महासंघमा तीनदलीय सिन्डिकेटको अन्त्य नगरिए चरणबद्ध संघर्ष : क्रान्तिकारी पत्रकार महासंघ

महासंघमा तीनदलीय सिन्डिकेटको अन्त्य नगरिए चरणबद्ध संघर्ष : क्रान्तिकारी पत्रकार महासंघ

काठमाडौं . क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघमा लादिएको तीन दलीय पत्रकारहरुको सिन्डिकेटको अन्त्य नगरिए क्रान्तिकारी पत्रकार महासंघले चरणबद्ध संघर्ष गर्ने चेतावानी दिएका छन् ।

राउतले जारी गरेको वक्तव्यको पूर्ण पाठ यस्तो रहेको छ, “क्रान्तिकारी पत्रकार महासंघले स्थापनाकालदेखि नै नेपाल पत्रकार महासंघलाई छाता संगठन मान्दै आएको छ । र, आम श्रमजीवि पत्रकारहरुको चाहना पनि यही रहँदै आएको छ । हाम्रो संगठनले नेपाल पत्रकार महासंघलाई छाता संगठनको भूमिकामा स्थापित गराउन महासंघका नेतृत्वलाई दबाब दिंदै आएको सर्वविदितै छ । तर आम श्रमजीवि पत्रकारहरुको चाहना विपरीत महासंघमा तीन दलीय सिन्डिकेट तोडिएन, बरु अझ सघनरुपमा सिन्डिकेट लादिएको छ । पत्रकार महासंघलाई नेपाली कांग्रेस निकट प्रेस युनियन, नेकपा (एमाले) निकट प्रेस चौतारी र नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टरका नेता कार्यकर्ताहरुको भर्तीकेन्द्र बनाइएको छ । यसको हाम्रो संगठन कडा शब्दमा निन्दा र विरोध गर्दछ ।

नेपाल पत्रकार महासंघ आम श्रमजीवि पत्रकारहरुको साझा संगठन हो । तर तीन दलीय सिन्डिकेट राजनीतिले महासंघलाई केही चल्तापूर्जा र खाइ पल्केकाहरुको वपौतीको रुपमा स्थापित(बद्नाम) गराइदिएको छ । र, अहिले महासंघ कब्जा गर्न तिनै खाइपल्केकाहरुबीच होड चलेको छ । अन्य पार्टी निकट पत्रकारहरु र स्वतन्त्र श्रमजीवि पत्रकारहरुलाई महासंघमा अघोषितरुपले निषेध गरिएको छ । पत्रकार महासंघको विधानले व्यवस्था गरेबमोजिम योग्य हँुदाहुँदै पनि आस्थाको आधारमा सदस्यता लिनबाट ठाउँ ठाउँमा बञ्चित गरिएको छ । आफू अनुकूल मापदण्ड, समयसीमा तोक्ने र भागबण्डा गरेर नयाँ सदस्यहरु(गैर पत्रकारहरु)को भर्ती गर्ने खेल भद्दा रुपमा महासंघको विधानविपरीत चलिरहेकै छ । हाम्रो संगठन यस किसिमका गतिविधि तत्काल रोक्न र देशभरका शाखाहरुले नयाँ सदस्यहरुका लागि अपनाएको मापदण्ड र छनौट गरिएका सदस्यहरुको नाम लिस्ट तत्काल सार्वजनिक गर्न जोडदार माग गर्दछ । र, सर्वदलीय र सर्वपक्षीय एउटा अधिकार सम्पन्न छानविन आयोग गठन गरी थपिएका नयाँ सदस्यहरु र पुराना सदस्यहरु, जो प्रत्यक्ष÷परोक्षरुपले पत्रकारिता पेशासँग संलग्न छैनन्, को महासंघको सदस्य खारेज गर्न विशेष माग गर्दछ ।

हाम्रो संगठनले उठाएका उल्लेखित विषयहरुप्रति गम्भीर भएर त्यसतर्फ महासंघको नेतृत्वले तत्काल कदम नचाले निर्धारित समयमा चुनाव हुन कुनैपनि हालतमा सम्भव छैन । तसर्थ, त्यसतर्फ कदम चाल्न हाम्रो संगठन पुनः जोडदार माग गर्दछ । अन्यथा, हाम्रो संगठन चरणबद्ध संघर्षको घोषणा गर्न वाध्य हुने यसै वक्तव्यमार्फत् चेतावानी दिन चाहन्छ ।”