ट्रम्पको उदय र यसले गरेको संकेत

ट्रम्पको उदय र यसले गरेको संकेत

indra-Mohan-sigdel-moolbato-revolutionary-maoist-nepal-leaderयही नोभेम्बर ९ का दिन अमेरिकामा राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचनमा रिपव्लिकन पार्टीका प्रत्यासी डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएका छन् । उनी प्रत्येक ४ वर्षमा हुने अमेरिकाको ५८औं निर्वाचनबाट निर्वाचित ४५औं राष्ट्रपति हुन् । त्यहाँको निर्वाचन प्रक्रियामा निर्णायक अर्थ राख्ने ५३८ जनाको ईलेक्टोरल कलेजमा उनले २९० मत प्राप्त गरे । डेमोक्य्राटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले जम्मा २२८ मत पाईन् । तर, पोपुलर भोटमा भने मत परिणाम ठीक उल्टो हुन गयो । पराजित क्लिन्टनले ६,०४,६७,६०१ मत प्राप्त गरिन् । यो कुल खसेको सदर मतको ४७.७१ प्रतिशत हो । तर, विजयी ट्रम्पले जम्मा ६,००,७२,५५१ मत पाए । यो खसेको सदर मतको ४७.४१ प्रतिशत हुन आउंछ । यस निर्वाचनमा मताधिकारका लागि योग्य ठहरिएका करीव २३ करोड १० लाख अमेरिकी नागरिक मध्ये १२ करोड ८८ लाखले मात्र मतदान गरे । अर्थात् अमेरिकाको यो निर्वाचनमा जम्मा ५६.९ प्रतिशत जनताले आफ्नो मत खसालेका थिए ।
यस पटकको अमेरिकाको निर्वाचन यस अगाडिका निर्वाचनहरु भन्दा बढी चर्चामा रह्यो । सुरुबाट नै डोनाल्ड ट्रम्प निकै आक्रामक र छुद्र तरिकाले पेस भए । उनलाई निर्वाचनमा हराईए उनले निर्वाचनको परिणाम नमान्ने घोषणा गरे । उनले निर्वाचनमा जिते उनका प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई जेलमा कोच्ने मात्र होईन हत्या गर्ने सम्मको धम्की समेत दिए । उनको प्रचार अभियानको प्रमूख नारा “अमेरिकालाई फेरी महान बनाउ” (ःबपभ ब्mभचष्अब न्चभबत ब्नबष्ल) भन्ने रहेको थियो । प्रचार अभियानको क्रममा उनी अमेरिकी विदेश नीतिको एउटा आधारशिला मानिने नेटोका चर्को आलोचक रहे र उनले नवउदारवाद तथा भूमण्डलीकरणको पनि तीव्र विरोध गरे । उनले जलवायु परिवर्तन सम्बन्धी गत साल सम्पन्न पेरिस सहमतिलाई आफु राष्ट्रपति भएको १०० दिन भित्रमा उल्टाउने घोषणा समेत गरे । यी सबैका अतिरिक्त उनले मुस्लिमहरुलाई अमेरिकाबाट लखेट्ने, कोलम्बियालगायत विश्वभरिका आप्रवासीहरुलाई अमेरिकी सिमाना कटाउने र कोलम्बिया र अमेरिकाको सिमानामा पर्खाल लगाउने जस्ता थुप्रै काम गर्ने खुलासा पनि गरे । उनी महिलाहरुप्रति पटक्कै सहिष्णु देखिएनन् । तर यी सबै कुराका बाबजुद, गोरा जातिहरुको अन्धराष्ट्रवादी अहंकारलाई अमेरिकी समाजमा स्थापित गर्ने र देशलाई फासीवादको दिशामा अगाडि बढाउने योजना सहित उनी अमेरिकी राष्ट्रपतिको रुपमा निर्वाचित भएका छन् । अहिले यो एउटा अकाट््य सच्चाई बनेको छ ।

trump_obama

अमेरिकामा निर्वाचनको प्रक्रिया सुरुभएदेखि नै विश्वभरिको जनमत, मुख्यतः मिडिया, ट्रम्पका विरुद्ध खनिएको थियो । उनको छुद्र अभिव्यक्ति र आक्रामक प्रचार शैलीका कारण उनले निर्वाचनमा विजय प्राप्त गर्ने आंकलन प्रायः कसैले गरेको थिएन । अमेरिकामा गरिएका मत सर्बेक्षणहरुमा उनको नाम कहिल्यै पनि अगाडि आएको देखिएन । जग्गा दलालीबाट आफ्नो व्यवसाय सुरु गरेका अहिलेका एकजना अरबपति डोनाल्ड ट्रम्प योभन्दा पहिला कहिल्यै राजनीतिक गतिविधिमा देखिएका व्यक्ति थिएनन् । एक बर्ष अगाडि मात्र पार्टीमा प्रवेश गरेका ट्रम्प आफ्नै क्षमताले अमेरिकामा विदेश मन्त्रीको हैसियतमा पुगेकी र पूर्वराष्ट्रपति विल क्लिन्टनकी धर्मपत्नी हिलारी क्लिन्टनका सामु राजनीतिक रुपमा फुच्चे नै देखिन्थे । त्यसमाथि रिपव्लिकन पार्टी उनको वरिपरि एकतावद्ध पनि थिएन । उक्त पार्टीका तर्फबाट निर्वाचित पूर्व राष्ट्रपति जर्ज डव्लु बुशले ट्रम्पलाई मत नदिएको कुराले पार्टीभित्रको कलहको स्थितिलाई स्पष्ट गरिसकेको छ । यो स्थितिमा हिलारी क्लिन्टनको विजयलाई प्राय निश्चित छ भनी आंकलन गर्ने कुरा त्यति अस्वाभाविक थिएन ।

तर, निर्वाचन परिणाम त्यसको ठीक उल्टो आयो । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा चुनिए । उनी मात्र विजयी भएनन् अमेरिकाको तल्लो सदन प्रतिनिधि सभा र उपल्लो सदन सिनेट दुबैमा रिपब्लिकनहरुको बलियो बहुमत पुग्यो । यो ट्रम्पका लागि निकै सहज स्थिति हो । यस निर्वाचनबाट उनी अमेरिकाका एकजना बलियो राष्ट्रपति बनेका छन् । उनका विरोधीहरुबाट राष्ट्रपति मान्दैनौ भनेर उनका विरुद्ध सडक प्रदर्शन भएका छन्, उनको पुत्ला दहन गरिएको छ र उनलाई महाभियोग लगाउने विषयमा छलफल पनि चलेको छ । तर, विषम स्थिति आए के होला भन्न सकिन्न, नत्र उनी अब आउने ४ बर्षका लागि अमेरिकका बलिया राष्ट्रपति बनेका छन् । यो एउटा कटु यथार्थ हो ।
निर्वाचन परिणाम वाहिर आएपछि विश्व साम्राज्यवादको संस्थापन पक्ष, मुख्यतः नेटो समूह, निकै तरंगित भएको देखिन्छ । निर्वाचनको यो परिणामले विश्वको अर्थ–राजनीतिक परिवेशमा ठूलो उथलपुथल ल्याउने आंकलन गर्न थालिएको छ । यो स्वाभाविक हो । विश्व साम्राज्यवादको नाईके अमेरिकामा देखिएको यो परिणामलाई एउटा देशको निर्वाचनमा आएको एउटा सामान्य अनपेक्षित फेरबदल मात्र मान्नु हँुदैन । यो विश्वको अर्थ–राजनीतिक परिवेश एउटा प्रवृत्तितिर उन्मूख छ भन्ने कुराको स्पष्ट संकेत हो । सामान्यतः यो दशकको सुरुबाट र त्यसमा पनि पछिल्ला केही वर्षहरुमा विश्वमा देखिएका कतिपय राजनीतिक परिघटनाहरुले यसलाई थप पुष्टि गरिरहेका छन् ।
राजनीतिक रुपमा कमजोर, विश्व जनमतको विरोध र पार्टीभित्रको अन्तरकलह जस्ता चुनौतीहरुका बीचबाट ट्रम्प कसरी निर्वाचित हुन पुगे ? यसका पछाडि मूख्यतः दुईवटा कारणहरु जिम्मेवार रहेको देखिन्छ । पहिलो, “अमेरिकालाई फेरि महान् बनाउ” भन्ने उनको चुनावी नारा र दोस्रो नवउदारवाद तथा भूमण्डलीकरणको विरोध । पहिलो नाराले अमेरिकी गोराहरुको उच्च–जातीय अहंकारवादलाई उत्साहित ग¥यो र दोस्रो नाराले अमेरिकाको सर्बहारावर्गमा राहतको अनुभूति गरायो । यी ट्रम्पको विजयका प्रमुख आधारहरु हुन् भन्ने देखिन्छ ।

यी आधारहरु निर्माण हुनु पछाडिका केही महत्वपूर्ण कारणहरु छन् । बेलायत, जर्मन, जापान, ईटली जस्ता तात्कालिन प्रभावशाली साम्राज्यवादी देशहरु दोस्रो विश्वयुद्धपश्चात् विश्व राजनीतिक रंगमञ्चमा निकै पछाडि धकेलिए । त्यो ठाउं अमेरिकाले लियो । अमेरिकाले आफ्नो अर्थ–राजनीतिक हैसियत यसरी विकास ग¥यो कि उ साम्राज्यवादी विश्व व्यवस्थाको नाईके बन्न गयो र आर्थिक रुपले विश्वको सबैभन्दा समृद्ध राष्ट्र पनि । गत ७०को दशकतिर विश्व अर्थतन्त्रमा अमेरिकाको हिस्सा ५० प्रतिशतभन्दा माथि थियो । यो अमेरिकी उच्चवर्गका गोराहरुका लागि गौरवको विषय थियो र यसले उनीहरुको उच्च–जातीय अहंकारलाई थप मलजल पनि गरिरहेको थियो । तर, अहिले अमेरिकाको परिस्थिति पहिलेको जस्तो छैन । विश्व राजनीतिमा अमेरिकाको वर्चस्व खस्किंदो छ । अहिले विश्वको कुल अर्थतन्त्रमा अमेरिकाको हिस्सा २२.५३ प्रतिशतमा झरेको छ । यी र यस्ता थुप्रै कुराहरुले अन्धराष्ट्रवादी गोराहरुको अहममा क्रमसः धक्का लाग्ने कुरा स्वभाविक थियो । यो पृष्ठभूमीमा “अमेरिकालाई फेरि महान बनाउ” भन्ने चुनावी नाराले उच्च–जातीय अहंकारवादी अमेरिकन गोराहरुलाई धेरै उत्साहित गरायो र उनीहरु अन्ध–राष्ट्रवादी डोनाल्ड ट्रम्पको समर्थनमा लाम लागेर उभिए । ट्रम्पको विजयका पछाडिका धेरै कारणहरुमध्ये यो एउटा महत्वपूर्ण कारण थियो ।

विश्व साम्राज्यवादी अर्थतन्त्र एकपछि अर्को गरी गंभीर संकटमा पर्दै आएको हामीले इतिहासमा देख्दै आएका छौं । त्यसमा पनि नवउदारवाद र भूमण्डलकीरणका कारण मूख्यतः २००८ पछि अमेरिकाबाट सुरुभएको आर्थिक संकटले अहिले पुरै विश्वलाई गाँजेको छ । यो संकटको अन्तः हुने संकेत कहींकतै देखिंदैन । बरु यो संकटका कारण एकातिर विश्वभरी धनी र गरीवहरुका बीचको आर्थिक खाडल अरु गहिरिंदै गएको छ र बेरोजगारीको दर बढदै गएको छ भने अर्कोतिर मितव्ययिताका सर्तका नाममा साम्राज्यवादीहरुले तलव, पेन्सन, स्वास्थ्य सुविधा लगायत सामाजिक सुरक्षा भत्ताको कटौती गर्देै लगेका छन् । यो स्थितिमा सामान्यतः आम जनता र विशेषतः न्युन वैतनिक श्रमजीविहरुको दैनिकी अस्तव्यस्त बनेको छ । यो अमेरिका लगायत अन्य देशका लागि पनि सत्य हो ।
निर्वाचनको प्रक्रियामा हिलारी क्लिन्टन अर्थात सत्ताको संस्थापन पक्ष नवउदारवाद र भूमण्डलीकरणका पक्षमा खडा भयो तर ट्रम्प त्यसका विरुद्ध । उनले अमेरिकाबाट अन्य देशमा सारिएका उद्योगहरु अमेरिका मै पुनस्र्थापित गरेर बेरोजगारहरुलाई रोजगारी दिलाउने कबुल पनि गरे । मजदुर आन्दोलनमा सर्वहाराबर्गको नेतृत्व अत्यन्त कमजोर भएको वर्तमान स्थितिमा नवउदारवादका विरुद्धको ट्रम्पको आवाज श्रमजीवि मजदुरका लागि झिनो भए पनि राहतको विषय बन्न गयो । त्यति मात्र होईन, विदेशी श्रमिकहरुलाई अमेरिका प्रवेशमा नियन्त्रण गर्ने र आप्रवासीहरुलाई स्वदेश फिर्ता पठाउने भावी कार्यक्रमका कारण पनि अमेरिकी मजदुरहरुले ट्रम्प राष्ट्रपति बनेमा आफ्नो रोजगारी सुरक्षित रहने देखे । यसले मुख्यतः गोरा जातीका अमेरिकी मजदुरलाई ट्रम्पको पक्षमा उभ्याउने काम ग¥यो । यो ट्रम्पको विजयका पछाडिको अर्को महत्वपूर्ण कारण हो ।

अमेरिकाको निर्वाचनमा जे देखियो त्यो अमेरिकाको मात्र आन्तरिक विषय थिएन र होईन पनि । त्यो वर्तमान विश्व परिस्थितिको प्रतिविम्बन हो । नवउदारवादी विचारका आधारमा देशहरुका बीचमा व्यापारिक अवरोधहरु हटाउन भनी गर्नुपर्ने र गराईएका संरचनागत परिवर्तन, निजीकरण र भूमण्डलीकरण जस्ता राष्ट्रघाती कार्यक्रमहरुका कारण अर्थतन्त्र तथा राजनीतिमा राष्ट्रको स्वतन्त्र भूमिका सिद्धिंदै गएको छ र देशहरु एकपछि अर्को गरी डरलाग्दो गरी साम्राज्यवादको जालमा फस्दै गएका छन् । यसले निम्त्याएको संकटलाई नवउदारवादको संकट भनेर उल्लेख गर्न थालिएको छ । यो स्थितिमा विश्वमा अहिले नवउदारवादका विरुद्ध तीव्ररुपमा जनमतको विकास हुदै गएको छ र अर्थ, राजनीति लगायतका राष्ट्रिय मुद्दाहरुमा राष्ट्रको भूमिका निर्णायक हुनुपर्दछ भन्ने आवाज जताततै गहिरो गरी उठ्न थालेको छ ।

यो निर्वाचनमा ट्रम्पको उदय र गोराहरुको उच्चजातीय अहंकारवादका पक्षमा देखिएको जनमत नव–उदारवादका कारण पैदाभएकोे विश्व परिस्थितिकोे अनिवार्य अभिव्यक्ति हो । इतिहासतिर फर्केर हेर्दा, हिटलरको उदयका समयमा जर्मनीमा जस्तो परिस्थिति थियो, अहिले अमेरिकामा प्रायः त्यस्तै परिस्थिति बनेको छ । साथै, केही महिना अगाडि युरोपियन युनियनबाट अलग हुने या नहुने भनी बेलायतमा भएको जनमत संग्रहका क्रममा त्यहाँ अलगहुने ९द्यचभहष्त० पक्षमा जुन अनपेक्षित परिणाम देखियो, त्यो पनि बेलायतको आन्तरिक मामिलामा प्रतिक्रियावादी राष्ट्रिय भूमिकाको खोजी अर्थात अन्ध–राष्ट्रवाद मजदुरहरुको रोजगारीको ग्यारेन्टी नै थियो, अरु केही थिएन ।
१९८९मा रिपव्लिकन पार्टीका नेता रोनाल्ड रेगन र कन्जर्भेटिभ पार्टी कि नेतृ मार्गारेट थ्याचरको प्रत्यक्ष निर्देशनमा नव–उदारवादका पक्षमा गरिएको वाशिङ्गटन सहमति अहिले प्रत्युत्पादक साबित भएको छ । आश्चर्य कस्तो संयोग, अहिले उही देशका र उही पार्टीका नेताहरुबाट त्यसको विकल्पको खोजी हुन थालेको छ । तर, बलियो कम्युनिस्ट आन्दोलनको अभावमा पश्चगामी र अन्धराष्ट्रवादी बुर्जुवाहरुले नै यो संकटबाट अधिकतम फाईदा उठाउने छन् । यो संकटपूर्ण वर्तमान विश्व परिस्थितिमा अन्धराष्ट्रवाद नै तत्काल त्यसको विकल्पका रुपमा अगाडि आउने कुरा अमेरिका तथा बेलायतका राजनीतिक घटनाक्रमले पुष्टि गरेका छन् । फेरि, अन्धराष्ट्रवाद अन्ततः फासिवाद हो । अहिले विश्वमा जसरी अन्धराष्ट्रवादको लहर देखिन थालेको छ त्यसले अब आउने दिनमा साम्राज्यवादी विश्व व्यवस्थाको मूल प्रवृति नव–उदारवाद होईन फासीवाद हो भन्ने कुराको संकेत गरेको छ ।