सुडानमा अपहरणमा परेका २ नेपाली सहित ३ जना मुक्त

सुडानमा अपहरणमा परेका २ नेपाली सहित ३ जना मुक्त

जेनेभा । सुडानबाट एक महिनाअघि अपहरणमा परेका राष्ट्र संघका दुई नेपाली कर्मचारीसहित ३ जना अपहरणमुक्त भएका छन् । 

उनीहरु संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी संस्था (यूएनएचसीआर) मा कार्यरत रहेका छन् । सुडानको युद्धग्रस्त डार्फर क्षेत्रबाट उनीहरुलाई सशस्त्र समूहले नोभेम्बर २७ मा अपहरण गरेको थियो ।

राष्ट्रसंघका शरणार्थी मामिला प्रमुख फिलिप्पो ग्रान्डीले एक महिनाअघि अपहरणमा परेका शरणार्थी नियोगमा कार्यरत दुई जना नेपाली नागरिक सरुन प्रधान र रमेश कार्की तथा एक सुडानी नागरिक मुसा ओमर मुसा मोहमद रिहा भएको जनाएका छन् ।

राष्ट्र संघले आफ्ना कर्मचारीको रिहाईको पहल गरेकोमा सुडान सरकार र सुरक्षाकर्मीमाथि आभार व्यक्त गरेपनि अपहरणमुक्त उनीहरुका बारेमा केही जानकारी उपलब्ध गराएको छैन ।

सन् २००३ मा डार्फर प्रान्तमा भड्किएको द्वन्द्वका क्रममा करिब ३ लाख मारिएका छन् भने २५ लाख भन्दा बढी विस्थापित भएका थिए ।