वर्गीय मुक्ति नहुँदासम्म जातीय मुक्ति सम्भव छैन : श्रीस

वर्गीय मुक्ति नहुँदासम्म जातीय मुक्ति सम्भव छैन : श्रीस

tamang-cover

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय कार्यालय सदस्य रामसिंह श्रीसले वर्गीय मुक्ति नहुँदासम्म जातीय मुक्ति सम्भव नहुने बताएका छन् । क्रान्तिकारी माओवादी निकट अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाको दोस्रो राष्ट्रिय भेलाको ललितपुरको कुपण्डोलमा शनिबार उद्घाटन गर्दै श्रीले उक्त कुरा बताएका हुन् ।

संसारमा रहेका सबै प्रकारका शोषण, दमन, अन्याय, अत्याचार, विभेद र उत्पीडन निर्मूल गरी शोषणरहित र वर्गरहित समाज निर्माणको लागि कम्युनिष्ट पार्टी निर्माण भएको भन्दै श्रीसले नेपालमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक उत्पीडनबाट नेपाली समाजलाई मुक्त पार्नु नेपालका सच्चा कम्युनिष्टहरुको दायित्व भएको प्रष्ट पारे । उनले भने, “जातीय उत्पीडन वर्गीय उत्पीडनकै एउटा रुप हो, वर्गीय मुक्ति नहुँदासम्म जातीय मुक्ति सम्भव छैन । तसर्थ, जातीय उत्पीडनको अन्त्य गर्नु कम्युनिष्ट पार्टीको दायित्व हो ।” आफ्नो पार्टी सही र क्रान्तिकारी भएको हुनाले जातीय उत्पीडनको अन्त्यका लागि सही र वैज्ञानिक नीति क्रान्तिकारी माओवादीसँग मात्र रहेको दावी गरे ।

भेलालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य सिताराम तामाङले जातीय मुक्तिका निम्ति उत्पीडित तामाङ समुदायले २०१३ सालदेखि नै संघर्ष गर्दै आएको उल्लेख गर्दै छितरिएर रहेको जातीय आन्दोलनलाई वर्गीय आन्दोलनसँग जोड्नुपर्ने बताए । संसदवादी दलहरुले मुलुकलाई विखण्डनतर्फ लैजान खोजेको भन्दै तामाङले भने, “सबैलाई समान अधिकार र हैसियत दिएर नेपाललाई सबै जाता जाति, जाति, भाषाभाषीको साझा फुलबारी बनाउनुपर्दछ ।”

tamang-morcha-2-f

क्रान्तिकारी माओवादीका सचिवालय सदस्य तथा पूर्वी ताम्सालीङका इन्चार्ज राम आचार्यले पनि भेलालाई सम्बोधन गर्दै जातीय मुक्ति आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँग जोडेर अगाडि नबढाउँदासम्म जातीय मुक्ति आन्दोलन सफल हुन नसक्ने बताए ।
अखिल नेपाल आदिवासी जनजाति महासंघका नेता तथा क्रान्तिकारी माओवादीका सचिवालय सदस्य नगेन्द्र राईले वर्तमान संविधान आदिवासी, जनजाति, मधेसी, महिला, दलित, मुस्लीम, थारुलगायत सबै वर्ग, जाति र क्षेत्रविरोधी रहेकोले यसको खारेज गरिनुपर्ने दावी गरे । उनले भने, “प्रतिगामी संविधान खारेज गर्नैपर्दछ ।”

तामाङ मोर्चाका संयोजक निमा दोर्जे लामाको अध्यक्षतामा सम्पन्न उक्त भेलाको संचालन सुरेश तामाङले गरेका थिए भने कान्छामान तामाङले स्वागत मन्तव्य राखेका थिए ।

क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य तथा नेवा राज्य इन्चार्ज दिनेश शर्मा, सहइन्चार्ज पवनमान श्रेष्ठ, अखिल नेपाल आदिवासी जनजाति महासंघका संयोजक तथा क्रान्तिकारी माओवादीका सचिवालय सदस्य कमल चौधरी, पार्टी केन्द्रीय सदस्य फुर्नाम्गेल मोक्तान, गंगादेवी राईलगायतका नेताहरुको उपस्थिति रहेको उक्त भेलामा सामना साँस्कृतिक परिवारका कलालकारहरुले जोशिला क्रान्तिकारी गीतहरु प्रस्तुत गरेका थिए ।