काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अघिल्लो महिना समातिएको साढे ३३ किलो सुन तस्करी काण्डमा एसएसपी श्याम खत्री पक्राउ परेका छन् ।
उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका एसएसपी खत्री सुन तस्करी भएको समयमा विमानस्थलमा नै कार्यरत रहेका थिए । उनलाई यसअघि नै प्रहरी प्रधान कार्यालय तानिएको थियो ।
ठूलो परिमाणमा अन्तर्राष्ट्रिय विमानस्थलमा नै सुन तस्करी भएको खबर बाहिरिएपछि त्यसले राष्ट्रिय स्तरको बहस नै सिर्जना गराएको थियो ।
साढे ३३ किलो सुन तस्करी काण्डमा पक्राउ पर्ने उनी नेपाल प्रहरीका उच्च अधिकारी हुन् । प्रहरीले यसअघि नै सो प्रकरणमा भन्सारका ३ कर्मचारीसहित ७ जना पक्राउ परिसकेका छन् । गत पुसमा प्रहरीले विमानस्थलबाटै साढे ३३ किलो सुन बरामद गरेको थियो ।
सुन तस्करीमा मिलेमतो रहेको अभियोगमा पक्राउ परेका विमानस्थल भन्सारमा कार्यरत कर्मचारीको सूचनाको आधारमा एसएसपी खत्री समेत पक्राउ परेका हुन् ।
सुन तस्करीमा मुछिएका खत्रीलाई गत माघ ३ मा नै अनुसन्धानका लागि भन्दै प्रहरी प्रधान कार्यालय तानिएको थियो । उनी १४ महिनाअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरुवा भएर गएका थिए । पक्राउ परेका खत्रीलाई थप अनुसन्धानका लागि महाराजगञ्जस्थित ब्यूरो कार्यालय लगिएको छ ।
पक्राउ परेका एसएसपी खत्री फरक फरक नम्बरका मोबाइलबाट भन्सार अधिकृत श्रीनारायण यादवसँग सम्पर्कमा रहेको देखिएको छ । सुन तस्करीको अन्तराष्ट्रिय गिरोहसँग सेटिङमा संग्लनहरु भाइबर र स्काईप मार्फत सम्पर्ककमा रहेको कारण ब्युरोको अनुसन्धानमा कठिनाई भएको जनाइएको छ ।
विमानस्थलको एक्सरे मेसिनसँगै बस्ने तथ्यांक अधिकृत श्रीनारायण यादवले बयानका क्रममा एसएसपी खत्री समेत तस्करीमा संलग्न रहेको पाइएको स्रोतको भनाई छ ।
यादवकै बयानका आधारमा ब्युरोले दुईबीचको टेलिफोन सम्पर्ककको जालो पत्ता लगाएको थियो । विमानस्थल भन्सार स्रोतका अनुसार यसअघि नै पक्राउ परेका यादव आठ बर्ष भन्दा लामो समयदेखि विमानस्थलमा कार्यरत थिए ।
यो सँगै सुन तस्करीको आरोपमा केन्द्रिय अनुसन्धान ब्युरोले अहिलेसम्म आठ जनालाई पक्राउ गरिसकेको छ । गत पुस २१ गते दुबईबाट आएको ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विमानस्थलबाहिर बरामद गरेको थियो ।
सुन बरामद भययता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सुन बोकेर ल्याउने गोपालबहादुर शाही, सुन लिन आउने दिनबन्धु थापा र सन्तोष काफ्ले र रामहरि कार्कीसहित अन्य एकलाई काभ्रेको पनौतीबाट पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुको बयानका आधारमा विमानस्थल भन्सारमा कार्यरत भन्सार अधिकृत यादव र राजकुमार ढकाल यसअघि नै पक्राउ परिसकेका छन् ।
विमानस्थल भन्सारका अनुसार आठ वर्षभन्दा लामो समयदेखि विमानस्थलमा कार्यरत यादव तथ्यांक अधिकृत हुन भने प्राविधिक कर्मचारी ढकाल करारमा नियुक्त कर्मचारी हुन् । उनीहरुसँगको बयानका क्रममा कर्मचारीले एसएसपी खत्रीको संग्लनताको आधारहरु दिएका थिए ।
सुन तस्करीको घटनाबारे बुझ्न २७ पुसमा बसेको संसदको अर्थ समिति बैठकले अधिकार सम्पन्न छानविन समिति गठन गर्न आदेश दिइसकेको छ ।
त्यस्तै, भन्सार विभागले पनि पुस २२ गते विभागका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो ।
यी समितिले अहिलेसम्म कुनै निश्कर्ष निकालिसहेका छैनन् । यो सुन तस्करीपछि यस प्रकरणमा ठूलो गिरोह संलग्न रहेको अनुमान गरिएको छ ।































