
‘यदि हत्याबाट बच्ने खेल ओलम्पिकमा सामेल थियो भने मेरो भागमा स्वर्ण पदक हुन्थ्यो ।’ –फिडेल क्यास्ट्रो
फिडेल क्यास्ट्रोले आफूविरुद्ध हत्यासम्मको षढयन्त्र गर्ने १० अमेरिकी राष्ट्रपतिलाई सामना गरे तर कहिल्यै क्युबलाई अमेरिकी छत्रछायाँमा पर्न दिएनन् ।
क्युबाली कम्युनिस्ट क्रान्तिका नायक, पूँजीवादी विश्वका समाजवादी नेता, अमेरिकी साम्राज्यवादविरुद्ध जीवनपर्यन्त संघर्ष गर्ने योद्धा, क्रान्तिकारी आदर्शवान नेता फिडेल क्यास्ट्रो अन्ततः संसारबाट बिदा भएका छन् । सुन्दर क्यारेबियन राष्ट्र क्युबामा समाजवादको झण्डा फहराउने साहसी साम्राज्यवाद विरोधी योद्धा क्यास्ट्रोको अबसानले अब त्यस देशको राजनीतिक दिशा कतातिर लैजान्छ भन्ने अहिले नै भन्न कठिन छ । तर, उनका भाई राहुल उनीभन्दा अमेरिकासँग केही उदार देखिदै आएका छन् । केही महिनाअघि अमेरिकी राष्ट्रपति बाराक ओबामाले क्युबाको भ्रमण गरेर राहुललाई फरक सोच र विचारका साथ अघि बढ्न दिएको सुझावप्रति फिडेलले कडा जवाफ दिएका थिए । उनका भाइ तथा वर्तमान राष्ट्रपति राहुल क्यास्ट्रोले आफ्ना दाजु फिडेलको ९० वर्षको उमेरमा निधन भएको राष्ट्रिय टेलिभिजनमार्फत जानकारी गराए ।
राहुलले भने, ‘क्युबाको क्रान्तिका सर्वोच्च कमान्डर तथा पूर्वराष्ट्रपति क्यास्ट्रोको शुक्रबार राति १०ः२९ बजे निधन भएको छ ।’ फिडेल क्यास्ट्रोले सन् १९५९ मा अमेरिका पक्षधर फुल्गेन्सियो बाटिस्टा सरकारविरुद्धको क्युबामा कम्युनिष्ट क्रान्तिको नेतृत्व गर्दै जित हासिल गरेका थिए । क्यास्ट्रोका समर्थकले उनले क्युबालाई जनताका लागि फिर्ता गराउने महान नेताका रुपमा मान्दछन् ।
सन् २००६ देखि भाइ राहुल क्यास्ट्रोलाई शक्ति हस्तान्तरण गरेका उनले त्यसको दुई वर्षपछि सन् २००८ मा राष्ट्रपतिको पद हस्तान्तरण गरेका थिए । गत अप्रिलमा क्यास्ट्रोले क्युबाली कम्युनिस्ट पार्टीको राष्ट्रिय कंग्रेसको अन्तिम दिन दुर्लभ सम्बोधन गरेका थिए भने १३ अगस्टमा आफ्नो ९० औं जन्म दिनमा भाई राहुल क्यास्ट्रो र भेनेजुएलाका राष्ट्रपति निकोलास माधुरोसँगै देखि सार्वजनिक रुपमा देखा परेका थिए ।
निधनपछि कसले के भने ?
क्यास्ट्रोको निधनमा विश्वभर र खासगरी समाजवादी, साम्यवादी मुलुकबाट गहिरो दुःख प्रकट गरिएको छ भने सिंगो क्युबा शोकमा डुबेको छ । क्यास्ट्रोको निधन भएकोमा भेनेजुएला, रुस, चीन, बोलिभिया, फ्रान्स, बेलायतसहितका देशबाट गहिरो दुःख प्रकट गरिएको छ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले फिडेल कास्ट्रोको जीवनको प्रशंसा गर्दै क्युबाली समाजवादी प्रतिमूर्तिको निधन भएकोमा दुःख व्यक्त गरेका छन् । पुटिनले आफ्ना क्युबाली समकक्षी राहुल कास्ट्रोलाई पठाएको शोक सन्देशमा फिडेल कास्ट्रो रसियाको इमानदार र विश्वसनीय मित्र भएको उल्लेख गरेका छन् ।
फ्रान्सका राष्ट्रपति फ्राँस्वा होल्यान्डेले क्यास्ट्रो क्युबालीका आशाका केन्द्र भएको तथा केही भने उनले अमेरिका तथा युरोपलाई हेर्ने नीतिका कारण उनीप्रति खुसी नरहेका देखिने गरिएको बताएका छन् । त्यसैगरी पूर्वसोभियत संघका नेता मिखाइल गोर्भाचेभले क्युबालाई बलियो शक्तिका रूपमा खडा गर्ने क्यास्ट्रो एक निडर एवम् अतुलनीय व्यक्तित्व भएको प्रतिक्रिया दिएका छन् । भेनेजुएलाका राष्ट्रपति निकोलास माधुरोले फिडेल कास्ट्रोलाई क्युवाको धरोहरका रूपमा लिने गरेको जनाउदै उनको निधनले भेनेजुएलाले एक असल र विश्वासी मित्र गुमाएको भन्दै आफू उनको निधनबाट दुःखी बनेको बताएका छन् ।
उता, अमेरिकाले भने फिडेलको निधनपछि सन्तोषको सास फेरेको रुपमा अभिव्यक्ति दिएको छ । क्यास्ट्रोको क्यूबाली राजनीतिमा उदयसँगै उनको बारम्बार हत्या प्रयास गरेको अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘बर्बर तानशाह’ को निधन भएको भन्दै अब क्युबा स्वतन्त्र भविष्यतर्फ अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । कुनै समय स्पेनको उपनिबेशबाट अमेरिकी उपनिवेश बनेको क्युबलााई साना स्वतन्त्र राष्ट्रको सार्वभौमिकताको रक्षा गर्दै विश्वसामु समाजवादी राष्ट्रको रुपमा चिनाएका फिडेलप्रति अमेरिकी रबैया मृत्यु पर्यन्त पनि लज्जाजनक आउनुले विगत कति जटिल थियो भन्ने प्रष्ट पार्दछ । अमेरिकाले आफ्ना प्रिय नेताको निधनमा शोकाकुल क्युबालीप्रति सान्त्वनाका एक शब्द पनि खर्च नगर्नुले साम्राज्यवाद कति बर्बर हुन्छ भन्ने छर्लंग पनि पारेको छ ।
को हुन फिडेल क्यास्ट्रो ?
क्युबाली क्रान्तिलाई सफलतापूर्वक नेतृत्व गरेका नेता फिडेल क्यास्ट्रोको निधनसँगै विश्व कम्युनिष्ट आन्दोलनमा एक युगको अन्त्य भएको छ । फिडेल क्यास्ट्रोले संसारका श्रमजीवी जनताका मित्र, साम्राज्यवाद बिरुद्धको विश्व आन्दोलनका नायक रहेरै आफ्नो जीवनको सार्थकता प्रमाणित गरे । संसारमा धेरै यस्ता नेता छन्, जसले सत्तामा पुग्नका लागि मजदुर, किसान, शोषित र उत्पीडित समुदायको प्रतिनिधि भएको नाटक गर्छन् र सत्ताको भर्याङ चढिसकेपछि जनतालाई बिचैमा छाडिदिन्छन् । तर क्यास्ट्रो आफ्नो उद्देश्यका अविचलित रुपमा लागि रहे । सहकार्यबाट असम्भव हुने विषयपनि संघर्षमार्फत पाउन सकिन्छ भन्ने विश्वास राख्ने क्युबाका सर्वोच्च नेता कास्ट्रोले करिब ५० वर्षसम्म निरन्तर सत्तामा रहँदा र सत्ता भन्दा बाहिर रहेर पनि आजीवन अमेरिकी साम्राज्यवाद र प्रभुत्ववादलाई चुनौति दिँदै उसकै नाकमुनी समाजवादी सत्ताको झण्डा फहराइरहे ।
उनको जन्म सन् १९२६ अगस्ट १३ मा क्युवाको बिरानमा एक मध्यमवर्गीय किसान परिवारमा भएको हो । उनका पुर्खा स्पेनबाट बसाई सरेर क्युवा पुगेका हुन् । उनले हाइटीका उखु किसानमाथि भएको शोषण देखेपछि किसान वर्गका निम्ति संघर्षमा उत्रने चेतना पैदा भयो र उनी वैधानिक र अवैधानिक दुवै किसिमबाट संघर्षमा उत्रने निष्कर्षमा पुगे । फिडेल क्यास्ट्रो सन् १९४४ मा आफ्नो विद्यालयस्तरको पढाई पुरा गरे । उनी त्यसबेला अनुशासित विद्यार्थीको रूपमा पुरस्कृत समेत भए । त्यसपछि उनी कानुन अध्ययनका लागि हवाना विश्वविद्यालय भर्ना भए । सन् १९४० को दशकमा क्युवामा भइरहेको आक्रामक विद्यार्थी राजनीतिकै क्रममा उनी विद्यार्थी राजनीतिमा स्थापित हुन पुगे ।
सन् १९४७ मा एक भाषणका क्रममा उनले भने, ‘देशको अर्थतन्त्र केही सीमित विदेशीको हातमा छ, युवाहरूले कहिल्यै आत्मसमर्पण गर्न सक्दैनौं ।’ त्यसबेलासम्म उनी क्युवामा चर्चाको केन्द्रमा आइसकेका थिए । सन् १९५२ मा उनले आफ्ना भाई राहुललाई समेत साथमा लिएर क्रान्तिको सुरुवात गरे । सोही क्रममा बाटिस्टा शासनविरुद्ध विद्रोह गरेका उनको पहिलो विद्रोह असफल मात्रै भएन क्यास्ट्रो दाजुभाई जेल परे । करिव दुई बर्षको जेलपछि सन् १९५५ मा बाँकी जेल सजाय माफी दिने सरकारी समझदारी अनुसार जेलमुक्त गरेर मेक्सिकोमा निर्वासित जीवन बिताउन थाले ।
त्यही उनको अर्जेन्टिनामा जन्मिएका अर्का महान् क्रान्तिकारी नेता चे ग्वेभारासँग भेट भयो । सन् १९५६ मा क्यास्ट्रो दाजुभाई र चे ग्वेभारा क्युबाको क्रान्तिलाई पुनः अगाडि बढाउनका लागि क्युबा फर्किए । तीन वर्षसम्म चलेको गुरिल्ला युद्धपछि अन्ततः सन् १९५९ मा बाटिस्टा सरकारलाई अपदस्त गराउँदै सत्ता आफ्नो हातमा लिन सफल भए । सन् १९५९ देखि १९७६ सम्म प्रधानमन्त्री बनेका उनी २ डिसेम्बर २००८ सम्म क्युबाको राष्ट्रपतिको पदमा आसिन हुन पुगे ।
फिडेल क्यास्ट्रो सन् १९५९ मा सत्तामा आएपनि उनको चुनौती कम भएन । एकातिर क्युवालाई अग्रगतिको बाटोमा हिँडाउनु र अर्कोतर्फ भर्खरै पराजित अमेरिका समर्थकले उनलाई सत्ताबाट हटाउने कोशिस गरिनै रहे । सन् १९६१ मा उनालाई सत्ताबाट हटाउने कोशिस अनुसार आक्रमण भयो । यसक्रममा हजारौंलाई कैद गरियो भने क्युवाको सम्बन्ध सोभियत युनियनसँग मजबुत बन्यो । सन् १९६१ मा अमेरिकी गुप्तचर संस्था सिआइएको उक्साहटमा क्युवाबाट अमेरिका गई निर्वासित जीवन विताइरहेका क्युवालीहरूको ‘वे अफ पिग’ द्वारा सञ्चालन गरेको आक्रमणको सफलतापूर्वक सामना गरेका थिए ।
राजनीतिक रूपमा माक्र्सवादी–लेनिनवादी तथा क्युवान राष्ट्रवादी उनले सन् १९६१ देखि २०११ सम्म पार्टीको नेतृत्व गरेर स्वास्थ्य समस्याका कारण भाई राहुललाई हस्तान्तरण गरेका थिए । त्यसअघि नै उनले सन् २००८ मा राष्ट्रपतिको पद भाईलाई सुम्पिइसकेका थिए । उनको समय क्युबामा एक दलीय व्यवस्था थियो र सबै उद्योग र व्यवसाय राष्ट्रियकरण गरिएको थियो भने राज्यलाई समाजवादी व्यवस्थातर्फ उन्मुख गराइएको थियो । क्यास्ट्रो आफ्ना समर्थकमाझ जनताका नेताका रूपमा चिनिन्छन् भने विरोधिहरूले भने उनलाई आफ्नो वर्चश्व कायम राख्न व्यापक दमनकारी नीति लिएको आरोप लगाउने गर्छन । संघर्ष, अडान, राष्ट्रप्रेम र निरन्तरता कास्ट्रोबाट सिक्न लायक गुणहरू हुन् ।
क्यास्ट्रोको जीवन अमेरिकी प्रशासनका लागि सधै तगारो वन्यो । अमेरिकी धेरै राष्ट्रपतिहरूले आफ्नो कार्यकालको लामो समय उनलाई पदबाट हटाउन कसरत गरि नै रहे । कास्ट्रोले दश अमेरिकी राष्ट्रपतिलाई सामना गरे, तर क्युवालाई अमेरिकी छत्रछायाँमा कहिल्यै पर्न दिएनन् । उनले गत वर्ष अमेरिकी राष्ट्रपति बाराक ओबामा क्युवामा गएर दिएको सुझावप्रति व्यंग्य गर्दै लामो पत्र लेखी अमेरिकी राष्ट्रपति ओबामालाई पठाएका थिए । पत्रमा भनिएको थियो, ‘अमेरिकाले क्युवाको खुशी हेर्न चाहन्छ भने कुनै दबाब होइन क्युबाको स्वतन्त्रताका लागि काम गर्न विना अवरोध दिए पुग्छ ।’ क्युवाली जनतालाई फरक सोच र विचारका साथ अघि बढ्न गरेको आग्रहप्रति आक्रोश व्यक्त गरेका उनले १५ पेज लामो पत्रमा अमेरिकाले क्युवालाई कुनै पाठ सिकाउनु नपर्ने चेतावनीपूर्ण शब्दहरू समेटेका थिए ।
सन् १९७६ मा उनी क्युवाको राष्ट्रपति बनेपछि अंगोला, इथियोपिया र यमनको कम्युनिष्ट आन्दोलनलाई समर्थन गरेर पश्चिमा शक्तिलाई दबाबमा राख्न सफल भए । तर, आर्थिक कठिनाईका कारण हजारौं क्युवालीहरूले देशभित्र शरणार्थी बन्नुपर्ने अवस्था आयो र दूतावासहरूमा शरणार्थीका लागि कोशिस गरे । त्यसबाट हताश भएका क्यास्ट्रोले शरणार्थी बन्न र देश छाड्न चाहनेहरूका लागि उत्तरी बन्दरगाह खोले । सन् १९९० को दशकमा सोभियत युनियनको विघटनपछि क्युवाको अर्थतन्त्र फेरि एक पटक धराशाही बन्यो । क्युवाले करिब ६ बिलियन डलर बराबरको सहायता गुमाउन पुग्यो । क्युबाका फ्याक्ट्री र कृषि अपांग (प्यारालाईसिस) जस्ता बन्न पुगे । सन् १९८८ मा उनले पोप जोन पाउल द्वितीयसँग भेट गरे । उनले क्युबाको सुधारको पक्षमा छलफल गरेका थिए । यो नै पोपले गरेको पहिलो क्युवा भ्रमण थियो ।
एउटा सामान्य किसान परिवारमा जन्मिएर सिंगो क्युवालीको सर्वमान्य नेता बन्ने जुन कष्ट क्यास्ट्रोले उठाए, यसैबाट उनी आम कम्युनिष्टको मस्तिष्कमा बस्न सफल भएका थिए । राष्ट्रपतिबाट बिदा भइसकेपछि पनि सामान्य जीवन बिताइरहेका उनी अन्ततः संसारबाट बिदा भएका छन् । उनको जीवन शैलीले कुनै राष्ट्रवादी र क्रान्तिकारीको जीवनमा भोग बिलास र ऐस आरामको स्थान हुन्न भन्ने प्रष्ट्याउँछ ।
परिवारले साथ छोड्दा जनताको साथ
क्युबा यतिबेला शोकमा डुबेको बेला उनकै परिवारमा त्यसको कुनै परबाहह छैन भन्दा तपाईलाई अनौठो लाग्न सक्छ । तर वास्तविकता यही नै हो । उनले आफू सन् १९५५ मा जेल पर्दा नै पहिलो पत्नीसँग डिभोर्स गरेका थिए । उनले त्यसपछि पनि परिवारको साथ दिगो रुपमा पाउन सकेनन् । फिडेलकी बहिनी जुवानिता क्यास्ट्रो आफ्नै दाजुको अन्तिम संस्कारमा समेत सामेल नहुने भएकी छन् । उनले भनेकी छन्, ‘म फिडेलको अन्तिम संस्कारमा सहभागी हुन क्युबा जाँदैछु भन्ने कुरा निराधार हो । म यो स्पष्ट पार्न चाहन्छु कि म कहिल्यै त्यो द्विपा फर्किने छैन र मेरो कुनै योजना पनि छैन ।’ उनले आफूलाई दाजुको निधनमा कुनै शोक र उत्सव नरहेको समेत उल्लेख गर्नुले उनीहरुको सम्बन्ध कति बिग्रिएको थियो भन्ने प्रष्टिन्छ । उनले फिडेललाई सत्ताबाट हटाउनका लागि पटक पटक सीआईएसँग मिलेर काम समेत गरेकी थिइन् । फिडेलकी बहिनी र छोरी नै विरुद्धमा भएपनि भाईले भने उनलाई सधैं साथ दिए ।
‘टुवार्डस भिक्ट्री, अल्वेज !’ क्युबाका राष्ट्रपति राहुल क्यास्ट्रोले राष्ट्रिय टेलिभिजनबाट आफ्ना दाजु पूर्व राष्ट्रपति तथा क्युबाली क्रान्ति नायक फिडेल क्यास्ट्रोको निधनको औपचारिक जानकारी दिँदा यही शब्द प्रयोग गरे । यो विगतको क्युबाली क्रान्तिका समयमा गाइने सामूहिक क्रान्तिगान हो । तर, भावविह्वल राहुलले निकै थर्थराएको स्वरमा यो शब्द उच्चारण गरे ।
बाटिस्टा सरकारविरुद्ध संघर्ष गरि अमेरिकाको नाकैमुनी समाजवादी सत्ता चलाउन सफल फिडेल बीसौं शताब्दीका महान् क्रान्तिकारी नेता र सबैभन्दा लामो समय शासन सञ्चालन गर्ने गैर राजपरिवारका व्यक्ति पनि थिए । चुरोटका अम्बली, लामो दाह्री पाल्ने क्यास्ट्रो क्युबालीलाई आफ्नो देश फिर्ता गराउने नायक पनि हुन् । विश्वमा पूँजीवादको दबदबा र रवाफ कायम भएको समयमा समाजवादी सत्ता सफलतापूर्वक सञ्चालन गर्ने जुन कष्ट फिडेलले उठाए, त्यसले नै उनलाई विश्वमा चिनायो । उनले लगातार आधा शताब्दी क्युबालाई नेतृत्व गर्दा १० जना अमेरिकी राष्ट्रपतिले कार्यकाल सकाए । तर ती सबैको उद्देश्य उनलाई सत्ताबाट हटाउनु र हत्या गर्नु रह्यो । यतिसम्मकी उनका परिवारको समेत उनले पूर्ण समर्थन पाउन सकेनन् । तर उनका भाई राहुल क्यास्ट्रो त्यस्ता पात्र हुन् जसले बाटिस्टा सरकारविरुद्धको संघर्षमा दाजुसँगै जेल जीवन बिताए र १९५६ देखि १९५९ सम्मको गुरिल्ला युद्धमा दाजु फिडेललाई मन, वचन र कर्मले सघाए । त्यतिमात्रै होइन उनले फिडेलबिरुद्ध हुने गरेको हरेक षढ्यन्त्रलाई असफल पार्न प्रमुख सहयोगीको भूमिका निर्वाह गर्दै अहिले क्युबाको बागडोर सम्हालिरहेका छन् ।
क्युबाको क्रान्तिको समयमा क्युबाका धेरै परिवार उनको पक्ष र विपक्षमा बाँडिए । त्यसमा फिडेल र राहुलकै परिवार पनि थियो । फिडेलकै बहिनी जुवानिता अमेरिकाको फ्लोरिडामा निर्वासित भइन् र फिडेललाई ‘भयानक’ व्यक्ति भन्दै उनीविरुद्धका षढयन्त्रमै सामेल भइन् । फिडेलकी छोरी एलिना फर्नाण्डिजले मियामीबाट एक रेडियोबाटै आफ्ना बाबुविरुद्ध कडा अभिव्यक्ति दिइन् । उनले सन् २००७ मा भनेका थिए, ‘यदि हत्याबाट बच्ने खेल ओलम्पिकमा सामेल हुन्थ्यो भने मेरो भागमा स्वर्ण पदक हुन्थ्यो ।’ यसबाट नै उनले हत्याबाट बच्न कति प्रयत्न गरे, कति षढ्यन्त्रको सामना गरे भन्ने कुरा प्रष्ट हुन्छ । उनको हत्याका लागि बहिनीदेखि पूर्वप्रेमिका सम्मलाई प्रयोग गरिएको थियो तर सफल भएन । सिंगो क्युबामा अमेरिका पक्षधर बाटिस्टा सरकारलाई अपदस्त गरी कम्युनिष्ट सत्ता स्थापना गर्ने र पूँजीवादी युगमा रुसी समाजवाद ढल्दा समेत क्युबाको समाजवादलाई टिकाइराख्न उनले धेरै पसिना बगाएका छन् । आफ्नै परिवारबाट साथ नपाउँदा समेत जनताको साथ पाएका उनले विश्व राजनीतिमा अलग्गै पहिचान बनाउँन सफल भएका छन् । सामाज्यवाद र विस्तारवादसँग घुँडा टेकेर लम्पसार पर्नेका लागि क्यास्ट्रोको जीवन महान् शिक्षा बन्न सक्छ । क्युबाली क्रान्ति नायक फिडेल क्यास्ट्रोलाई हाम्रो पनि सलाम ।