‘एअर मार्शल सम्झौता’ खारेज गर्न र सगरमाथा प्रवेशमा भारतीय टोलीलाई रोक लगाउन क्रान्तिकारी माओवादीको माग

‘एअर मार्शल सम्झौता’ खारेज गर्न र सगरमाथा प्रवेशमा भारतीय टोलीलाई रोक लगाउन क्रान्तिकारी माओवादीको माग

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले हालै नेपाल र भारतका पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्चस्तरीय अधिकारीहरुका बीच वार्ता भई सम्झौता गरिएको एअर मार्शल सम्झौताले नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता तथा राष्ट्रिय आत्मसम्मानमाथि गम्भीर आघात पु¥याएको भन्दै सम्झौता तत्काल खारेज गर्न माग गरेको छ । क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य‘किरण’ले बिहीबार एक विज्ञप्ती सार्वजनिक गर्दै उक्त माग गरेका हुन् ।

अध्यक्ष किरणले विज्ञप्तीमा भारतलाई नेपालको अनुमतिविना सगरमाथा प्रवेशमा रोक लागाउन समेत माग गरेका छन् । भारतले नेपालको सगरमाथाको उचाइ नाप्ने भन्ने समाचारहरु आइरहेको सन्दर्भमा अध्यक्ष किरणको यस्तो वक्तव्य आएको हो । विज्ञप्तीमा भनिएको छ, “नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा नेपालमा आउने भारतीय जेट विमानमा भारतले आफ्नो एअर मार्शल राख्न पाउने नियम बनाइएको, त्यसै आधारमा एअर मार्शल राखिएको र अहिलेको सम्झौतामा पनि त्यो उल्लेख गरिएको लगायतका विषय रहेका छन् । उक्त विषयमाथि ध्यान दिंदा के स्पष्ट देखिन आउँछ भने नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता तथा राष्ट्रिय आत्मसम्मानमाथि गम्भीर आघात पु¥याउँदै आएको कुरा त छँदैछ र यस प्रकारका विषयमा नेपाल सरकारको पनि निकृष्ट साँठगाँठ रहिआएको छ । यो गम्भीर प्रकारको राष्ट्रिय गद्दारी तथा राष्ट्रघात हो । तसर्थ, हाम्रो पार्टी उक्त विषयबारे तथ्य सत्य सार्वजनिक गर्न र त्यस प्रकारका राष्ट्रघाती सम्झौताहरुलाई तत्काल खारेज गर्न सरकारसित जोडदार माग गर्दछ ।”

उक्त विषयका अतिरिक्त नेपालको अनुमतिविना सगरमाथा शिखरको उँचाइ नाप्न भारतीय टोली नेपालमा आउँदैछ भन्ने समाचार पनि संप्रेषित भइरहेको छ । यसबारे पनि सत्य तथ्य जानकारी गराउन र अनाधिकृत रुपमा आउन थालेको भारतीय टोलीलाई सगरमाथा प्रवेशमा रोक लगाउन पनि हाम्रो पार्टी सकारसित जोडदार आग्रह गर्दछ ।”

अध्यक्ष किरणले विज्ञप्तीमार्फत् भारतीय विस्तारवादको हस्तक्षेपकारी गतिविधि र सकारको राष्ट्रघाती प्रवृत्तिका विरुद्ध सतर्क तथा सचेत रही देशको राष्ट्रिय स्वाधीनताको रक्षाका निम्तिसंघर्षको तयारी गर्न आम नेपाली जनता र सबै देशभक्तहरुमा विशेष अपिल समेत गरेका छन् ।