नेपाली जनताले आफ्नो मुक्तिको लागि दुईवटा पहाड पन्छाउनुपर्छ, सामन्तवादी पहाड र साम्राज्यवादी हाम्रो सन्दर्भमा अमेरिकी साम्राज्यवाद समर्थित भारतीय विस्तारवादी पहाड । जनतन्त्र र राष्ट्रियताको यो लडाईं नजितिकन नेपाल स्वाधीन र सम्पन्न बन्नै सक्दैन । यो कुरा नेपाली जनताले राम्रैसँग बुझेका छन् । नेपाली जनताको यही मनोभावनामा खेल्दै राष्ट्रियताको नाममा सत्तामा जाने र विस्तारवादको चाकडी गरेर सत्तामा टिकिरहन खोज्ने प्रवृत्ति लामो समयदेखि दोहोरिरहेको छ । नेपाली जनताले समकालीन सबै राजनैतिक पार्टीहरुलाई जाँच्ने, परखने र कसी लगाउने काम गरिसके । यसमा कुनै पनि पार्टी खरो उत्रन सकेनन् । सरकारबाहिर रहँदा विस्तारवादविरुद्ध सुरुङ खन्नेसम्मको धमास लगाउने, सरकारमा पुगेपछि विस्तारवादको पाउ मोल्ने हर्कत नेपालका विद्यमान सबै ठूला राजनीतिक पार्टीहरुले गरिसके ।
जब मानिसमा विश्वासको संकट बढ्छ, तब वितृष्णा पैदा हुन्छ । निराशा उत्पन्न हुन्छ, निराशाले पलायनता, कुण्ठा, घृणा, अश्लिलता र आत्महत्यातर्फ डो¥याउँछ । यसकै कारण हो कि आफ्नै आमा समान मातृभूमि नेपाललाई धारेहात लगाउँदै दिनको पन्ध्रसयभन्दा बढी युवाहरु विमानस्थलबाट मात्रै बाहिरिन्छन् । स्थल मार्गहुँदै भारत जाने र त्यहींबाट अरु देशमा बाहिरिनेको संख्याको हिस्सा अझ ठूलो छ । पहिला पहिला बृटिश आर्मी र भारतीय सेनामा जाँदा त भन्ने गरिन्थ्यो, ‘केही जान्ने सुन्ने बल बुद्धि भएका सबैको विदेश बास, कसको मुख हेरी ती गाउले बसोस्, कसको पो गरोस् आस’ । आज त्यो प्रवृत्ति अन्य क्षेत्रमा समेत बढेर गएको छ ।
आज चिया पसल, चोक, चौतारा र सार्वजनिक स्थल, यातायात, सामाजिक संजाल सबैमा राजनीतिक पार्टी र तिनका नेताहरुलाई गाली नगरेको, नसरापेको कुनै क्षण हुँदैन । कुनै पनि राजनीतिक पार्टीका कार्यकर्ता र नेताहरुले ती आरोपहरुको मुख बुझो लगाउन सक्ने गरी प्रतिवाद गर्ने हिम्मत नै राख्दैनन् । हरेक वादलमा चाँदीको घरा हुन्छ भनेझै राष्ट्रियता र जनतन्त्रलाई अगाडि बढाउने पार्टीहरु नभएका होइनन्, तर तिनीहरु तत्काल सत्ताको विकल्प बनिसकेका छैनन् । प्रतिक्रियावादी राज्यसत्ताको कसीमा राष्ट्रियताको नाममा गएपनि प्रजातन्त्रको नाममा गएपनि हनुे यही हो, जसरी हिजो राष्ट्रियताको नाममा राणा र पञ्च थिए, र आज लोकतन्त्रको नाममा कांग्रेस, एमाले र माओवादी केन्द्र छन् । मालेमावादले प्रतिक्रियावादी राज्यसत्तामा जानु हुन्न भनेको मुख्य चुरो कुरा यही हो ।
बाहिर बाहिर भारतीय विस्तारवादको विरोध गर्ने, सुरुङ खन्न लगाउने र भित्रभित्र भारतसँग उच्च सम्बन्ध कायम गर्ने र भारतीय हितविपरीत काम गर्दैनौं भनेर लिखितम कपाली तमासुक गरेर दिएको परिणाम हो अहिलेको परिस्थिति । राष्ट्रियताको चर्को दुहाइ दिएको र भारतीय चेकपोष्ट हटाएको प्रचार भएको बेलामा समेत कालापानीमा सेना राख्न दिएको र १९६५ को गोरखा सैनिक सन्धि गरेको आरोप लागिरहेको छ भने अहिले गरिएको खुल्ला दलालीका विरुद्ध कति ठूलो जनमत बनिरहेको होला सहजै अनुमान गर्न सकिन्छ । हिजो प्रजातन्त्र वा लोकतन्त्रको नारा लगाउदा अराष्ट्रिय तत्व र भारतीय प्रजातन्त्र भन्ने आरोप लगाइन्थ्यो । आज देशभक्त वा राष्ट्रियताको कुरा गर्दा मण्डले राष्ट्रवाद वा महिन्द्रीय राष्ट्रवादको आरोप आउने गरेको छ । दुवै अतिवादबाट बच्नु पर्दछ । कसैले राष्ट्रिय स्वाधीनताको कुरा उठाउँदा त्यसप्रति छि छि र दुर दुर गर्नुपर्ने कुनै जरुरी छैन । नेपाली कांग्रेसलाई प्रजातन्त्रको नारा लगाउँदा एक पटक नेपालमा त्यस्तै गरिन्थ्यो । तर राजाको निरंकुशताको विरुद्ध लडेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन कांग्रेससहितको कार्यगत एकता गर्नुप¥यो । निश्चय नै राष्ट्रियताको नारा लगाउने र सत्तामा गएर निरंकुशता लाद्ने र लोकतन्त्रको नारा लगाएर सत्तामा जाने र विस्तारवादको दलाली गर्ने दुवै प्रवृत्ति हानिकारक छ । त्यसैले त राष्ट्रियता र जनतन्त्रलाई दाहिने देव्रे गोडा चालेझै लेफ्ट राइट लेफ्टको तालमा अगाडि बढाउनु पर्दछ र जुन समयमा एउटा प्रधान समस्या भएर आउँछ, त्यसका विरुद्ध मिल्न सक्ने जतिसँग मिलेर त्यो समस्याको हल गर्दै अगाडि बढ्नु पर्छ ।
हामीले माथि जुन व्याख्या ग¥यौ, मालेमावादले संसारको व्याख्या गर्ने मात्र मुख्य कुरा होइन, संसारलाई फेर्ने कुरा मुख्य हो भनेर मान्दछ । अहिले राष्ट्रिय स्वाधीनताको मुद्दा मुख्य भएर आएको छ । हरेक कुरा एकको दुईमा विभाजन हुन्छ भनेझै अहिले हरेक पार्टीमा दलाल पनि छन् र राष्ट्रिय स्वाधीनताको पक्षधर पनि छन् । तात्कालिक सत्ता र सरकारको स्वार्थले गर्दा भित्रभित्रै गुम्सिएर बसेका छन् । बलियोले कमजोरलाई सँधै उपयोग गर्दछ । क्रान्तिकारी देशभक्तहरुको पार्टीमा दुश्मनले हमेशा घुसपैठ गराउने, त्यो पार्टीमा बलियो स्थान बनाउन लगाउने र सिंगै पार्टी कब्जा गर्न लगाउने, नसकेमा फुटाउने गर्दछ । नेपालका हरेक पार्टी यो चक्र पार गरेर अगाडि बढेका छन् । पार्टी पनि आफैमा एउटा गतिशिल बस्तु हो । त्यो पनि फेरिन्छ, कहिले त्यही पार्टी देशभक्त हुन्छ, कहिले दलाल हुन्छ । उदाहरणका लागि चीनको कोमिन्ताङ पार्टी सन् यात्सेनको नेतृत्व रहुन्जेल रुससँग मित्रता र कम्युनिष्टसँग सहकार्य गरेको थियो । त्यही पार्टीमा च्याङकाइसेक नेतृत्वमा आएपछि अमेरिकासँग मित्रता र कम्युनिष्टसँग दुश्मनी व्यवहार गर्न थाल्यो । हामीले हरेक पार्टीभित्र रहेका देशभक्त र राष्ट्रिय स्वाधीनताका पक्षधरहरुलाई देश र जनताको पक्षमा ल्याउन कोशिस गर्नुपर्दछ । त्यो त्यति सजिलो विषय होइन । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको प्रक्षमा दह्रो आवाज उठाउँदै एउटा शक्तिशाली अवस्थामा नपु¥याउदासम्म दविएर बसेका त्यस किसिमका शक्तिहरु विद्रोह गर्न सक्तैनन् । राष्ट्रियता र जनतन्त्रको समस्या हल गर्ने भनेको नयाँ जनवादी क्रान्तिले मात्र हो । यही क्रान्तिले मात्र नेपाली जनताका दुश्मन दुई ठूला पहाड सामन्तवाद र साम्राज्यवाद हाम्रो सन्दर्भमा भारतीय विस्तारवादलाई हटाउनेछ । यो रणनीतिक लक्ष्य प्राप्त गर्न सैद्धान्तिक रुपमा सहमत हुने तीनवटा कम्युनिष्ट पार्टीहरु नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेकपा (माओवादी)वीच कार्यगत एकता भएको छ, यो खुशीको कुरा हो । यो रणनीतिक हिसाबले महत्वपूर्ण छ र यसलाई रणनीतिक संयुक्त मोर्चाको रुपमा विकास गरेर लैजानु पर्दछ । तात्कालिक राजनैतिक हिसाबले मिल्नसक्ने विषयवस्तु खोजेर कार्यगत एकता पनि गर्नुपर्दछ । कार्यनीति र रणनीतिको सामन्जस्य मिलाउदै अगाडि बढ्न जरुरी छ । संदीय व्यवस्थाको भ्रममा नपरौं, नयाँ जनवादी क्रान्तिको तयारी गरौं भनेर थालिएको जनयुद्धलाई संसदीय व्यवस्थामा नै विसर्जन गराएपछि एउटा ठूलो अविश्वास र निराशा छाएको छ र जुन जोगी आएपनि कानै चिरेका र यिनीहरु पनि सत्ता (सरकार)मा गएपछि त्यस्तै हुन् भन्ने परेको छ । त्यसैले पनि क्रान्ति र परिवर्तनप्रति अविश्वास भएर पलायन, विघटन र विश्रृङ्खलता बढेको हो । धैर्यतापूर्वक सिद्धान्तमा दृढता र कार्यनीतिमा लचकता अपनाउँदै एक एक थुङ्गा फूल उनेर माला बनाएझै अगाडि बढ्दा यी सबै कुरा उल्टिन्छन् र अविश्वास विश्वासमा बदलिन्छ, क्रान्तिकारी उभार फेरि उठ्छ । प्रतिक्रियावादी राज्यसत्ता अन्तर्गत पनि देश र जनताको पक्षमा भएको राम्रा कामलाई सकारात्मक रुपमा र विरोधमा भएका कुरालाई नकारात्मक रुपमा लिनु पर्दछ । वर्तमान सरकारले भारतसँग गरेको २५ बुँदे सम्झौता राष्ट्रघाती भएको कुरा प्रष्ट भैसकेको छ । जनतावीचको अन्तरविरोध हल गर्दा जहिले पनि मैत्रीपूर्ण ढंगले हल गर्नुपर्दछ र जनवादी केन्द्रीयताको तरिकाले समस्या समाधान गर्नु पर्दछ । बहुसंख्यक जनताको विरोधमा जाने कार्य कुनै पनि हालतमा जनवादी कार्य हुन सक्दैन । नेपालमा जब जब विस्तरवादविरोधी आन्दोलन उठ्दछ, तब तब भारतीय विस्तारवादले भित्र भित्र अन्र्तध्वंश मच्चाउने, आन्दोलनकारीलाई हत्या गर्ने, आतंकित बनाउने, घुसपैठ गराउने गर्दछ । हिजो गौर घटना, ६ दिने आन्दोलनमा विरगंजमा भएको आक्रमण र लुटपाटको घटना, माओवादीका राज्यस्तरमा शम्भू यादव, कन्हैया यादवलगायत एक दर्जन नेता, कार्यकर्ताको हत्याको घटनाको श्रृङ्खला घटाएको थियो । आज विभिन्न निहुँमा त्यस किसिमका घटनाहरुको सुरुवात भएको छ । सामन्तवाद, नोकरशाही पुँजीवाद र दलाल पुँजीवाद मिलेर बनेको प्रतिक्रियावादी सत्तामा तात्विक भिन्नता आएको छैन । सामन्तवादी नाइके राजतन्त्र हटेको, केही पुँजीवादी उत्पादन बढेको, र सत्ताको हालीमुहालीमा सामन्तको ठाउँ दलालले दिएको हुँदा दलाल, नोकशाही पुँजीवाद र सामन्तवाद मिलेर बनेको घरेलु प्रतिक्रियावाद नेपाली जनताको प्रधान शत्रु बनेको छ । जसलाई भारतीय विस्तारवादले परिचालित र निर्देशित गरेको छ । हिजो पञ्चायत र राजाको निरंकुशतन्त्र हावी थियो, विस्तारवादले पर्दा पछाडिबाट दबाब दिन्थ्यो, नेपाली जनतालाई थाहा हुँदैन थियो । बाहिर हेर्दा सबै काम नारायणहिटी दरबारले गरेको थियो । त्यसबेला पनि कसरी दबाब दिइन्थ्यो भन्ने कुरा दरबार निकट थुप्रै लेखकहरुले लेखिसकेका छन् । तर आज प्रत्यक्ष रुपमा स–साना कुरामा पनि दिल्ली दरबारबाट, लैनचौरबाट हस्तक्षेप गरेको कुरा नेपाली जनताले देखिसकेका छन् । लेख्न, बोल्न र सभा, संगठन गर्न पाउने वर्तमान अवस्थामा त यस्तो हस्तक्षेप छ भने पर्दा पछाडिबाट झन् कति गर्दो हो । जनताको यो अधिकारलाई प्रयोग गर्दै हामीले यहाँका दलाल र विस्तारवादको सशक्त भण्डाफोर र चिरफार गर्न जरुरी छ । संविधानमा भएका गणतन्त्र, संघीयता, धर्म–निरपेक्षताका सकारात्मक कुरा भएपनि सारतः यो संविधान प्रतिक्रियावादी र जनविरोधी भएकोले यसको खारेजी गर्दै जनगणतन्त्रात्मक संविधानको निर्माणमा दृढतापूर्वक लाग्नु पर्दछ । तत्काल भने राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई लिएर मिल्नसक्ने शक्तिसँग मिलेर अगाडि बढ्नु पर्दछ । हामीले राष्ट्रिय स्वाधीनताको विषयलाई सत्तामा जाने भ¥याङ बन्न अब कसैलाई दिनु हुँदैन । एकथरि दलालहरु के भन्छन् भने हिजो तिमीहरु सत्तामा सरकारमा हुँदा यस्तो यस्तो दलाी ग¥यौ, विस्तारवादीको चाकरी ग¥यौ, हामीले गरेको राष्ट्रघात, विस्तारवादको दलालीमा तिमीहरुले विरोध गर्न पाउँदैनौं र तिमीहरुको विरोधको अर्थ छैन भन्ने गरेका छन् । यो कुरा गलत हो, हिजो कसैले गरेको ‘पापको’ प्रायश्चित गर्छु र अब आइन्दा यस्तो गल्ती दोहो¥याउँदैन भने ठीकै छ, उसलाई शंकाको लाभ दिनु पर्छ आश गर्नुपर्छ आश गर्नु पर्छ तर भर पर्नु हुँदैन र हरेक पाइला–पाइलामा अनुगामन गर्नुपर्छ ।
हिजो क्रान्तिको कुरा गर्दा भू–राजनीतिक अवस्था क्रान्तिको मुख्य बाधक तत्व होइन, वर्ग संघर्षमा होमिन आव्हान गरे, आज लाजै पचाएर भू–राजनैतिक अवस्थितिका कारण संसदीय व्यवस्था मान्न बाध्य भइयो भन्न थालेका छन् । आफ्नो लक्ष्य र निष्ठाप्रति यहाँ भन्दा अविश्वास के हुन सक्छ । हामीले कुनै वीर खोज्ने गल्ती गर्नु हुँदैन । निराशा र अराजकताले एउटा खाली ठाउँ खडा गर्दछ र त्यसलाई भने निरंकुशताको जन्म हुन्छ भनेर निरंकुश तत्वहरुले तर्साउने गर्छन्, हिजो पनि त्यस्तै भनियो र त्यही खाली ठाउँमा ०६१ माघ १९ गते ज्ञानेन्द्रले ‘कू’ गरे तर नेपाली समाज धेरै अगाडि बढेको थियो र त्यो निरंकुशतालाई सवा वर्ष भै ०६३ वैशाख ८ गते ध्वस्त बनाइदियो । यथास्थितिको विकल्प पश्चगमन होइन, अग्रगामी नयाँ जनवादी क्रान्ति हो । महान् एगेंल्सले यस बारे प्रष्ट पारिसक्नु भएको छ कि इतिहासमा पछाडि पारिएका उत्पीडितहरुले उपयुक्त मौका पाए भने प्रगतिशिल शक्तिसँग मिलेर सबैभन्दा अग्रिम मोर्चामा लड्न आइपुग्छन् भनेर । हामीले अब पनि कुनै वीर आइदेला र मुक्ति गरिदेला भनेर सोच्नु हुँदैन । देश र जनतालाई नजरबन्दमा राखेर बोल्न, लेख्न र सभा, संगठन गर्न नदिएर निरंकुशता लाद्नेहरुले देश मैले जोगाएको भन्नु र फिस्टाले बाँस नुगाएको भनेर धक्कु लगाउनु एउटै कुरा हो । बरु राष्ट्रिय स्वाधीनताका पक्षधर सम्पूर्ण नेपालीहरुको एउटा बृहत्तर मोर्चा बनाएर जनतान्त्रिक अधिकार हक अधिकार प्रयोग गर्दै, व्यापक र विस्तृत आन्दोलनको सृष्टि गर्न जरुरी छ । अब संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प पञ्चायत र राणा शासनको उल्टो बाटो होइन । नयाँ जनवाद र समाजवादको सुल्टो बाटो हिड्नु पर्छ । त्यसले मात्र वर्तमान यथास्थितिवादको हल गर्दछ । विगतका पश्चगामी, सामन्ती तत्वहरुले पनि आत्मालोचना गर्दै अग्रगामी र किसान मजदुरसँग मिलेर सबैलाई अगाडि बढ्न मार्ग प्रशस्त गर्नु पर्दछ । हामीले हतारमा गल्ती गर्ने र फुर्सदमा पछुताउने गर्नु हुँदैन । पुरानो सत्ता ढाल्न माग होइन, नयाँ सत्ता संचालन गर्न पनि हरेक देश १५–२० वर्षको गृहयुद्धबाट गुज्रनै पर्छ भन्ने महान् माक्र्सको भनाईअनुसार पनि हामी गृहयुद्धको प्रक्रियाबाट गुज्रदै आएका छौं । वर्ग संघर्षका रुप भने कहिले भुसको आगोजस्तो भित्रभित्रै सल्कने, कहिले नारा जुलुसको रुपमा मानव समूहको लहरको रुपमा र कहिले बन्दुकको नाल तान्ने रुपमा व्यक्त हुन्छ भन्ने लेनिनको भनाईअनुसार अगाडि बढिरहेको छ । कहिलेकाँही सफलता सकारात्मक रुपमा मात्र नभएर सह उत्पादनको रुपमा पनि उदेश्य पूरा हुन्छ । उदाहरणका लागि लेनिनलाई देश बेचुवाको आरोप लागेका ब्रेस्त लितोभस्क सम्झौतामा उक्राइन लगायत गुमाएको भू–भाग सोभियत संघको आफ्नो तागतले भन्दा जर्मनीमा क्रान्ति भएर आएको सरकारले फिर्ता दियो । भारतमा नयाँ जनवादी क्रान्ति भयो वा छिमेकी देशसँग राम्रो सम्बन्ध कायम गर्ने प्रगतिशील सरकार आएमा सुगौली सन्धिमा गुमेको भू–भाग समेत फिर्ता हुन सक्छ । दोस्रो विश्व युद्धमा जहाँ जहाँ सोभियत लालसेना पुगे, त्यहाँ त्यहाँ समाजवादी सत्ता आयो । त्यसकारण साम्राज्यवाद र विस्तारवादले टाउको उठाएर पनि हेर्न नसक्ने गरी हाम्रो देशको राष्ट्रिय स्वाधीनतालाई बलियो बनाउनु पर्छ । बाँकी कुरा समाज विकासको÷परिवर्तनको नियमअनुसार आफैं स्वचालित भइहाल्छ । वर्ग रहेसम्म वर्ग संघर्ष त कसैको इच्छा विपरित निरन्तर भइरहन्छ । त्यो व्यक्तिगत झगडाको रुपमा होस् वा व्यापक सामूहिक प्रयत्नमा निरन्तर भइरहने प्रक्रिया हो ।






























