको अवस्थामा छन् । अब अभियानपछिको पार्टीले त्यो संकट समाधान गर्न सक्ला ?

हाम्रो कुरा के हो भने अब अहिले देशमा क्रान्तिकारी, विचार, राजनीति र सिद्धान्तलाई बोक्ने एकमात्र पार्टी क्रान्तिकारी माओवादी रहेको छ । यद्यपि कतिपय पार्टीहरु यसको सेरोफेरोमा स–साना विषयहरुमा हामीसँग मिल्ने विषय, समूह र व्यक्ति पनि छन् । तर समग्र पार्टीगत रुपमा हेर्ने हो भने स्पष्ट एउटा क्रान्तिकारी धारको नेतृत्व यसले गरेको छ । यसमा दुविधा छैन । अब त्यति हुँदाहुँदै पनि जुन खालको परिस्थिति देखिएको छ, त्यो एकातिर अवसरवादी र प्रतिक्रियावादी कित्ताको अन्तरविरोध पनि बढेको छ ।

सत्तालिप्साको कारणले राष्ट्रियतामाथि समेत बेवास्ता गरेका छन् । कतिपयको दलाली प्रवृत्ति पनि नांगो ढंगले बढेको छ । यो संकट र उनीहरुबीचको अन्तरविरोधलाई हल गर्न सकिरहेका छैनन् । त्यसलाई छिचोलेर जाने किसिमले हामीले नयाँ ढंगले नेतृत्व गरेर जाने अवस्था आएको छ । त्यसरी अघि जाने अवस्थामा अहिले हामी पनि छैनौं । विचारधाराको हिसाबले हामीले गरेका छौं, तर सांगठनिक हिसाबले, गतिविधिको हिसाबले प्रभावकारी बनाएर यसले चाँहि गर्छ है भन्ने भइसकेको छैन । अबको तीन महिने अभियानपछि हामी एउटा खुट्किलो चढ्छौं ।

अहिले संसदवादी दलहरु एकातिर र क्रान्तिकारीहरु अर्कातिर रहेको अवस्था छ । विगतदेखि नै अवसरवादविरुद्ध संघर्ष गर्दै आउनुभयो । यो अवसरवादविरुद्ध लड्न र क्रान्तिकारी पार्टी निर्माणका कस्तो चुनौती हुने रहेछ ?

एकदमै चुनौतीपूर्ण छ । क्रान्तिकारीहरुका लागि पनि संकटपूर्ण अवस्था नै छ । सिंगो पार्टीका विरुद्ध, क्रान्तिकारी धारकाविरुद्ध साम्राज्यवाद, तिनका दलाल शक्ति र यहाँको प्रतिक्रियावादी सत्ता पनि त्यत्तिकै ढंगले लागेका छन् । उनीहरुले विभिन्न प्रपञ्चहरु गरिरहेका छन् । क्रान्तिकारी धारलाई समाप्त पार्नका लागि र अब केही पनि हुँदैन, सकिन्न, क्रान्ति त धेरै राम्रो कुरा हो तर गर्न नसकिने भएकाले हामीले जे गर्छौ त्यही बाटोबाट जाने हो भनेर आत्मसमर्पणवादी बाटो समातेका छन् र त्यो पनि चरम आत्मसमर्पणवादी बाटो समातेका छन् । उनीहरु उपयोगितावाद, उपभोक्तावादमा फँसेका छन् ।

त्यसमा लुछाचुँडी पार्टीभित्रै चलाएका छन् । उनीहरु संकटमा छन्, त्यो एउटा पाटो हो । तर हामीले त्यसलाई चिर्न, पहल लिनका लागि पनि निकै नै मेहनत गर्नु पर्दछ । सबैतिर भएको घेराबन्दीलाई तोड्नका लागि आत्मगत अवस्थालाई मजबुत पनि बनाउनु पर्दछ । संगठन र संघर्षको तालमेल मिलाएर जानुपर्दछ । संघर्षविना संगठन चल्दैन र संगठनविना संघर्ष हुन पनि सक्दैन । त्यसको बिचको तालमेल अलि नमिलेजस्तो भएको छ । त्यसलाई यो अभियानले मिलाउने छ । जनतासम्म हेर्दा ग्राउन्ड राम्रो छ ।

कतिपय संगठित र कतिपय संगठनबाहिर पनि छन् । यो पार्टीले गर्ला, यसको नीति ठीक छ भन्ने मान्छेहरुको जमात ठूलो छ । तर त्यसलाई दृढतापूर्वक अघि बढाउने, क्रियाशील, जुझारु, पहलकदमी लिने खालको विभिन्न स्तरको नेतृत्व निर्माण गर्नुपर्ने आवश्यकता छ । पार्टी टुटफुटका कारणले एउटा ग्याप भएको छ । त्यसलाई पूर्णता दिनुपर्ने अवस्था छ, र नेतृत्वको एउटा शृंखला निर्माण गर्नुपर्ने अवस्था छ ।
राजनीतिमा एउटा संकट आएको छ । मान्छे विचारबिहीनजस्तो, व्यक्तिगत स्वार्थमा लिप्त भएको जस्तो, ससाना स्वार्थका लागि आफ्नो विचार, उद्देश्य, लक्ष्य, परिवर्तनको आकांक्षालाई छाडेको जस्तो, पार्टीमा लागेपनि त्यसलाई दरोसँग समात्न नसकेको जस्तो अवस्था छ ।

यसको कारण उसको पारिवारिक, आर्थिक कारण पनि होला । तर त्यो मात्रै होइन, किनभने संकटकैबीचबाट क्रान्ति अघि बढ्ने हो । संघर्षकैबीचबाट बढ्ने हो । संकट नभएको ठाउँमा क्रान्ति पनि अघि बढेको छैन । अहिले जुन प्रकारको संकट अन्तर्राष्ट्रिय स्तरमा साम्राज्यवादमा देखा परेको छ, त्यो संकट क्रान्तिकारीहरुभित्र पनि अली भिन्न रुपमा देखापरिरहेको छ । विचारको हिसाबले ग्राउण्ड व्यापक राम्रो छ ।

अहिले देशको बैकल्पिक राजनीतिक शक्ति निर्माणको कुरा गर्नु भएको छ । तर क्रान्तिकारी नै संकट र कमजोर अवस्थामा रहेको बेला यो कसरी सम्भव छ ?
यो प्रश्नले अली ठूलो बहसको माग गर्दछ । मैले अघि पनि थोरै संकेत गरे । यस्ता संकटहरु बेलाबखत आउँछन् । ठूला पार्टीहरु साना र छिन्नभिन्न हुने, नीति, विचार, कार्यदिशा र सिद्धान्तको रक्षा गर्न धौधौ हुने अवस्था आउँदो रहेछ । त्यसका लागि जति सहमत हुन्छन्, त्यतिलाई लिएर जानुपर्ने अवस्था आउँछ ।

अहिले त्यस्तै अवस्था हो । जसरी लेनिनहरुको पालामा सन् १९०५ को विद्रोहपछि जुन प्रकारको संकट आयो, त्यो खालको संकट जस्तो, चिनियाँ कम्युनिष्ट पार्टीमा लङमार्चअघि जुन प्रकारको संकट आयो, त्यो खालको संकट अहिले हाम्रोमा देखिएको छ । किनभने जनयुद्ध लडेको एउटा ठूलो हिस्सा, त्यसमा पनि मूल नेतृत्वसहितको हिस्सा नै प्रतिक्रान्तिमा लागेका कारण र त्यसपछि आएको विभाजन, घेराबन्दी र अवसरवादीहरु पार्टीबाट यो वा त्यो रुपमा आत्मसमर्पणमा लागे । विप्लवहरु एक ढंगले क्रान्तिकारी खोल ओडेर व्यक्तिवाद, व्यक्तिवादी महत्वाकांक्षालाई प्राथमिकता दिएर गए । उनीहरुले क्रान्तिको समग्रतालाई बुझेनन् वा बुझ्न चाहेनन् । परिणामलाई समग्र उद्देश्यसँग जोड्ने होइन कि तत्कालीन पार्टीको अस्तिस्तसँग जोड्ने, नेतृत्वको महत्वाकांक्षासँग जोडने प्रवृत्ति अर्थवादी प्रवृत्ति हो । यसैका कारण पहिलो फुट भयो ।

त्यसपछि क्रान्तिकारी धारभित्र आत्मसमर्पणवाद, पलायनवाद निकृष्ट रुपमा देखा प¥यो । अब एकचोटी क्रान्तिकारीहरुले यस्ता संकटको सामना गरेर मात्रै आफ्नो नेतृत्व, क्षमताको विकास र भरपर्दो ढंगले क्रान्तिको नेतृत्व गर्ने पार्टीको निर्माण हुन्छ । क्रान्तिमा आउने संकटहरु र क्रान्तिमा आउने संकटबाट भित्र पर्ने प्रभावबाट गुज्रनै पर्छ । हामी त्यहि चरणमा रहेका कारणले मान्छेहरुले हामीलाई विचारधारात्मक हिसाबले तपाईहरु नै हो, तर गतिशीलता, क्रियाशीलता पुगेको छैन भन्ने कुरा हाम्रो पंक्तिभित्र मात्रै नभई बाहिर पनि आउने गरेको छ ।

यसले के देखाउँछ भने विचार र नेतृत्व ठीक छ । तर त्यसले समग्र शक्तिको रुपमा स्थापित हुन सकेको छैन भन्ने संकेत गर्छ । त्यसकारण हामीले असाध्यै मेहनत गर्न आवश्यक छ । यतिबेला जुनसुकै तहका नेताले पनि त्यसलाई गहिरोसाथ बुझ्ने र पकड्ने सवालमा हामीले मेहनत गर्नुपर्छ ।

तपाईहरुले जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा अंगाल्दै आउनुभयो, तर समग्रमा हेर्दा जनयुद्धको जग ध्वस्त भइसकेको छ । अब यसलाई परिवर्तन गर्ने बेला होइन र ?

यसलाई सारमा बुझ्नुपर्दछ । रुप पक्षमा मात्रै मान्छेले बुझ्दा रहेछन् । यसको चेतना, संगठन, सत्ता, सेनाजस्ता मूल शक्ति त विघटन भए । तर त्यसको चेतना र प्रभाव सबै सकियो भन्ने कुरा सत्य होइन । दोस्रो, अहिले हामीले जनयुद्धको जगमा जनविद्रोह भनिरहेका छैनौं । अहिले नेपाली विशिष्टतामा भनेका छौं । यी कुराहरु पनि अन्तर्यमा पर्ने भए । तर नेपाली विशेषता के हो भन्ने बारेमा ५÷६ वटा बुँदामा निश्चित गरिएको छ । अहिलेको विश्वको अवस्था, नेपालको अवस्था, आर्थिक अवस्था, सामाजिक परिवेश परिवर्तनको आवश्यकता झन् बढी मुखरित भएर आएको छ । झन् क्रान्तिको आवश्यता तीव्र बनेर आइरहेको छ ।

अब त्यसको नेतृत्व कसरी गर्ने, त्यसलाई कसरी विश्वस्त बनाउने र जनतामा झाँगिलो बनाउने भन्ने कुरा चाँहि हो । त्यसकारण जनयुद्धको जगमा जनयुद्धको कुरा गलत होइन । तर त्यसलाई अली भिन्न परिस्थितिमा व्याख्या गरिनुपर्दछ । नेपालको विशिष्टता भन्ने कुरा हामीले जोडेका हौं । फेरि क्रान्तिको सम्भावना र सम्भव दुवै छ । बरु के हो भने अलिकति समय लाग्ने भयो । किनभने, एउटा ठूलो विश्वास गरेको शक्ति र नेतृत्वले धोका दिइसकेपछि तत्कालै विश्वास भइहाल्ने हुँदैन रहेछ । त्यसमा राम्रो मेहनत आवश्यक छ र परीक्षणको समय लिन्छ । हामी त्यो कालमा हामी छौं, त्यसमा धैर्यतापूर्वक, सक्रियतापूर्वक र दृढतापूर्वक लाग्नुको विकल्प छैन ।

विज्ञान त्यही हो, क्रान्तिमा हारजित हुन्छ, अगाडि पछाडि टुटफुट हुन्छ । त्यो पनि वर्गीय सोच अनुसार नै हुन्छ । वर्गीय सोच एउटै भएन भने एकै ठाउँ हुने कुरा भएन । आधारभूत कुरा नै फरक भइसकेपछि एकैठाउँमा हुन सकिन्न । त्यसकारण प्रचण्डले माओवादी केन्द्र भन्दैमा उनी माओवादी त होइनन्, उनले माओवाद नै परित्याग गरिसके । साँचो अर्थमा भन्ने हो भने माक्र्सवाद समेत परित्याग गरिसके । तर रुपमा उनी त्यस्तै देखिएकाले मान्छे त्यो भ्रममा छन् । मान्छेले रुप पक्षलाई छिटो देख्छन् । उनको कार्यशैली, कार्यप्रद्धति, जुन प्रकारको सम्बन्ध र सरकारमा गएर गरेका काम प्रतिक्रियावादलाई सघाउने काम बाहेक अरु त गरेका छैनन् ।

उनले असफल भइसकेको संसदीय व्यवस्थालाई टिकाउनका लागि संसदवादी भन्दा पनि नांगो रुपमा प्रस्तु भएका छन् । यो नकारात्मक कुरा हो । यसलाई क्रान्तिकारीहरुले ठीक ढंगले जनतामा स्थापित गर्न सकियो गद्दारीलाई पर्दाफास गर्न सकियो भने भने क्रान्तिकारी धार र नेतृत्व स्थापित हुन सक्छ । सकारात्मक भूमिका यहाँबाट खेल्न सकिन्छ । तपाईले भनेको जस्तै ध्रुवीकरण गरेर जान सकिन्छ । अहिले त्यो अवस्था पनि छ । एक पटक नयाँ ढंगको ध्रुविकरणको आवश्यकता छ । अब दुई/तीन वर्षको अवधिमा एउटा ठुलै ध्रुविकरण हुने अवस्था छ । प्रचण्ड यही अवस्थामा रहन सक्दैनन् । संसदवादीहरुको एक ठाउँमा कम्युनिष्टहरुको आवरणमा जनतालाई धोका दिने शक्ति निर्माण हुन्छ । छिन्नभिन्न भइरहनुपर्छ भन्ने लाग्दैन । एमालेभन्दा पनि माओवादी केन्द्र तल गइसक्यो ।

क्रान्तिकारी कित्तामा पनि नयाँ ध्रुवीकरण हुन्छ । विप्लवले जुन भ्रम दिन खोजिरहेका छन्, त्यसभित्र पनि वैचारिक छलफल सुरु भएको छ । उनले पार लाउने हुन् कि होइनन् भन्ने कुरा छ । पार लगाउने अवस्था पनि छैन । किनभने उनीहरुसँग, विचार र कार्यदिशा नै छैन । तत्कालिक कार्यक्रमहरु दिएर पार्टीलाई थेग्ने र अस्तित्व बचाउने भन्दा ठूलो देखिएको छैन । त्यसकै लागि उनले अर्थवादी र राजनीतिक प्रचारबाजीका कामहरु गर्दै गइरहेका छन् । त्यसको तादाम्यता जोडिदैन । कसरी निर्णायक मोडमा पु¥याउने भन्ने कुराको मेल खाँदैन । त्यो कार्यदिशा र लक्ष्यसँग जोडिएको विषय हो, त्यहाँ नजोडिएपछि जस्तासुकै संघर्ष गरे पनि हात्ती आयो हात्ती आयो फुस्सा भनेजस्तै हुन्छ । गरुनजेल केही हुन्छ कि जस्तो त हुन्छ । तर निर्णायक मोड लिन सक्दैन ।

जनविद्रोह भन्ने कुरा आमविद्रोहमार्फत् राज्यसत्ता कब्जा गर्ने भन्नु भएको होला । तर क्रान्तिकारीहरु नै रक्षात्मक अवस्थामा रहेको अवस्थामा कसरी सम्भव होला ?

यो रणनीतिक सवालको कुरा हो । यो कुरा गर्दा यसको तयारीको कुरा पनि गर्नुपर्छ । तत्कालको कुरा गर्ने हो भने त भर्खरै सम्भव छैन । तर, विद्रोहबिना संसारमा क्रान्ति सम्पन्न भएको छैन । नेपालको सन्दर्भमा राम्रो तयारी गर्नुपर्दछ । विद्रोहको अर्को विकल्प छैन । राष्ट्रियतामाथि भारतीय विस्तारवादको हस्तक्षेप तीव्र बन्दै गइरहेको छ । हामीले नवउपनिवेशको अवस्था छ भनेका छौं । राष्ट्रियताको आन्दोलनलाई अघि बढाउँदै लैजादा नयाँ खालको जनविद्रोह हुनसक्छ ।

हामीले चिनियाँ, रुसीजस्तो हुन्छ भनेका छैनौं । माओको निधनपछि त्यो प्रकारको नेतृत्वको विकास भएको छैन । नेतृत्व क्रान्तिकै बीचबाट जन्मिने हो । पहिले नेतृत्व बनाएर क्रान्ति गरौं भन्ने हुँदैन । सापेक्ष रुपबाट त हामी सन्तुष्ट छौं, तर यसले पुग्दैन । हामीले विषयलाई घनिभुत र ठोस गरेर त्यसलाई समाधान गर्नका लागि कार्यदिशालाई समृद्ध बनाएर जाने सोचेका छौं । आधारभूत रुपमा हामी ठीक ठाउँमा छौं, यसलाई अझै ठ्याक्कै जनतासँग लैजाने कुरामा केही कमी छ, त्यसलाई राष्ट्रिय सम्मेलनमार्फत हल गर्नुपर्दछ ।

सरकार निर्वाचनतर्फ हतारिएको छ । उसले आगामी माघ ७ भित्र तीन वटै निकायका निर्वाचन गरेर संविधान कार्यान्वयनमा लैजान चाहन्छ । तपाईहरुको नीति चाँहि यस विषयमा कस्तो हुन्छ ?

क्रान्तिकारीका लागि निर्वाचन भनेको सैद्धान्तिक भन्दा पनि कार्यनीतिक प्रश्न हुन् । क्रान्तिको हितमा कसरी प्रयोग गर्न सकिन्छ ? उपयोग गर्दा फाइदा हुन्छ, या नगर्दा फाइदा हुन्छ भन्ने कुरा पार्टीले टुंगो लगाएको छैन । हाम्रो नीति के हो भने के गर्दा फाइदा हुन्छ, त्यो गर्नुपर्छ भन्ने कुरामा हामी अलमलमा छैनौं । तर निर्वाचन हुन्छ कि हुन्न भन्ने कुरा अझै अन्योलमा छ । प्रचण्डलाई के भएको छ भने, ‘नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छाबाबुको अनुहार’ ।

चुनाव गर्नुपर्ने प्रधानमन्त्री भएका नाताले उनको यो लक्ष्य नै हो तर चुनाव गराउँदा उनीसँग कुनै कार्यदिशा, योजना केही पनि छैन । उनी आत्मसमर्पणको दिशामा विदेशी शक्तिको इशारामा चल्ने दिशामा गइरहेका छन् । जनतामा पनि विश्वास कट्दै गइरहेको छ । उनले गरेको राष्ट्रघाती कदमका कारण जनता तिव्र घृणा जागेर गएको छ । यस्तो अवस्थामा निर्वाचन गराउँदा हामी झन कमजोर हुन्छौं भन्ने चिन्ता छ, कार्यकर्ताको सल्लाह पनि त्यही छ । काँग्रेस–एमाले, मुख्यगरी एमालेले छिटो निर्वाचन चाहेको छ । किनभने प्रतिपक्षी दल भएका कारणले आफ्नो शक्ति बलियो हुन्छ कि भन्ने होला ।

संविधान संशोधनको कुरा गरिरहेका छन्, त्यो पनि पारित नहोलाजस्तो देखिएको छ । अब कसरी घुमेर जाने भन्नेबारेमा विभिन्न विकल्पहरु उनीहरुकै प्रजातन्त्रलाई किल गर्ने गरी जाने देखिन्छ । हुन त यो प्रजातन्त्र हुनेखाने, दलाल पुँजीपति, नोकरशाही र दलालहरुकै हो । यसले जनताको मागको सम्बोधन गरेको पनि छैन । यो प्रतिक्रियावादी, प्रतिगमनकारी संविधान हो । अझ यो भन्दा पनि प्रतिगमनमा जाने सम्भावना पनि छ । यसकारण निर्वाचन हुने नै भयो भने हामीले यसलाई उपयोग गर्ने या बहिस्कार गरेर जाने भन्ने टुंगो लगाउँछौं । तर यो कार्यनीतिक सवाल हो । हाम्रो सोच भने क्रान्तिको हितमा, कार्यदिशाको हितमा, उद्देश्यको हितमा प्रयोग गर्ने सम्भावना छ भने त्यो पनि गर्न सक्छौं ।

ठूला दलकै नेताले अब आउने आउँछन्, नआउनेलाई छाडेर भएपनि निर्वाचनमा जानुपर्छ भन्न थालेका छन् । त्यस्तो अवस्थामा नेपालको राजनीतिक कोर्स कतातिर अघि बढ्ला ?
यो भारतीय विस्तारवादको खेलसँग जोडिएको छ । हुनसक्छ, काँग्रेसभित्र पनि विभिन्न खालका गुट, उपगुटहरु, अन्तरविरोध छन् । उनीहरुले आफ्नो स्वार्थका लागि विभिन्न शक्तिकेन्द्रसँग जोडेर उठाएका छन् । यो स्वतन्त्र ढंगले, नेपाली भएर, नेपाली परिवेशबाट सोच्ने कुराको ह्रास भएको छ । मधेसको सवालमा मधेसवादी दलले जुन संशोधनको माग गरिरहेका छन्, त्यसका बाबजुद पनि चुनावमा जानुपर्छ भन्ने कुरा एमालेसँग मेल खान जान्छ र यो भारतको एक गुटसँग समेत मेल खान्छ ।

अहिलेको सत्ताधारी भन्दा अली फरक ढंगले परिचालित भएको देखिन्छ । यहाँ विभिन्न खालका भारतीय लबीहरु प्रयोग भइरहेका छन् । यदि स्वतन्त्र रुपमा उठेको भए, राष्ट्रियताको बारेमा किन उठाउँदैनन, जनतन्त्र, जनजिविकाका सवाललाई किन उठाउँदैनन् । भ्रष्टाचार, महंगी संस्थागत भएको छ । सरकारको नीति नै फितलो छ, जनताप्रति उत्तरदायी छैन ।

अन्त्यमा, राष्ट्रियता संकटमा परेका बेला यसबारेमा केही कुरा राखिदिनुहोस् न ।
विषयहरु धेरै गरियो, अहिलेको समस्या भनेकै राष्ट्र जोगिन्छ कि जोगिन्न भन्ने हो । उपनिवेश नयाँ ढंगले प्रयोग भइरहेको छ । त्यसकारण हामीले नवऔपनिवेश भनेका हौं । भारतको चलखेल र उसका गतिविधि माइक्रो तरिकाले तलतल गइसकेका छन् । यहाँका कर्मचारीतन्त्रका कतिपय व्यक्तिहरुले नेपालबाट आउने तलबभन्दा पनि भारतबाट बढी पैसा लिएर राष्ट्रघात गर्न बिकिरहेका छन् । नेपाल र नेपाली जनताको हितमा सोच्ने परिपाटीको विकास गर्न जरुरी छ ।

आत्मसमर्पणवादी सोंच र संस्कृतिका विरुद्ध फेटा बाँधेर लड्न जरुरी छ र जनता पूरा उल्टिन आवश्यक छ । जे गर्न सक्छौं, नेपाल र नेपालीका लागि गर भन्ने जनताको माग छ । त्यो भन्दा अघि बढेर राष्ट्रिय युद्ध पनि हुनसक्छ । त्यसलाई क्रान्तिकारीहरुले फेरि क्रान्तिको हित, समग्र श्रमजीविको हितमा र उत्पीडित जनताको लागि गरिने दीर्घकालीन युद्ध पनि हुनसक्छ । देश नै रहेन भने पार्टीको पनि अस्तित्व रहने कुरा भएन ।