भारु सटही र भुक्तानी सहज बनाउँन क्रान्तिकारी माओवादीको माग

भारु सटही र भुक्तानी सहज बनाउँन क्रान्तिकारी माओवादीको माग

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले भारतीय रुपैयाँ ५ सय र हजार दरका नोटको सटही र भुक्तानी सहज बनाउन आग्रह गरेको छ । 
क्रान्तिकारी माओवादीका वरिष्ठ नेता तथा विदेश विभागका प्रमुख सीपी गजुरेलले एक विज्ञप्ति जारी गर्दै भारत सरकारको नोटबन्दीको निर्णयले भारतमा बस्ने नेपाली समूदाय प्रभावित भएको उल्लेख गर्दै श्रमिक जनतामाथि परेको मारप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘भारु ५०० र १००० दरका भारतीय नोटको सटही बैंकमा खाता हुनेहरुका लागि मात्र सहज बनाइएको तर खाता नहुनेहरुलाई भुक्तानी लिन सम्भव नहुने गरी नियम बनाइएको, भारतीय बैंकमा खाता खोल्नका निम्ति भारतीय भएको परिचयपत्र अनिवार्य गराइएको अवस्थामा प्रवासी नेपालीहरुले खाता खोल्नु सम्भव नहुने कुरा स्वतः स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस अवस्थामा निम्न आय भएका नेपालीहरुसँग भएको नोटको सटही र भुक्तानी नगरिएका कारणले उनीहरुमाथि परेको आर्थिक मारलाई समाधान गर्नका निम्ति त्यहाँ नेपालीहरुको बिचमा कार्यरत अखिल भारत नेपाली एकता समाजले भारतस्थित नेपाली राजदूतमार्फत प्रयत्न गर्दा त्यसको कुनैपनि समाधान अहिलेसम्म गरिएको छैन ।’

विज्ञप्तिमा भारतमा कार्यरत हजारौं निम्न आय भएका नेपालीहरुलाई चरम मार परिरहेकोकाले पाँच सय र हजार दरका नोटको सटही र भुक्तानीको अबिलम्ब सहज व्यवस्था गर्न पनि माग गरिएको छ ।

यस्तै क्रान्तिकारी माओवादीले नेपाली जनतामाथि परेको यो मारप्रति नेपाल सरकार बेखबर जस्तो बनिरहेकोमा घोर भत्र्सना गर्दै सरकारको माध्यमबाट नै यो समस्या समाधानका निम्ति अभिलम्ब पहल गर्न पनि जोडदार माग गरेको छ । 

press-statement