राज्यसञ्चालनका सबै तहमा महिलाहरुको भूमिकालाई कसरी सुनिश्चित गर्ने ? त्यो भूमिकालाई वैज्ञानिक र न्यायोचित कसरी बनाउने ? यो विषय केवल नेपाली समाजमा यतिखेर विद्यमान समस्या मात्र नभएर यो विश्वव्यापी समस्या हो । यसको सही समाधान निकाल्न सकिएमा यसले विश्वस्तरका समस्या समाधान गर्न पनि मद्दत हुन सक्ने देखिन्छ । विषयलाई स्पष्ट गर्ने उद्देश्यले यसलाई विभिन्न शीर्षकमा राखेर चर्चा गरिने छ ।
महिला उत्पीडनको ब्यापकता
विभिन्न देशका सामाजिक अवस्थामा विविध प्रकारका समस्या हुन्छन् । कतिपय देशमा कतिपय सामाजिक अवस्थामा विद्यमान समस्या अन्य कतिपय देश र सामाजिक अवस्थामा देखा पर्दैनन् । त्यस प्रकृतिका समस्या या त्यहाँ छँदै थिएनन् वा कुनै ऐतिहासिक काल खण्डमा भएको भए पनि अहिले ती समस्याको समाधान भइसकेको छ । त्यसप्रकारको समस्याका रुपमा वर्ण व्यवस्था, वा जात र त्यसका आधारमा हुने भेदभावको समस्या आज संसारका धेरै देशमा छँदै छैनन् । तर, नेपाल र भारत जस्ता देशमा ती समस्या निकै जटिल समस्याका रुपमा विद्यमान् छन् । कुनै समयमा कुनै देशमा विद्यमान् जातीय समस्या अर्को समयमा समाधान भइसकेका हुन्छन् र ती समस्याका रुपमा देखा पर्दैनन् ।
तर, महिला उत्पीडनका समस्या धेरै थोरै प्रायः सबै देशमा विद्यमान् छन् र लामो समय सम्म भइ नै रहने छन् । कतिपय समस्या एकपटक समाधान गरेपछि ती सधैंका लागि समाप्त हुन पनि सक्दछन्, जस्तो कि वर्णाश्रम अथवा जातपातमा आधारित सामाजिक व्यवस्था । तर, महिलाविना कुनै अपवाद संसारका सबै देशमा र सबै कालमा भैरहने कुरा हो । अनन्तकाल सम्म एउटा समाजलाई निरन्तरता दिनका लागि महिला र पुरुष दुबैको आवश्यकता सँधै परिनै रहन्छ र प्राकृतिक रुपमा पनि यो संसारमा महिला र पुरुष त्यतीबेला सम्म रहिनै रहने छन्, जतीवेला सम्म यो संसार रहने छ । विगतमा रुस, चीन लगायतका समाजवादी व्यवस्थामा पुरुषद्वारा महिलामाथिको उत्पीडनको समस्याको समाधान गर्ने काम निकै सिमासम्म भएको थियो । तर, समाजवादी व्यवस्था उल्टिना साथै ती समस्या फेरि ती देशमा देखापर्दै गएका छन् । समस्या र उत्पीडनका रुप अलग अलग छन्, तर सामान्यरुपमा मातृ सत्तात्मक अवस्थालाई छाडेर, महिला उत्पीडनको समस्या एक प्रकारले सार्वभौमिक समस्या हो भन्दा पनि अत्युक्ति नहोला ।
महिला उत्पीडनको समस्याको मुख्य कारण पितृ सत्तात्मक सामाजिक–राजनीतिक व्यवस्था हो । जुन समाज मातृ सत्तात्मक हुन्छ, त्यहाँ महिलामाथि उत्पीडन हुँदैन । हरेक देशमा कुनै न कुनै कालमा मातृ सत्तात्मक व्यवस्था रहेको हुनु पर्दछ । हाम्रो नेपाली समाजमा पनि कुनै बेला मातृसत्ता थियो भन्ने कुरा केही तथ्यहरुले दर्शाउँदछन् । विभिन्न धार्मिक ग्रन्थ महिलाकै वीरता र क्षमताको गाथाको वयान गरेर लेखिएको हामी पाउँदछौं । दशैंको बेलामा नौरथाको बेलामा हामी जुन चण्डी पाठ गर्दछौंं, त्यसमा दुर्गा, काली, भगवती आदि देवीहरुका वीरगाथा र स्तुती गरिएको पाइन्छ । निश्चय पनि त्यतीखेर कुनै समयमा महिला सम्मानित थिए र उनीहरु सर्वत्र सक्षम भूमिकामा थिए । फौजी क्षेत्रमा पनि उनीहरु कुशल रहेको कुरा उनीहरुले पुरुष पक्षका ठुला लडाकुहरुलाई पनि पराजित गरेका कहानीहरको त्यहाँ उल्लेख भएको पाइन्छ । संस्कृत भाषामा लेखिएका ती ग्रन्थहरुमा पुरुषहरु ”राक्षसहरु”सँग लड्न नसके पछि ”देवताहरु”ले देवी, भगवतीको स्तुती गरेर उनीहरुसँग प्रार्थना गरेर, गुहार मागेर राक्षसहरुबाट आफ्नो ज्यान जोगाएका कुराहरु त्यहाँ उल्लेख छन् । आज पनि नेपाली समाजमा कमसेकम वर्षमा एक पटक दशैंमा दुर्गा पुजा धुमधामका साथ गर्ने प्रचलन छ । कुनै समयमा रचिएका शास्त्रीय रचनाहरुमा यस्तो पनि लेखिएको पाइन्छ ः “यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवताः”(अर्थात् जहाँ महिलाहरुको सम्मान गरिन्छ, त्यहाँ देवताहरु पनि खुसी हुन्छन्) ।
त्यतिखेर शासन सत्ताको संचालन पनि मूलतः महिलाहरुले नै गरेका थिए भन्ने अनुमान गर्न सकिन्छ, अर्थात् त्यतिखेरको समाज मातृ सत्तात्मक थियो । त्यसकारण, त्यतिबेला महिला माथि सामाजिक र शासकीय उत्पीडन थिएन होला भन्न सकिन्छ । यतिखेरको विश्वमा भएका व्यवस्थाको कुरा गर्ने हो भने, धेरै ठुला असमानताहरु देखा पर्दछन् । हामी अहिले त्यतातिर नजौं । हाम्रै नेपालमा भएको महिला माथिको उत्पीडनतिर केन्द्रीत होऔं ।
सामन्ती र पुँजीवादी अधिकार
नेपालमा इतिहासको पछिल्लो काल खण्डमा आउँदा माथि उल्लिखित अवस्था भन्दा नितान्त भिन्न अवस्था देखा पर्दछ । नेपालमा विद्यमान् अर्ध–सामन्ती व्यवस्थाको प्रभाव समाजका सबै क्षेत्रमा देख्न सकिन्छ, त्यसमा महिला क्षेत्र पनि पर्दछ । नारीको सम्मान गर्नु पर्ने कुराको ठिक विपरीत “कुमारी हुँदा बाबुले रक्षा गर्छन्, यौवनको अवस्थामा पतिले रक्षा गर्छन्, बृद्धा भएको अवस्थामा छोराले रक्षा गर्दछन्, त्यसकारण महिला कहिल्यै पनि स्वतन्त्र हुन सक्दैनन्” भन्ने शास्त्रीय रचनाहरु प्रकाशित हुनु त्यतिखेरको महिलाको सामाजिक स्थिति कस्तो रहेछ भन्ने कुराको चित्रण हो । सामन्ती युगमा महिलाको अधिकार कुनै पनि क्षेत्रमा सुनिश्चित भएन । सम्पत्तिमाथि उनीहरुको अधिकार पुरै खोसिएको पाइन्छ । आफ्ना बाबुको सम्पत्तिको उत्तराधिकारी दाजुभाइ हुने र आफ्नै श्रीमान्को सम्पत्तिको हकदार आफूले जन्माएर हुर्काएका छोराहरु हुने तर आफू नहुने अवस्था रहेको थियो । बाबु–आमाको सम्पत्तिमाथि दाजु–भाइ सरह वा कुनै पनि हिस्साको हक महिलालाई अहिलेसम्म पनि प्राप्त भएको छैन । खाली श्रीमान्को सम्पत्तिमाथिको अधिकार कानुनतः प्राप्त छ, तर धेरै ठाउँमा, पिछडिएका ठाउँमा, त्यो हकको उपभोग महिलाले गर्न सकेका छैनन् । सम्पत्तिमाथिको अधिकार भनेको पनि एक प्रकारको सत्ता कै अधिकार हो । सम्पत्तिमाथिको अधिकारबाट वंचित हुनु परेको हुनाले महिलाले धेरै अधिकारबाट वंचित हुनु परेको हुन्छ ।
सम्पत्तिसम्बन्धी अधिकारमा अहिले पनि बाबु–आमाको अंश नपाउनु भनेको छोरा र छोरीको अर्थात् महिला र पुरुषको अधिकार समान नहुनु हो । अर्कातिर, सामन्ती युगमा श्रीमान्को सम्पत्तिको हकदार छोरा हुने तर श्रीमती नहुने भन्ने नियमको सट्टा अर्धसामन्ती वा केही पुँजीवादी विकास भएको अवस्थामा श्रीमतीलाई त्यो सम्पत्तिको अधिकार प्राप्त भएको छ । मध्ययुगीन सामन्तवादी व्यवस्थामा श्रीमान्को चितामा सँगै जल्नुपर्ने जस्तो क्रुर सती प्रथासम्म पनि थियो । तर, त्यो घटना इतिहासको कलंकका रुपमा मात्र बाँकी छ । सामन्ती व्यवस्थामा एकजना पुरुषले जतिजना पनि श्रीमती ल्याउन र राख्न पाउने व्यवस्था अहिले गैरकानुनी मानिन्छ र त्यसको निमित्त उस्लाई दण्डित गरिन्छ । यी भए नेपाली महिलाले पाएका केही पुँजीवादी अधिकारहरु ।
पुँजीवादको मुख्य नारा हो– “समानता” र “स्वतन्त्रता” । पुँजीवादले महिला र पुरुषलाई समान अधिकार दिने कुराको वकालत गर्दछ । लामो समयदेखि उत्पीडनमा परेका महिलालाई दिइने भनिएको अधिकारको महिलाले समाजका सबै क्षेत्रमा उपभोग गर्न सकेका हुँदैनन् । पुँजीवादमा अभ्यास गरिएका कतीपय “अधिकार”ले त्यहाँ महिलाहरुमाथि थप बोझ र समाजमा नयाँ विकृती पनि पैदा गराएको देखिन्छ । पुँजीवादले महत्वकासाथ उठाउने गरेको ”स्वतंत्रता”को विस्तार “यौन स्वतन्त्रता”मा पनि हुन्छ । पुँजीवादी देशमा औपचारिक रुपमा विवाह गर्ने प्रचलन धेरै कम हुँदै गएको छ । औपचारिक रुपमा विवाह गरिसकेपछि पत्नीलाई सम्पत्तिलगायत सबै अधिकार दिनुपर्ने भएको हुनाले पुरुषहरु त्यसबाट बच्नका लागि औपचारिक विवाहबाट पन्सिने गरेको पाइन्छ । विवाह नगरीकन सहवास गर्ने प्रचलन पश्चिमी पुँजीवादी देशहरुमा व्यापकरुपमा पाइन्छ । त्यस दौरानमा पैदा भएका बच्चाहरुको पुरुषले कुनै जिम्मेवारी लिनु पर्दैन । त्यो जिम्मेवारी महिलाकै हुन आउँछ, किनभने आफुले जन्म दिएको बच्चालाई महिलाले परित्याग गर्न सकदैनन् । आज पश्चिमी मुलुकमा लावारिस बच्चाहरुको संख्या यति धेरै बढेको छ कि त्यो समाजका लागि र सरकारका लागि निकै ठुलो चुनौती नै बनेको छ । यसलाई पुँजीवादी व्यवस्थाले महिलाको अधिकारको रुपमा व्याख्या गर्ने गर्दछ । हाम्रो अर्ध–सामन्ती समाजमा पनि यो ”अधिकार” विस्तारै भित्रिंदै छ र नेपाली समाजलाई विकृती तिर लैजाँदै छ । जबर्जस्ती, दमन र उत्पीडनमा परेर पनि, दासी भएर पनि एउटी महिलाले पुरुष सँग बसिरहनै पर्दछ भन्ने कुराको वकालत गर्नु सामन्तवाद र पितृसत्ताको पक्ष पोषण गर्नु हो । तर, स्वतन्त्रताको नाममा पुँजीवादी संस्कृति भित्र्याउनु पनि गलत हो । पुरुष र महिला दुबैले एकनिष्ठताको पालना गर्नु, समानता कायम गर्नु नै एउटा आदर्श पारिवारिक जीवन मानिन्छ ।
पुरुषको उत्पीडनबाट मुक्तिका लागि महिलालाई सम्वन्ध विच्छेदका अधिकार दिने कुराको हामीले समर्थन गर्नु पर्दछ । तर, पश्चिमी मुलुकमा पति पत्नीका वीचमा सम्वन्ध विच्छेदका घटना त अती सामान्य बनेको छ । ती देशमा सम्वन्ध विच्छेदको संख्या यती धेरै बढेको छ कि सम्वन्ध विच्छेद नगर्नेको संख्या चाहिँ अत्यधिक कम हुने गरेको बताइन्छ । यसले परिवारमा अत्यधिक मात्रामा विघटन ल्याउने गरेको पाइन्छ । यो संस्कृतीले नेपालमा पनि केही वर्ष यता निकै प्रभाव पारेको कुरा तथ्यांकहरुले बताउँदछन् ।
भनिन्छ, पुँजीवादमा महिलाहरुलाई पुरुष सरहनै समान अधिकार प्राप्त छ । तर, राज्यका निकायमा महिलाहरुको पहुँच पुरुष सरह कतै पनि देखिँदैन । राजनीतिक क्षेत्रमा पनि महिलाहरु पुरुषको तुलनामा अत्यन्त कम देखिन्छन् । राज्यका अन्य क्षेत्रमा पनि महिलाको भूमिका अत्यन्त न्युन देखिन्छ । त्यसकारण, पुँजीवादमा दिइने सर्वत्र ”समानता”को नारा केवल जनतालाई विशेषतः महिलालाई झुक्याउने चालवाजी सिवाय अरु केही होइन । सारमा, पुँजीवादमा पनि महिला उत्पीडन कायम नै रहन्छ, कतीपय अवस्थामा त्यो विकृतीका रुपमा र अत्यन्त घृणित रुपमा देखा पर्दछ ।
एन्जीओ र स्त्रीवादी आन्दोलनको भूमिका
महिला अधिकारको माग समाजको अत्यन्त जायज माग हो र यो यस प्रकारको माग हो जस्को कसैले पनि बिरोध गर्न मिल्दैन । महिला अधिकारका विरोधीहरु पनि खुला रुपमा बिरोध गर्ने आँट गर्न सक्दैनन् । अर्को पक्ष के पनि छ भने जब कुनै पनि क्रान्तिकारी आन्दोलनमा महिला सहभागिता व्यापकरुपमा हुन्छ, त्यसको सफलताको बढी सुनिश्चितता हुन्छ । महिला सहभागिता बिनाका आन्दोलन माथि दमन गर्न, त्यसलाई निस्तेज बनाउन प्रतिकृयावादीलाई अपेक्षित रुपा सजिलो हुन्छ । आधा जन संख्या नै आन्दोलनबाट कटिएको अवस्थामा त्यो आन्दोलनको प्रभावकारीतामा ठुलो असर पर्दछ । त्यसकारण महिला अधिकारका लागि गरिने आन्दोलन क्रान्तिकारी आन्दोलन बन्न नजाओस् भन्नेमा साम्राज्यवादी र प्रतिकृयावादीहरु अत्यन्त सचेत र होशियार हुन्छन् । महिला आन्दोलनलाई पुरै रोक्नु उनीहरुको क्षमता भन्दा बाहिरको कुरा हो । त्यसैले उनीहरु कृत्रिम प्रकारका ”महिला आन्दोलन”को सृष्टि गरेर सच्चा महिला आन्दोलनलाई विकृत पार्ने र त्यसलाई क्रान्तिकारी आन्दोलन सँग जोडिन नदिने र त्यसलाई क्रान्तिबाट अलग पुँजीवादी विकृतीतिर लैजाने आन्दोलन बनाउने सचेत प्रयास गर्दछन् । त्यसका निमित्त उनीहरुले प्रयोगमा ल्याउने गरेका आन्दोलन हुन् ः एन् जि ओ वादी र स्त्रीवादी आन्दोलन ९ाझष्लष्कत mयखझभलत० । यी दुबैले विशेषतः “महिला अधिकार”का नाममा पुँजीवादी अधिकारको वकालत गर्दछन्, जसको विकृतीको विषयमा माथि चर्चा गरिसकिएको छ । एकथरीले के भन्ने गर्छन् भने सामन्ती अधिकार भन्दा त पुँजीवादी अधिकार प्रगतिशील हुन्छ, त्यसकारण सबै पुँजीवादी अधिकारको समर्थन गर्नु पर्दछ । उनीहरुको भनाईमा त्यसो नगर्नु सामन्तवादको पक्षपोषण गर्नु हुन जान्छ ।
यहाँनेर हामीले प्रगतीशील पुँजीवादी र विकृत पुँजीवादी अधिकारका वीचमा अन्तर गर्न सक्नु पर्दछ । हामी सामन्तवादको सबै क्षेत्रमा विरोध गर्दछौं किनभने त्यो नेपाली समाजको रुपान्तरणका लागि वाधक व्यवस्था हो । त्यसले सबै प्रकारका सामन्ती उत्पीडनलाई कायम राख्ने काम गर्दछ । तर, त्यसको बिरोध गर्ने नाममा पुँजीवादको विकृतीलाई भित्र्याउनु अर्को विडम्वना हुन जान्छ । त्यसकारण हामी सामन्तवादको बिरोध गर्छौ र विकृत पुँजीवादको पनि बिरोध गर्दछौं । ती दुबै प्रतिकृयावादी र जन विरोधी भएका हुनाले हामी दुबैको विरोध गर्दछौं । हामी नयाँ खालको व्यवस्था अर्थात् नयाँ जनवादको समर्थन गर्दर्छौ । ठिक यही कुरा महिला अधिकारको प्रश्नमा पनि लागु हुन्छ ।
ठिक यहीँनेर हाम्रा क्रान्तिकारी महिला संघ र अन्य संगठनहरुका वीचमा अन्तर देखिन्छ । महिला अधिकारका लागि भनेर साम्राज्यवादले ठुलो धनरासी खर्च गरेर बनाएका एन् जि ओ र स्त्रीवादी आन्दोलन र सामन्तवादको बिरोधका नाममा विकृत पुँजीवादलाई समर्थन गर्दछन् र उत्पीडित राष्ट्रहरुमा प्रवेश गराउँदछन्, किनभने उनीहरुको पेसा नै त्यसैमा आधारित हुन्छ । वास्तवमा उनीहरु महिला आन्दोलनकारी होइनन्, साम्राज्यवादले दिएको जागिर खाने जागिरेहरु हुन्, जस्ले दाताको निर्देशनमा कामगर्दछ । तर क्रान्तिकारी महिला संधले ती दुबैको बिरोध गरेर ती दुबै भन्दा भिन्न नयाँ जनवादी अधिकारलाई स्थापित गराउनका लागि संघर्ष गर्दछन् । यहाँ हामीले ध्यान दिनु पर्ने विषय के छ भने ”महिलाको अधिकारका लागि”, ”महिला हिंसा”का बिरुध्द खोलिएका एन् जी ओ हरु र स्त्रीवादी आन्दोलनले पनि महिला कै हक हितमा काम गरेको देखाउने भएकाले यिनीहरुले क्रान्तिकारि महिला आन्दोलन भित्र पसेर वा तिनको सहयोगी भएको देखाएर तिनलाई समाप्त पार्ने काम गर्दछन् । साम्राज्यवादीहरुले एन् जीओ मार्फत् तेस्रो विश्वका गरीव देशहरुमा चलेको क्रान्तिकारी आन्दोलनलाई गुमराह गर्न र समाप्त पार्नका लागि जुन धनराशी ओइ¥याउँछन्, त्यो हाम्रो देशको गरीवी हटाउन र नेपालमा रोजगारी सिर्जना गर्नकालागि होइन । नेपालको क्रान्तिकारी आन्दोलन तुहाउनका लागि हो भन्ने कुरामा प्रष्ट हुनु जरुरी छ ।
महिला आन्दोलन र नौलो जनवादी आन्दोलन
माथि उल्लेख गरिसकिएको छ कि महिला आन्दोलन अन्य वर्ग, जाति, क्षेत्रको उत्पीडनका बिरुद्धको आन्दोलनभन्दा अलग र छुट्टै किसिमको आन्दोलन हुन सक्दैन । यसलाई छुट्टै र अन्य आन्दोलनसँग सम्बन्ध नभएको आन्दोलन बनाउनका लागि एन्जीओ र स्त्रीवादी आन्दोलनको उद्देश्य रहने गरेको छ । त्यसो मात्र होइन, तिनीहरुले महिला आन्दोलनलाई जनवादी आन्दोलनको विपक्षमा उभ्याउने प्रयास गर्दछन् । यसका निमित्त तिनीहरुले क्रान्तिकारी आन्दोलनलाई, क्रान्तिकारी पार्टीहरुलाई कमजोर पार्न हर प्रकारका प्रयत्नहरु गर्दछन् । तर, सही लाइन के हो भने महिला आन्दोलन समाजमा चल्ने जनवादी आन्दोलनको एउटा महत्वपूर्ण पक्ष हो । यो जनवादी आन्दोलनभन्दा बेग्लै र अलग आन्दोलन होइन र हुनु हुँदैन । नयाँ जनवादी आन्दोलन सफल भएमा मात्र महिलाहरुको असली मुक्ति सम्भव हुन्छ । एउटा प्रतिकृयावादी व्यवस्थाअन्तर्गत महिला मुक्तिको संभावना छैन । महिला आन्दोलनको दवावका कारण केही माग पुरा भै हाल्यो भने पनि ती क्षणिक मात्र हुन्छन्, आन्दोलन कमजोर हुनेवित्तिकै ती अधिकारहरु खोसिन्छन् । यसको उदाहरण खोज्न टाढा जानु पर्दैन नेपाल नै काफी छ । जनयुद्ध जब शक्तिशाली थियो, जब प्रचण्ड–बाबुराम नवसंशोधनवादी गुटले आत्मसमर्पण र गद्दारीको बाटो समातिसकेको थिएन, त्यतिबेला नेपाली महिलाहरु, खासगरी तल्लो बर्गका महिलाहरुले वास्तविक रुपमा नै उन्मुक्ति पाएजस्तो देखिन्थ्यो । समाजका हरेक क्षेत्रमा महिलाहरु अग्र स्थानमा देखिन्थे । जब माओवादी पार्टीकै ती नेताले प्रतिक्रान्तिको बाटो समाते, क्रान्तिप्रति विश्वासघात गरे, क्रान्तिका उपलब्धिहरु एक एक गरेर खोसिँदै गए, अहिले महिलाहरुको हालत पहिलेजस्तै हुन पुगेको छ ।
त्यसैले महिला आन्दोलनले जनवादी आन्दोलनको एउटा सहयोगी आन्दोलनको भूमिका खेल्नु पर्दछ । नयाँ जनवादी आन्दोलनको सफलताले नै महिला मुक्तिको ग्यारेण्टी गर्दछ । यसलाई महिला संगठन र तिनको नेतृत्व गर्ने नेताहरुले राम्रोसँग ध्यान दिनुपर्ने आवश्यकता छ ।
महिलाहरुको राज्य संचालनमा भूमिका
नेपाली क्रान्ति र ऐतिहासिक जनआन्दोलनको एउटा प्रमुख माग थियो– राज्यको पुनर्संरचना । राज्यको पुनर्संरचना सन्दर्भमा दुईवटा विषय प्रमुख थिए । पहिलो, संघीय संरचना वैज्ञानिक किसिमले गर्ने, पहिचानसहितको संघीयतालाई आधार बनाएर संघीय प्रदेशहरुको संरचना गर्ने । दोस्रो, राज्यका सबै अंगमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने । यी मागहरुलाई नयाँ संविधानमा संम्बोधन गरिनु पर्छ भन्ने माग जोडदार रुपमा उठाइएको छ र यसमा व्यापक समर्थन पनि प्राप्त छ । यसो भएमा राज्यका सबै निकाय र संस्थाहरुमा महिलाहरुको पचास प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिनु पर्दछ । यसका साथै युगौंदेखि उत्पीडनमा परेको सामाजिक समुदाय भएको हुनाले महिलाले पुरुष सरह प्रतिस्पर्धा गर्न कुनै पनि क्षेत्रमा सक्ने अवस्था रहँदैन । त्यसैले उनीहरुलाई केही समय सम्म विशेष अधिकारको पनि व्यवस्था गरिनु पर्दछ । यो नै अहिलेको सही माग हो । यसलाई स्थापित गरिनु पर्दछ । तर, यथास्थितीवादी र पश्चगामी शक्तिहरु यसलाई पुरा गर्ने पक्षमा छैनन् । “संविधान सभा नं २”मार्फत् बनेको संविधानले तिनीहरुको करिब दुई तिहाई बहुमत कायम रहेको हुनाले महिलाहरुको यो उचित माग पुरा हुन सकेन । त्यस निम्ति महिलाहरु पुनः संघर्षमा उत्रिनु आवश्यक छ । राज्य संचालनमा आफ्नो अधिकार सुनिश्चित गर्नका लागि महिलाहरुले नेपालमा हुने नयाँ जनवादी आन्दोलनमा सकृय भूमिका निर्वाह गर्नका लागि तयार हुनु आवश्यक देखिन्छ ।