काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थीलाई कडाई गर्न आदेश दिएलगत्तै विमानस्थलबाट धरपकड र पक्राउ गर्न सुरु भएको छ ।
सोही क्रममा शनिबार अमेरिकी विमानस्थलबाटै शरणार्थी पक्राउ परेका छन् । ट्रम्पको आदेशलगत्तै जोन एफ केनेडी विमानस्थलबाट दुई इराकी शरणार्थीलाई अमेरिकी सुरक्षा निकायले पक्राउ गरी हिरासतमा राखेको छ ।
जसमध्ये एक जना अमेरिकी सेनाका लागि अनुवादकको काम गर्ने गर्दथे । उनलाई रिहा गरिएको छ भने अर्का एक जनालाई भने अझै हिरासतमा नै राखिएको छ ।
न्यूयोर्ककै सांसद जेरी नैडलरले अन्य ११ शरणार्थीको मद्दतका लागि आफूले काम गरिरहेको बताएका छन् ।
अमेरिकी आदेशको संयुक्त राष्ट्रसंघ र यूरोपेली मुलुकले आलोचना गरेका छन् । इरानले यो इस्लामिक विश्वको अपमान भएको भन्दै जवाफ फर्काइने र अमेरिकीलाई पनि ईरान आउन नदिने चेतावनी दिएको छ ।
यसअघि ट्रम्पले सिरियाली आप्रवासीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउनुका साथै अन्य ७ मुस्लिम मुलुक इराक, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई पनि अमेरिका प्रवेशमा तीन महिनाका लागि रोक लगाइने घोषणा गरेका थिए ।