
काठमाडौं । एमाले भातृ संगठन युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा युवा संघले आव्हान गरेको बन्दका कारण दोस्रो दिन पनि त्यहाँको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण बजार, पसल, उद्योग, कलकारखाना, शिक्षण संस्था र व्यापार व्यवसाय ठप्प छन् भने प्रदर्शनकारी विहानैदेखि सडकमा उत्रिएर नाराबाजी गरेका छन् ।




बन्दको प्रभाव रुपन्देहीका प्रमुख बजार बुटवल, भैरहवा, खेरेनीलगायतका क्षेत्रमा परेको छ ।
रुपन्देही क्षेत्रमा पर्ने पूर्व–पश्चिम तथा सिद्धार्थ राजमार्गमा पनि अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।
मंगलबार पनि युवा संघले हत्याको विरोधमा मंगलबार रुपन्देही सहित लुम्बिनी अञ्चल बन्द गरेको थियो । बुधबार अन्य जिल्ला भने खुलेका छन् ।