१२ बुँदे सहमतिसँगै डा.केसीले अनसन तोडे

१२ बुँदे सहमतिसँगै डा.केसीले अनसन तोडे

kc

काठमाडौं । डा. गोविन्द केसीले राखेको मागअनुसार त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनिया लगायत पदाधिकारीको योग्यता, कार्यक्षमता र उनीहरूमाथि लागेको अनियमितता आरोपमा छानबिन गर्न दुई साताभित्र उच्चस्तरीय समिति गठन गर्नेलगायत १२ बुँदे सहमति भएपछि २१ दिनदेखि अनसनरत डा. केसीले आज अनसन तोडेका छन् ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त विकृतिको अन्त्य गर्न पटक पटक अनसन बस्दै आएका केसीको यो दसौंपटकको अनसन हो । डा. केसी र सरकारी प्रतिनिधिबीच शनिबार पटक–पटक भएको वार्तापछि राति ११ बजेतिर बाह्रबुँदे सहमति भएको थियो । उक्त सहमतिपछि डा. केसीले आइतबार बिहान साढे ९ बजे अनसन तोड्न राजी भएका हुन् ।

सम्झौतामा ‘प्राज्ञिक विशिष्ठता र योग्यताका आधारमा विश्वविद्यालय तथा प्रतिष्ठानको सिनेटबाट पदाधिकारी नियुक्त गर्न मौजुदा कानुनमा आवश्यक परिमार्जन गरिने, ‘सबै विश्वविद्यालय र प्रतिष्ठानहरूको प्राज्ञिक मर्यादा कायम हुने गरी संरचनामा परिवर्तन गर्न र प्राज्ञिक विशिष्ठता तथा योग्यताका आधारमा सम्बन्धित संस्थाका सभा (सिनेट) बाट पदाधिकारी नियुक्ति गर्न मौजुदा कानुनमा आवश्यक परिवर्तन गर्ने मागका सन्दर्भमा तीन महिनाभित्र मस्यौदा तयार गरी कुलपति समक्ष पेस गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा उच्चस्तरीय समिति १५ दिनभित्र गठन गर्ने, एमबिबिएसतर्फ उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार तथा बिडिएसतर्फ १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ कायम गर्ने, २०७० फागुन ३ गते भएको सम्झौताअनुसार चिकित्साशास्त्र अध्ययन संस्थानलाई स्वायत्तता दिनेबारे २१ दिनभित्र विश्वविद्यालयको सिनेटमा प्रस्ताव पेस गर्ने, राष्ट्रिय चिकिस्सा शिक्षा विधेयक २०७३ पारित नहुञ्जेल नयाँ मेडिकल कलेजको निम्ति मनसायपत्र जारी, पुराना आसयपत्र नवीकरण, नयाँ मेडिकल कलेजलाई सम्बन्धत तथा विस्तारित कार्यक्रमको अनुमति कार्य सबै रोक्का गर्ने लगायतका विषयहरु उल्लेख गरिएका छन् ।