चितवन । नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनबाट जगत बराम अध्यक्षमा निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि एमालेका तर्फबाट उम्मेदवार बनेका सुर्य भुजेललाइ ८ मतले पछि पार्दै काँग्रेस र माओवादी केन्द्रलगायत दलकोे प्यानलबाट उम्मेदवारी दिएका बराम निर्वाचित भएका हुन् ।
५६ मतदातामध्ये बरामले ३१ र भुजेलले २३ मत पाएका थिए । निर्वाचनमा १ मत बदर भएको थियो ।
यस्तै महासचिवमा गठबन्धनकै नित्यानन्द ताजपुरिया र कोषाध्यक्षमा मुकुन्द पहारी विजयी भएका छन् । ताजपुरियाले ३७ र उनका प्रतिद्वन्दी टासी हृवाल्मुले १५ मत पाएका थिए भने कोषाध्यक्षका उम्मेदवार मुकुन्द पहारीले ३६ र उनका प्रतिद्वन्दी प्रेमीलाल चौधरीले १५ मत प्राप्त गरेका थिए । उपाध्यक्षहरुमा गणेश थकाली र कुष्णकुमारी थकाली विजयी भएका छन् । एमालेविरुद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय समाजबादी फोरम, नयाँ शक्ति र राप्रपाले गठबन्धन गरेका थिए ।
महाधिवेशनले १३ सदस्यीय सचिवालयलाई बढाएर २१ सदस्यीय बनाएको छ । संशोधित विधानअनुसार अध्यक्ष, महासचिव र कोषाध्यक्ष सहित ८ उपाध्यक्ष र १० सचिव हुने व्यवस्था गरिएको छ भने समावेशीतर्फ एक उपाध्यक्ष र एक सचिव महिलाबाटै प्रतिस्पर्धा हुने तथा पाँच जना महिला सचिव अनिवार्य गरिएको छ ।