इएल क्लासिको भिडन्तमा बार्सिलोना र रियल बराबर

इएल क्लासिको भिडन्तमा बार्सिलोना र रियल बराबर

suwaresकाठमाडौं । स्पेनिस ला लिगाको बहुप्रतिक्षित सिजनको पहिलो इएल क्लासिको भिडन्तमा बार्सिलोना र रियल मड्रिडले बराबरी खेलेका छन् ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा शनिबारराति भएको खेलमा लिग लिडर रियलले बार्सिलोनालाई बराबरीमा रोक्दै अंक बाँडेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५३ औं मिनेटमा गोल गर्दै लुईस स्वारेजले टिमलाई अगाडि बढाएका थिए ।

नेइमारको फ्रि किकमा स्वारेजले गोल गरेका हुन् । तर खेलको अन्तिम एक मिनेट सम्हालिन नसक्दा बार्सिलोना बराबरीमा रोकिन पुग्यो । ९० औं मिनेटमा रियलका कप्तान सर्जियो रामोसले गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

रामोसले लुका मोड्रिकको फ्रि किकलाई हेडमार्फत गोल गरेका हुन् । रामोसको गोलअघि क्रिष्टियानो रोनाल्डोले गोल गर्ने सुन्दर मौका बनाए पनि सफल भने हुन सकेनन् ।

बराबरीपछि लिग लिडर रियल मड्रिडले बार्सिलोनासँग ६ अंकको दूरी कायम राखेको छ । रियलको १४ खेलबाट ३४ तथा दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट २८ अंक छ । पछिल्ला ३३ खेलमा रियल अपराजित छ भने बार्सिलोनाले पछिल्ला ३ खेलमा जित निकाल्न सकेको छैन ।