संस्कृति राजनीतिको अत्यन्त महत्वपूर्ण अंश हो । सँस्कृति बिनाको राजनीति असफल र निस्काम, अकर्मन्यता तथा अर्थहीन हुन्छ भन्ने कुरा १० वर्षको शान्ति प्रक्रियाले पुष्टि गर्छ । संस्कृति, जीवन र व्यवहारको आदर्श र विचारको स्थिर चेतना र संस्कार हो । लामो समयको अनुभव, परम्परा, चलन र प्रयोगको चेतनामूलक परम्परा भएका कारण यो सापेक्ष स्थिरताको कारण बन्छ ।

राजनीतिले संस्कार प्राप्त गर्न सकेन भने त्यो छिटो पतन हुन्छ । वस्तुतः संस्कृति र संस्कृति विचार–चेतना व्यवहारिक प्रयोग र विशेषता पनि हो । दश वर्षको जनयुद्धले संस्कृति स्थापित गर्न नपाउँदै त्यो समाप्त पारियो । सानातिना स्वार्थका अगाडि जनयुद्धकाम आदर्श मृत भए । अवसरवादले जनयुद्धलाई निकम्मा सावित गरिदियो । व्यक्तिवादी महत्वाकांक्षाहरुले पद, पैसा, प्रतिष्ठालाई मात्रै स्थान दियो । १४ हजार सहिदका रगतको मूल्यलाई होइन । फलतः त्यो सहिदको मृत्यु व्यर्थ जस्तै बन्न गयो । केही सीमित अवसरवादी, व्यक्तिवादी, स्वार्थी, लोभी, पापी र नीच, नेताहरुलाई सत्ताको कुर्सीका लागि र खानलाई मात्र सहिदका रगतको प्रयोग गरियो ।

भव्य ऐश्वर्यमय, वैभवशाली, विलासी भोग÷आनन्द प्राप्त गरेपछि उनीहरुले सहिदका सपना, जनताका आकांक्षा, राष्ट्रिय हित, आदर्श र मूल्यको तिलाञ्जली दिए । जनयुद्धले घोषित गरेको सामन्तवादी सत्ता र विस्तारवादी उत्पीडन शोषणबाट क्रान्तिका कुरा कुर्सीको स्वाद र भारतीय दलाली र आत्मसमर्पणमा पतन भए । भकाभक सामन्त वर्ग, प्रतिक्रियावादी वर्ग, यथास्थितिवादी वर्ग, साम्राज्यवाद र विस्तारवादसँग राष्ट्रघात र जनघातका सम्झौता, सहमति, साझेदारीका प्रक्रिया सुरु भए । १२ बुँदे, विप्पा सम्झौता, माथिल्लो कर्णाली, अरुण–३, माथिल्लो मस्र्याङदी, ३ बुँदे र २५ बुँदे भारतीय सम्झौतासम्म आइपुग्दा देशद्रोही दलाल, दास, चरित्र, भ्रष्ट र नैतिकहराम प्रवृत्ति छर्लङ्ग रुपमा नांगो भएर उभियो ।

माओवादी आन्दोलनको दुःखान्त अन्त्य गर्नका लागि साम्राज्यवादका नोकरहरुले यसको विभाजन, छिन्नभिन्न र एकता आदि गरेका छन् । फुटे पनि जुटेपनि दुवै प्रक्रियाले साम्राज्यवादको हित र राष्ट्रको अहित मात्रै गरेको छ र माओवादी आन्दोलन विसर्जनसम्म पुग्न लागेको छ । यो सबै संस्कृति र संस्कारको अभावका कारण भएको हो । नत माओवादी आन्दोलनमा संस्कृतिको निर्माण भयो न संसदवादी आन्दोलनमा । दुवै आन्दोलनले राष्ट्रघात र जनघातको बाटो समाते । राष्ट्रघाती महाकाली सन्धी, अरुण–३ माथिल्लो कर्णाली, माथिल्लो मस्र्याङदी, एमआरपी, मुजफरपुर–वीरगञ्ज प्रसारण लाइन जस्ता देशघाती सन्धी गर्नेहरुले विदेशीलाई नागरिकता वितरण गरेर स्वदेशी मधेसीको गाँस र अवसर खोस्नेहरुले अहिले बडो राष्ट्रवादको नारा घन्काएका छन् ।

उक्त सबै सन्धीमा गरेका अपराधको क्षमायाचना र क्षतिपूर्ति नगर्दासम्म ती कसरी राष्ट्रवादी हुनसक्छन् । त्यसैले संसदवादीहरुको भारतीय दलाली र दासताको संस्कारमा कुनै परिवर्तन आउन सकेन । वीपीको नाम रामनाम जस्तै जप्नेहरुले राष्ट्रहित र स्वाधीनताका लागि वीपीले अवलम्बन गरेको स्वाभिमानी संस्कार र बाटो त्यागेर राष्ट्रद्रोही चरित्रलाई आफ्नो संस्कृति बनाएका छन् । विदेशीको चाकडी गर्ने र सत्तामा बस्ने उद्देश्यले अभिप्रेरित यो संसदवादी राजनीतिको संस्कृति पनि निकम्मा र निस्कृय नै छ ।

यसरी चाहे जनयुद्ध लडेका माओवादी आन्दोलनका अभियन्ता हुने वा संसदीय संघर्षबाट स्थापित राजनीतिक दलहरु व मधेसवादी लाईन समातेका भारतबाट जागृत मधेसी दल सबैमा देशद्रोही र राष्ट्रघाती संस्कृति नै हाबी छ । यिनमा नयाँ देशप्रेम, स्वाभिमान र स्वाधितानको संस्कृति बस्न सकेको छैन । नत जनताका आकांक्षालाई सम्मान गर्ने, उनको हित र प्रगतिमा समर्पित राष्ट्रिय समुन्नत चेतनाको जनपक्षीय चेतनाको संस्कृति बस्न सक्यो । जसले लोकमानजस्तो अख्तियारको कारबाहीमा परेको भ्रष्टलाई अख्तियारकै प्रमुखमा नियुक्ति गर्न समर्पित भयो । यो सबै भारतीय निर्देशनको परिणाम परिणाम थियो । यस्तै निर्दलिय व्यक्ति खिलराज रेग्मीलाई सरकार प्रमुखमा नियुक्ति गर्न पुग्यो ।

प्रजातान्त्रिक संस्कृति बिनाको प्रजातन्त्र र माओवादी संस्कृति बिनाको माओवादी आन्दोलन दुवै अन्ततः कमल थापासँग घाँटी जोडेर सत्तामा सँगै आसिन हुन पुगे । यो संस्कृति बिनाको राजनीतिको चरित्र थियो ।

देश भयावह दुर्घटनाहरुमा फस्दै गएको छ । एक पछि अर्को राष्ट्रद्रोही गतिविधि र दुर्घटना देश भोग्न विवश छ । पहिलो तुलनात्मक प्रगतिशील संविधानसभाले तुलनात्मक प्रगतिशील संविधान निर्माण गर्ने सम्भावना भएपछि विघटन गरियो । संघीयतालाई नाममात्रको संघीयतामा परिवर्तन गर्ने षढयन्त्र भयो र त्यसको बदनाम गरियो । मानौं संघीयता नै देश टुक्र्याउने कारण जस्तो बदनाम गराइयो । मधेसी र पहाडीको भावना फैलाएर देशभित्रकै सबै नेपालीलाई समेटेर उनलाई नीति निर्माणमा सहभागी गराउन छाडेर थारुमाथि दमन शृङखला चलाइयो र कैलाली घटना भयो । मुलुकमा प्राकृतिक स्रोत र जलसम्पदा विदेशीलाई सुम्पने अनेक राष्ट्रघाती सम्झौता यसबीचमा भए ।

Ishwor Chandra Gyawaliआम जनताले विरोध गर्दागर्दै माथिल्लो कर्णाली जीएमआरलाई दिएरै छाड्ने अपराध भइरहेको छ । युवाजतिलाई विदेश निर्यात गरेर देश खाली गर्ने प्रपञ्च जारी छ । देशका उद्योगधन्दा सबै बेचेर विदेशी लगानीका नाममा दलाल पुँजीपति वर्गलाई अर्थव्यवस्थाको बागडोर सुम्पिएको छ । कृषि उत्पादन २५ प्रतिशतले घटेको छ । तर पहुँचवालाले कृषि अनुदान हसुरीरहेका छन् । जो कृषिको कुनै कर्म गर्दैनन् । बेरोजगारी, गरिबी, महंगी, भ्रष्टाचार, ठगी, शोषण आज हजार गुणा बढिरहेको छ । निरपेक्ष गरिबीको रेखामुनी रहेका जनताको नाममा खुलेको गरिबी निवारण कोष, ठूलाठालु र हुनेखानेको लुट्ने कोषमा परिणत भएको छ । भ्रष्टाचार हुने मालपोत, राजस्व, कर, भन्सार, भौतिक निर्माण, सडकजस्ता ठाउँलाई अख्तियार, घुस, कमिसनमा लिप्छ छन् । तर चालु खर्चमा रकमान्तर गरेर लुट जारी छ । यस्ता हजारौं उदाहरण र दृष्टान्त छन्, राजनीतिमा संस्कृतिहीनता का ।

संस्कृति नैतिक मूल्य सुन्दर आदर्श, महान आचरण, देश र जनता पक्षीय व्यवहार र त्याग र उदात्त भावनाको स्रोत बन्नुपथ्र्यो राजनीतिमा । तर त्यो त नैतिकहीन, नीच आदर्श, निकृष्ट आचरण, देश र जनता विरोधी लोभ, स्वार्थ र पापले भरिएको संकीर्ण र तुच्छ भावनाको स्रोत बन्यो, नेपाली राजनीतिमा । नेताहरुले राष्ट्रको लागि होइन आफ्नो परिवारको बन्धु, कुटुम्बको र दलभित्र आफ्नो गुटको स्वार्थ र लाभका लागि मात्र सोच्ने संस्कृति बसाले जसले समाज, देश, जनता विरोधी संस्कृतिको बेलवाला बढ्यो । फलतः मान्छे मुल्यमा बिक्री हुन थाले । घुस, कमिसन, भएपछि जस्तोसुकै राष्ट्रद्रोही कदम पनि सम्पन्न गरिन थाले । खुलेआम भ्रष्टाचार साझा संस्कार बन्यो । लुट र ठगी संस्कृति बन्यो । राजनीति संस्कृतिहीन बन्नुको परिणाम थियो, त्यो । वास्तममा १० वर्षको जनयुद्धले सामन्तवादी संस्कृतिको अन्त्य चाहेको थियो ।

सामन्ती अर्थव्यवस्थाका ठाउँमा नयाँ जनवादी अर्थव्यवस्था चाहेको थियो । एकात्मक र एकाधिकारीप्रथाका ठाउँमा सामाजिक प्रथा खोजेको थियो । भारतीय दलाली, हस्तक्षेप, अतिक्रमण, शोषण, उत्पीडनका ठाउँमा स्वतन्त्र, स्वाभिमानी, स्वाधीन, समुन्नत समृद्ध, विकसित नेपाल चाहेको थियो । तर त्यसो भएन । जब माओवादी आन्दोलनका मुख्य नेताहरु सरकारमा गए । ती पतीत भए । तिनलाई सहिद, घाइते, अपांग, बेपक्ता, हिजो सहयोग गर्ने सर्वहारा, गरिब जनता सब घृणाका विषय भए । यो राजनीतिको असंस्कृत परिणती थियो । यो अवसरवाद र व्यक्तिस्वार्थको संस्कारको सामन्ती संस्कृतिको रुप थियो । यो देशप्रेमी आदर्श अनुरुपको भारतीय दलाली, दासता र आत्मसमर्पणवादी संस्कृतिको परिणती थियो । त्यसैले संसदवाद र भ्रष्ट माओवादीहरुको चारित्रिक पतन भनेकै राजनीतिमा संस्कृति हीनता हो । संस्कृति बिनाको राजनीतिक आचरण यस्तै हुन्छ । तसर्थ फेरि जनताले सोच्ने दिन आएको छ । यो व्यवस्था देश र जनताको हित र पक्षमा छैन ।

यसलाई नफालिकन नयाँ युग आउन सम्भव छैन । त्यसका लागि फेरि जनवादी क्रान्तिको नयाँ संयोजन आवश्यक छ । माओवादी आन्दोलनको अर्को संस्करण जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर