चितवन । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा जगतराम बराम निर्वाचित भएका छन् । चितवनको नारायणगढमा सम्पन्न नवौं महाधिवेशनबाट बराम अध्यक्षमा निर्वाचित भएका हुन् ।
मंगलबार राति भएको निर्वाचनमा कुल ३१ मतका साथ बराम अध्यक्षमा निर्वाचित भएका हुन् भने उनका प्रतिद्वन्द्वी सूर्य भुजेलले २३ मत हासिल गरे ।
अध्यक्षमा निर्वाचित बराम काँग्रेस निकट हुन भने भुजेल एमाले निकट हुन् । बरामलाई माओवादी केन्द्र, संघीय समाजवादी फोरमलगायतले साथ दिएका थिए ।
यस्तै उपाध्यक्षमा खुल्ला तर्फ किरण सुनुवार (३३), गणेशलाल थकाली (२६), गोविन्द छन्त्याल (२८), नविन रोका मगर (२६), लोकबहादुर दुरा (२७), श्यामप्रसाद मण्डल (२३), सोनाम लामा वालुङ (२४) र महिला उपाध्यक्षमा कृष्णकुमारी शेरचन (३६) मतका साथ विजयी भएका छन् । एक महिला सहित ८ उपाध्यक्षका लागि १६ जना उम्मेदवार रहेका थिए ।
यसैगरी महासचिवमा नित्यानन्द ताजपुरिया ३७ मतका साथ विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी टासी ह्याल्मोले १५ मत मात्रै प्राप्त गरे ।
यसैगरि पाँच जना सचिवमा आङ पासाङ शेर्पा (३२), गोपाल माझी (२६), दानसिंह राउटे (२२), राजकुमार बोटे (२०), सुखवीर थानी (२१) मत ल्याई विजयी भएका छन् ।
महिला सचिवहरुमा लाक्पा हिले शेर्पा, शान्तिदेवी धिमाल, सकुमती राजवंशी, श्रतिमाया कुमाल विजयी भएका छन् ।
कोषाध्यक्षमा प्रेमीलाल प्रसाद चौधरीलाई हराउँदै मुकुन्द बहादुर पहारी विजयी भएका छन् । निर्वाचनमा कुल ५६ मध्ये ५४ मत मात्रै खसेको थियो ।































