संसदवादीहरु चुनावी अंकगणितको चाउपेचमा राजनीतिलाई गिजोल्न व्यस्त छन् । राजनीतिक परिस्थितिलाई आफू अनुकूल बनाउन उनीहरु अनेकौं नौंटंकीमा लागेका छन् । सत्तारुढ कांग्रेस–माके र प्रतिपक्षी एमाले, राप्रपा र मधेसवादी दलहरु आ–आफ्नै पल्ला भारी बनाउने र जनतामा अनेकन भ्रामक प्रचार गरेर जनतालाई बेवकुफ बनाउने खेल खेलिरहेका छन् । तर असफल संसदीय राजनीतिबाट आजित जनता भने उनीहरुको भ्रममा परिरहने स्थिति छैन । पटक पटकको युद्ध, आन्दोलन र संघर्षबाट जनता राजनीतिक रुपमा सचेत, सतर्क र जागरुक छन् ।
संविधान संशोधन, स्थानीय निकायको पुनर्संरचना, संघीयताको स्वरुप, क्षेत्राधिकार, सिमांकन र नामांकन उनीहरुको चुनावी स्वार्थबाट प्रभावित र प्रेरित छ । संसदवादीहरु बीचको यही स्वार्थ र अन्तरविरोध बुझेको वैदेशिक शक्ति खासगरी भारतीय विस्तारवाद यसैमा खेल्न, प्रयोग गर्न र हावी हुन सफल भएको छ । आफ्ना दलालहरु कसलाई सत्तामा पु¥याएर आफूले अधिकतम फाइदा लिन र आफ्नो मिसन पुरा गर्न र गराउन सकिन्छ भन्ने लेखाजोखामा भारतीय सत्तासिन वर्ग देखिन्छ । यहाँका दलाल राजनीतिक नेताहरु पनि दिल्लीलाई जसले रिझाउन सक्यो, उसैको सत्ता सुनिश्चित हुने र सत्ताले स्थायित्व लिने विश्वासमा देखिन्छन् र उनीहरु राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डतालाई समेत दाउमा राखेर विस्तारवादको दलालीमा लम्पसार पर्न प्रतिस्पर्धा गरिरहेका छन् ।
आम जनमानसले अनुभूत गरेको कुरा हो– मुलुक र जनता दिनदिनै कमजोर बनिरहेका छन्, मुठ्ठिभर अभिजात (शासक वर्ग)को भने दिन दो गुणा, रात चौ गुणाका दरमा श्रीवृद्धि भइरहेको छ । श्रमजीवि वर्ग दिन दिनै गरिब बन्ने, श्रमचोर वर्ग दिनदिनै धनी बन्ने यो संसदीय व्यवस्थाको विकल्पको खोजीमा सचेत जनता लागेको धेरै पहिलेदेखि हो । जसको नेतृत्वमा जनताले निर्णायक आन्दोलनसहित आमूल परिवर्तनको अपेक्षा राखे र साथ दिए, उनीहरुबाटै धोका खाँदै आए । परिणामतः जनता फेरि संसदीय व्यवस्थाको सिनोको दुर्गन्धमा नाक थुनेर बस्न विवश छन् । दुर्गन्धले उकुसमुकुस जनता फेरि पनि यो व्यवस्थाको विकल्पमा उठ्न र जुट्न चाहन्छन्, यो सिनोलाई सँदाका निम्ति खाल्टो खनेर गाड्न चाहन्छन् तर उनीहरुले भनेजस्तो राजनीतिक पार्टी र नेतृत्वको अभाव महसुस गरिरहेका छन् । संसदवादी पार्टीहरुको विकल्प संसदवादी पार्टी हुन नसक्ने आम श्रमजीवि जनताको ठहर छ । यही ठहर मुताविक उनीहरु नयाँ वैकल्पिक राजनीतिक शक्तिको खोजीमा छन् । उनीहरु मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) पार्टीप्रति बढी आशावादी देखिन्छन् ।
आम श्रमजीवि, शोषित–उत्पीडित जनताको यो अपेक्षा र आशावादितालाई क्रान्तिकारी माओवादीले न्याय गर्न सक्छ कि सक्दैन ? नेपाली राजनीतिको वैकल्पिक र क्रान्तिकारी राजनीतिक धाराको उसले नेतृत्व लिन र दिन सक्छ कि सक्दैन ? संसदीय राजनीतिका तमाम चक्रव्यूह तोडेर आमूल परिवर्तनको यात्रालाई निर्णायक रुप दिन सक्छ कि सक्दैन ? सक्छ भने कसरी सक्छ ? यसको जवाफ खोजेको छन् क्रान्तिकारी माओवादी नेता कार्यकर्ताबाट परिवर्तन चाहने जनताले । यसको जवाफ दिन नै क्रान्तिकारी माओवादी तीन महिने अभियान लिएर जनताबीचमा गइरहेको छ । संसदवादी दलाल राजनीतिक शक्तिहरुले जनतामा पारेको भ्रम चिर्दै आम जनतालाई राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनमा संगठित गर्न र यी मुद्दाहरुमा सहमत हुने राजनीतिक शक्ति तथा व्यक्तिहरुलाई ध्रुवीकृत गर्दै क्रान्तिकारी माओवादी अगाडि बढिरहेको छ । जनताको साथ, समर्थन, अपेक्षा र आशालाई उसले खेर जान दिने छैन ।