
कालिकोट । ने.क.पा.(क्रान्तिकारी माओवादी) जिल्ला समिति कालीकोटको बैठकले ५१ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ । ३१ सदस्य रहेको जिल्ला समितिमा थप २० सदस्य मनोनयन गरि ५१ सदस्यीय जिल्ला समिति बनाईएको हो ।
पार्टिका भेरी कर्णाली राज्य ईन्चार्ज धनजीत शाही आदर्शको गौरवपूर्ण उपस्थितिमा र कालीकोट जिल्ला सेक्रेटरी दुर्गाप्रसाद काफ्लेको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा परिपत्रमाथि स्पष्ट पार्दै राज्य इन्चार्ज आदर्शले नेपाली बिशेषतासहितको सशस्त्र बिद्रोहमा सामेल हुन निर्देशन दिएका छन् ।
बैठकमा राजनीतिक बैचारिक कार्य, संगठनात्मक कार्य, संघर्ष, आर्थिक तथा विविध जस्ता बिषयमा छलफल भएको हो । अपर कर्णाली सम्झौताबिरुद्ध जिल्लामा बृहत अन्तरक्रिया गर्ने, पार्टी मातहतका सम्पूर्ण जनवर्गिय संगठनहरुको भेला सम्मेलन गर्ने, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको यही मंसिरभित्र भेला सम्पन्न गर्ने, पार्टीको राष्टिय सम्मेलनलाई लक्षित गरि ब्यापकरुपमा सदस्यता नवीकरण गर्ने, केन्द्रले निर्देशन गरेको आर्थिक अभियानलाई निरन्तरता दिनेजस्ता निर्णय गरेको छ ।