काठमाडौं । न्यायपरिषदले उच्च अदालतका लागि ८० जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।
प्रधानन्यायाधीश सुशिला कार्कीको अध्यक्षतामा बसेको न्यायपरिषद बैठकले कानून, सरकारी वकिल र न्याय प्रशासनको विशिष्ठ श्रेणीमा रहेकाहरुमध्येबाट ५ जना, हालका जिल्ला न्यायाधीशहरुबाट ३४ जना, यसअघि नै पुनरावेदन अदालतहरुबाट अवकाश पाएका अतिरिक्त न्यायाधीशहरुबाट १० जना, न्याय प्रशासनका सहसचिव सरहका सहरजिष्ट्रार र कानून सहसचिवबाट ६ जना, कानून व्यवसायीबाट २५ जनालाई नियुक्त गरेको हो ।
शुक्रवारबाट अवकाश पाउने सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश तथा न्यायपरिषद सदस्य बैजनाथ उपाध्यायले बैठकमा उपस्थित भएपनि निर्णयमा हस्ताक्षर गरेनन् भने नेपाल बारको सिफारिसमा न्यायपरिषद सदस्य भएका रामप्रसाद सिटौला भने बैठकमा सहभागी थिएनन् ।
परिषद अध्यक्ष कार्कीसहित प्रधानमन्त्रीको सिफारिसमा सदस्य भएका पदम बैदिक र न्यायपरिषदको पदेन सदस्य हुने कानूनमन्त्री अजय शंकर नायकको बहुमतले सिफारिसको निर्णय गरेको हो ।