एजेन्सी । मेक्सिकोमा एक पटाका बजारमा भएको विस्फोटमा कम्तीमा २६ जनाको मृत्यु भएको छ ।
राजधानी मेक्सिको सिटीदेखि करिब ३२ किलोमिटर टाढा खुल्ला स्थानमा लाग्ने सेन पाब्लिटो पटाका बजारमा भएको विस्फोटमा अन्य दर्जनौं घाइते भएका छन् ।
विस्फोटबाट एउटा पसलमा आगो लागेपछि अन्य पसलमा समेत फैलिएको थियो । पसलहरुमा आगो लागेर धुवाँको मुस्लो उठेपछि भागदौड नै मच्चिएको थियो ।
मेक्सिकोका राष्ट्रपतिले विस्फोटवछि सो स्थानमा स्वास्थ्यकर्मी तथा प्रहरी परिचालन गरिएको बताएका छन् । सेन पाब्लिटो बजारमा सन् २००५ र २००६ मा पनि आगो लागेको थियो ।
सेप्टेम्बर २००५ मा मेक्सिकोको स्वतन्त्रता दिवस समारोहको ठीक पहिले भएको विस्फोटमा ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको थियो ।