सामान्यतः २०औं शताव्दीको ७०को दशक पछि र विशेषतः २१औ शताव्दीको सुुरुदेखि विज्ञानले कम्प्युटर प्रविधिमा अभूतपूर्व विकास गर्दै आएको छ । केहि वर्ष अगाडिसम्म कल्पना पनि गर्न नसकिने शारीरिक तथा प्राज्ञिक कामहरु कम्प्युटर प्रविधिका कारण आज सहजरुपले सम्पन्न हुने भएका छन् । ड्राईभर बिना चल्ने कारहरुको निर्माण, एकैचोटी सयौ भाषाहरुमा अनुवाद गर्न सक्ने कम्प्युटर सफ्टवेयरको विकास, एटिएम मेसिनबाट वैकिङ्ग कारोबार, अनलाईन शिक्षा, ई–कमर्स लगायतका थुप्रै–थुप्रै कामहरु आज कम्प्युटर प्रविधिले सहजै सम्पन्न गर्न सकिने बनाईदिएको छ । यी प्रविधिहरु सानो मोवाईल सेटमा उपलब्ध हुने भएका छन् । धेरै मानिसहरुले गर्नुपर्ने शारिरीक काम एउटा रोवोटले गर्न सक्ने भएको छ । त्यति मात्र होईन कम्प्युटर प्रविधिले सूचना तथा संचारमा पनि अकल्पनीय परिवर्तन ल्याएको छ । कम्प्युटर प्रविधिले ल्याएको यो समग्र परिवर्तनलाई मानिसहरुले तेस्रो औद्योगिक क्रान्ति अर्थात् अंकीय क्रान्ति भन्ने गरेका छन् । आजकल यसको निकै चर्चा–परिचर्चा हुन थालेको छ । यो विषयमा तल छोटो छलफल गरिएको छ ।
आजभन्दा दुई वर्ष अगाडि, अक्टोबर ४, २०१४का दिन द ईकोनोमिस्ट भन्ने पत्रिकाले द थर्ड ग्रेट वेभ शिर्षकमा विश्व अर्थतन्त्र बारे एउटा विशेष रिपोर्ट प्रस्तुत गरेको थियो । त्यो रिपोर्टले कम्प्युटर प्रविधिको विकासले विश्व अर्थतन्त्रमा के कस्ता नयाँ अन्तरविरोधहरु जन्माई दिएको छ भन्ने लामो विश्लेषण गरेको छ । त्यो प्रतिवेदन लेख्दछ, “कतिपय अर्थशास्त्रीहरुले प्रविधिको यो नयाँ लहरले रोजगारीलाई ध्वस्तगर्न सक्छ भन्ने गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका कार्ल बेनेडिक्ट फ्रे र माईकल अब्सकर्नले यो विश्लेषण अगाडि सारेका छन् कि ७०० भन्दा बढी विभिन्न व्यवशायीक कामहरुलाई सजिलैसंग कम्प्युटरीकृत गर्न सकिन्छ । अमेरिकाका ४७ प्रतिशत रोजगारीहरु अब आउने एक वा दुई दशकभित्र स्वचालित हुने छन् भन्ने उनीहरुले निस्कर्ष निकालेका छन् । … अन्य लेखकहरुको विचारमा पूंजीवाद आफै खतरामा परेको छ ।” रिपोर्टले अर्को ठाउंमा लेख्दछ, “अधिकांश मजदुरहरुलाई एक आपसमा र मेसिनहरुसंग प्रतिस्पर्धा गर्न वाध्य पारिएको छ । यसमा आश्चर्य मान्नु पर्दैन कि विकसोन्मूख वा धनी कुनै देशको अर्थतन्त्रमा पनि मजदुरहरुबाट हुने उत्पादनकोे हिस्सा सानो हुंदै गएको छ ।” त्यसले अरु थपेको छ, “अंकीय क्रान्तिले सानो संख्यामा रहेका दक्ष र सम्पन्न व्यक्तिलाई एकातिर र वाँकि सबैलाई अर्कोतिर गरी समाजमा ठूलो खाडल खनिरहेको छ ।”
यस विषयमा समकालिन विश्वका प्रशिद्ध भौतिक शास्त्री प्रोफेसर स्टेफेन हकिन्सले पनि कलम चलाएका छन् । “हाम्रो ग्रहका लागि यो अत्यन्त डरलाग्दो समय हो” भन्ने शीर्षक अन्तर्गत यही डिसेम्बर २, २०१६का दिन द गार्जियनमा उनको एउटा निकै महत्वपूर्ण रचना प्रकाशित भएको छ । उक्त रचनामा उनले स्पष्ट लेखेका छन्, “कारखानाहरुको स्वचालनले निर्माणका परंपरागत कामलाई ध्वस्त बनाई सकेको छ, कृत्रिम प्रज्ञा (ब्चतषष्अष्ब िक्ष्लतभििष्नभलअभ) को बृद्धिले केही सतर्क, सिर्जनशील र निरिक्षणमूलक कामगर्ने बाहेक मध्यमवर्गको ठूलो हिस्सासम्मले नोकरीबाट हात धुनुपर्ने अवस्था आउने छ ।” उनले यहाँ साम्राज्यवादी विश्वको आगामी चित्रलाई वस्तुवादी र मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् ।
उनले अगाडि लेखेका छन्, “यसले विश्वका धनी र गरीवका बीचमा वढ्दै गएको असमानताको खाडललाई अरु फराकिलो पार्ने छ । इन्टरनेट र यसले निर्माणगर्ने प्लेटफर्मले थोरै मान्छेलाई रोजगारी दिएर सानो संख्यामा रहेका व्यक्तिहरुलाई अत्यधिक आम्दानी गर्न संभव बनाई दिनेछ । यो अपरिहार्य छ, यो प्रगति हो, तर यो सामाजिक हिसावले ध्वंशात्मक पनि छ ।” उनले अरु थप्छन्, “कुल मिलाउंदा, हामी आर्थिक असमानताको खाडल घट्दो होईन बढ्दो अवस्थामा यो संसारमा बाँचिरहेका छौं, जुन संसारमा मानिसले आफ्नो जीवनस्तर मात्र होईन जीविकोपार्जनका लागि आवश्यक सामाग्री आर्जनगर्न चाहिने योग्यता पनि गुमाउंदै गएको छ । यसमा आश्चर्य मान्नु पर्देन, नयाँ उपायहरु खोज्ने क्रममा मानिसहरु ट्रम्प र ब्रेक्सिटको पछाडि कुदिराखेका छन् ।”
यसै सन्दर्भमा, एरिक ब्रिन्जोल्फसन र उन्ड्रिउ म्याकाफेले पनि २०११मा मेसिन बिरुद्धको दौड भन्ने एउटा महत्वपूर्ण पुस्तक प्रकाशित गरेका छन् । उनीहरुको त्यो पुस्तकको एउटा उपशिर्षक नै “रचनात्मक ध्वंशः प्रविधिको गति बृद्धिगर्ने र रोजगारी सिध्याउने अर्थतन्त्र” भन्ने रहेको छ । यो उपशीर्षकले विद्यमान पूंजीवादी यथार्थको वस्तुवादी चित्रण गरेको छ । यसबाट यस पुस्तकमा लेखक द्वयले के भन्न खोजेका होलान् भन्ने आंकलन गर्न त्यति गाह्रो छैन । प्रविधिको विकास हुनु रचनात्मक कुरा हो तर यसले रोजगारीलाई सिध्याएर विश्व अर्थतन्त्रलाई धरापमा पारेको छ भन्ने यस पुस्तकले निस्कर्ष निकालेको छ ।
माथि भनिए जस्तै, पूंजीवादको अन्तरनिहित चरीत्र, वर्तमान आर्थिक संकट र त्यसमाथि रोजगारी सिध्याउने कम्प्युटर प्रविधिको विकासलाई संगै राखेर हेर्दा संसारको आगामी चित्र अत्यन्त भयावह देखिन्छ । विश्व जनसंख्याको ठूलो हिस्सा क्रमशः बेरोजगार बन्दैजाने र त्यसको परिणामस्वरुप बजारको क्रयशक्ति घट्दै जाने स्थितिमा उत्पादन किन र कस्का लागि भन्ने प्रश्न अगाडि तेर्सिंदै छ । अर्थ–राजनीतिक हिसाबले यो सामान्य अवस्था होईन । शायद लेनिनले साम्राज्यवाद पँुजीवादको अन्तिम तथा मरणासन्न चरण हो भनेको यसैलाई हो ।
एउटा गंभीर प्रश्न उठछ, के प्रविधिको विकास नै यीे यावत समस्याको कारण हो ? यसबारे द इकोनोमिस्टको रिपोर्टले लेखेको छ, “प्रविधि भनेको आफ्नो कुनै कार्यसूचि नभएको हतियार हो, तर यसको प्रभाव समाजमा निरपेक्ष हुंदैन । यसले कसैको जीविकालाई खाईदिन्छ र कसैलाई धनी बनाउँंछ । समाजको मूल्य र दृष्टिकोणसँंग प्रविधिलाई मिलाउन राजनीतिले नियम तथा संस्थाहरुको निर्माण गर्नु पर्दछ ।” रिपोर्टले एकदम ठीक कुरा उठाएको छ । प्रविधिको मातहतमा समाजलाई राख्ने होइन समाजले प्रविधिलाई आफ्नो नियन्त्रणमा राखेर यसलाई आम श्रमजीवि जनताको सहयोगी बनाउन सक्नु पर्दछ । यो नै प्रविधिलाई जनताको उपयोगमा ल्याउने विधी हो ।
अहिले हामी साम्राज्यवादी युगमा छौं । के साम्राज्यवादले प्रविधिलाई आफ्नो नियन्त्रणमा लिएर कामबाट हात धोईरहेका सर्बहारा, निम्न तथा मध्यम वर्गीय जनताको ठूलो हिस्साको हितप्रति कुनै सहानुभूति दर्शाउने नयाँ नीति–नियमहरु बनाएर त्यसको कायान्वयन गर्ला ? यो असंभव छ । पूंजीवादको सार नै मुनाफा हो । उदाहरणका लागि, रु १ लाखमा किनेर प्रतिदिन २४ घण्टाका दरले १० बर्षसम्म निरन्तर प्रयोग गर्न सकिने एटिएम मेसिनलाई हटाएर बैकको कुनै पनि मालिकले प्रति व्यक्ति मासिक रु २५ हजारका दरले त्यसका ठाउँमा तीन जना कर्मचारीलाई नियुक्ति दिन र १० वर्षमा उनीहरुको तलबस्वरुप ९० लाख खर्चगर्न तयार होला ? यो कल्पनासम्म पनि गर्न सकिन्न । यो युगमा प्रविधिले राजनीतिलाई नियन्त्रण गरिराखेकोे छ, राजनीतिले प्रविधिलाई होईन । यो संयोग पनि होईन, पूँजीवादको अन्तरनिहित चरीत्रको अनिवार्य परिणाम हो ।
अब अर्को प्रश्न उठ्छ, प्रविधिको विकासले श्रमजीवि जनताको रोजगारी खोसिएको हुनाले प्रविधिको विकास गर्नु नै गल्ती भएको हो त ? होइन यो हुनै सक्दैन । वस्तुतः प्रविधिको विकास भनेको उत्पादनका साधनको विकास हो र यसले उत्पादक शक्तिलाई समृद्ध बनाईराखेको हुन्छ । उत्पादनको बृद्धिका निमित्त उत्पादक शक्तिको विकास हुनु अनिवार्य छ । हामीले इतिहासमा पहिलो र दोस्रो औद्योगिक क्रान्ति भएपछि उत्पादक शक्तिको विकासले उत्पादनका क्षेत्रमा गरेको चामत्कारिक बृद्धिलाई देखेका छौं । उत्पादक शक्तिको विकासले आफ्नो अनुकुलको उत्पादन सम्बन्धको माग गर्छ र नयाँ उत्पादन सम्बन्धले तदनुसार उत्पादक शक्तिको थप विकास गर्दछ । साम्राज्यवादी विश्व व्यवस्थामा वारम्बार आर्थिक संकट पैदा भैरहनुका पछाडिको एउटा मूख्य कारण उत्पादक शक्तिको विकासको अनुपातमा उत्पादन सम्बन्धको विकास नहुनु हो । विश्वमा यतिबेला पिछडिएको उत्पादन सम्बन्ध र विकसित उत्पादक शक्तिका बीचको अन्तरविरोध उत्कर्षमा पुगेको छ । यो अन्तरविरोध नै वर्तमान आर्थिक संकटको मूल कारण हो । यो अन्तरविरोधलाई हल गरेर मात्र विश्व जनसमुदायलाई बारम्बार हुने आर्थिक संकटबाट मुक्त गर्न सकिन्छ ।
यो अन्तरविरोध निजी स्वामित्व र सामूहिक उत्पादनमा आधारित पुंँजीवादी उत्पादन पद्धतिको अनिवार्य परिणाम हो । त्यसकारण, साम्राज्यवादी विश्व व्यवस्थाले यो अन्तरविरोधको समाधान गर्न सक्ला त भन्ने प्रश्नै उठ्दैन । पँुजीवादी उत्पादन सम्बन्धको खारेजी र त्यसका ठाउँमा समाजवादी उत्पादन सम्बन्धको स्थापना यो अन्तरविरोधलाई समाधान गर्ने दिशाको पहिलो खुड्किलो हो । अर्कोकुरा, यो अन्तरविरोध शान्तिपूर्ण तरिकाबाट हल हुन पनि सक्दैन । माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक मार्गनिर्देशन र सर्बहारावर्गको अग्रदस्ता कम्युनिस्ट पार्टीको नेतृत्वमा हुने समाजवादी क्रान्तिले मात्र यो अन्तरविरोधलाई हलगर्ने मार्ग प्रसस्त गर्दछ ।
विज्ञान, प्रविधि तथा उत्पादनका साधनको कुनै वर्गीय पक्षधरता हुंँदैन । जुन वर्गले यसलाई प्रयोग गर्छ त्यसैको हितमा यसले काम गर्छ । पुँजीवादी समाजमा विकसित प्रविधिलाई मूट्ठीभर पुँंजीपतिहरुले अत्यधिक नाफा आर्जनका निमित्त प्रयोग गर्छन् । त्यसो गर्दा द ईकोनोमिस्टको प्रतिबेदनले भनेजस्तै तेस्रो औद्योगिक क्रान्ति अर्थात् अंकीय क्रान्तिले सम्पन्न र दक्षहरुको एउटा सानो हिस्सालाई छाडेर बाँंकीलाई सडकछाप भिखारी बनाउने कुरा निश्चित छ । यो स्थितिमा अंकीय क्रान्ति सर्बहारा वर्ग, निम्न पुँजीपति र मध्यमवर्गको लागि समेत अभिशाप बन्न जान्छ ।
अर्कोतिर, समाजवादी समाजमा सर्बहारा वर्गले पुँजीवादी उत्पादन सम्बन्धलाई ध्वस्त पारेर समाजवादी उत्पादन सम्बन्ध स्थापना गर्दछ र त्यसपछि आफ्नो सत्तामार्फत् विकसित प्रविधिलाई आफ्नो नियन्त्रणमा राखेर त्यसलाई आम उत्पीडित जनताको हितमा प्रयोग गर्दछ । यसले आम श्रमजीवि जनताको श्रमघण्टालाई घटाउन, कामलाई सजिलो बनाउन र तिनीहरुको जीवनस्तर उकास्न सहयोग गर्दछ । यो स्थितिमा कम्प्युटर प्रविधिको विकास अर्थात् अंकीय क्रान्ति सर्बहारा, निम्न पुँंजीपति र मध्यमवर्गको एउटा हिस्सा लगायत आम उत्पीडित जनताका लागि एउटा बरदान सावित हुन जान्छ ।
यतिबेला, पुँंजीवादको अन्तरनिहीत चरित्र, आर्थिक संकट र अंकीय क्रान्तिको परिणाम स्वरुप साम्राज्यवाद एकपछि अर्को गर्दै चौतर्फी संकटमा फस्दै गएको छ । यो संकटबाट आक्रान्त उत्पीडित जनता यसको विकल्पको खोजीमा हकिन्सले भनेजस्तै कहिले ट्रम्प र कहिले ब्रेक्सिटका पछाडि त कहिले इटलीको युरोपियन युनियन विरोधी पाँंच तारे आन्दोलनका पछाडि र कहिले लुम्बिनी अञ्चलका तीन जिल्लालाई मधेशबाट अलग्याउन हुन्न भन्ने एमालेका पछाडि कुदीरहेका छन् । साम्राज्यवाद संकटमा हुनु र जनता विकल्पको खोजीमा हुनु भनेको सर्बहारा क्रान्तिका लागि बस्तुगत परिस्थिति अनुकूल बन्दै जानु हो । यो स्थितिमा क्रान्तिकारी कम्युनिस्टहरुले माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक निर्देशन र सच्चा कम्युनिस्ट पार्टीको नेतृत्वमा आ–आफ्नो देशको विशेषताअनुसार समाजवादी अथवा नयाँ जनवादी क्रान्तिलाई अगाडि बढाउन जोड गर्नु पर्दछ । क्रान्ति पछि मात्र उत्पादन सम्बन्धलाई बदल्न संभव छ । यही नै अंकीय क्रान्तिको पछिल्लो प्राविधिक उपलब्धिलाई बरदान सावित गर्ने एकमात्र उपाय हो ।
मंसीर २४, २०७३